Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सफलताको नजिक कोरोना खोपको परीक्षण

एजेन्सी। बेलायतको अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले निर्माण गरेको कोरोना भाइरस विरुद्धको खोपको सुरुवाती परीक्षणमा सकारात्मक नतिजा आएको छ । एस्ट्राजेनेकाको सहकार्यमा निर्माण गरिएको यो खोपको सुरुवाती परीक्षणले मानिसमा खोपको प्रयोग सुरक्षित रहेको देखाएको हो । यसले प्रतिरक्षा शक्ति पनि राम्रो हुने संकेत मिलेको छ । बेलायती अनुसन्धानकर्ताले गत अप्रिलमा पहिलोपटक कोरोना भाइरसविरुद्धको खोपको परीक्षण करिब एक हजार मानिसमा सुरु गरेका थिए । सोमबार प्रकाशित प्रतिवेदनअनुसार सुरुवाती परीक्षणको क्रममा १८ देखि ५५ वर्ष बीचका मानिसमा गरिएको खोपको परीक्षणमा दोहोरो प्रतिरक्षा प्रतिक्रिया (एन्टिबडी र टी–सेल) विकास भएको देखिएको छ ।

एन्टिबडीले कोरोना भाइरसलाई तटस्थ बनाउने काम गर्छ भने टी सेल एक किसिमको सेतो रक्तकोष हो । यसले मानिसको शरीरमा कोरोना भाइरसबाट संक्रमित कोष पहिचान गरी त्यसलाई नष्ट गर्ने काम गर्न सक्छ ।

अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले निर्माण गरेको यो खोपलाई आशलाग्दो खोपको रुपमा हेरिएको छ । यद्यपि यसको अन्य सुरक्षात्मक उपाय र ठूलो समूहमा गरिने परीक्षण भने चलिरहेको छ । बेलायतको सरकारले यो खोपको १० करोड डोसको अर्डर दिइसकेको छ । स्रोत ः बीबीसी