Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सबै मिले समृद्धि सम्भव : गृहमन्त्री

रुपन्देही । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा मंगलबार आयोजित कार्यक्रमवीच ५ नम्बर प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी रुपन्देहीको बुटवलमा मंगलबार सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र ५ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा उक्त गोष्ठी सोमबारदेखि सुरु भएको हो ।

उक्त अवसरमा गृहमन्त्री थापाले गोष्ठीमा प्रदेशको मात्र नभइ देशकै सुरक्षा स्थितिका बारेमा गम्भीर रुपमा समीक्षा भएको उल्लेख गर्दै सुरक्षा सुदृढ गर्नका लागि आवश्यक रणनीति र योजनाहरुलाई परिमार्जन गर्न प्राप्त सुझावहरु महत्वपूर्ण रहेको बताउनुभयो । प्रदेशको सुरक्षा सुदृढ गर्न तथा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई प्राप्त गर्न गोष्ठीले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै गृहमन्त्री थापाले रचनात्मक सुझावलाई मन्त्रालयकोतर्फबाट पुरा गर्न गम्भीर रुपमा लिएको उल्लेख गर्नुभयो ।

मुलुकमा राजनीतिक, आर्थिक, सांस्कृतिक, प्राकृतिक र सीमा सुरक्षा सम्बन्धि चुनौती रहेको चर्चा गर्दै गृहमन्त्री थापाले यस्ता चुनौतीलाई सरकारले सफलतापुर्वक सामना गर्दै आएको र आगामी दिनमा सुरक्षा नीतिलाई अझ विकास गर्दै मुलुकको शान्ति र स्थिरता सुदृढ बनाउन थप योगदान दिन लाग्नुपर्ने बताउनुभयो । तस्करी, कालो बजारी, ठगी, राजस्व छलीलाई नियन्त्रण गर्न विशेष संयन्त्र बनाई गम्भीर रुपमा काम गरी अझै गुणात्मक बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । अबका दिनमा सबै मिलेर मुलुकलाई समृद्ध बनाउनेतिर सक्रियताकासाथ लाग्न र समाजमा शान्ति सुरक्षा कायम गर्न गोष्ठीका निष्कर्ष फलदायी हुने विचार उहाँले व्यक्त गर्नुभयो ।

उक्त अवसरमा कार्यक्रमका विशिष्ट अतिथि ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्तव्य व्यक्त गर्दै उक्त प्रदेशको सुरक्षा सुदृढिकरणका लागि विभिन्न सुझाव प्रस्तुत गर्नुभयो । कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले विगतमा भन्दा सुरक्षा धेरै राम्रो भएको चर्चा गर्दै गोष्ठीबाट आएका सुझावलाई कार्यान्वयन गरेको खन्डमा धेरै समस्या समाधान गर्न मद्दत पुग्ने धारणा व्यक्त गर्नुभयो ।

गोष्ठीमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय, विपद तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो ।
५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा।डा। इन्द्रजित राई तथा विज्ञ सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी, ५ नम्बर प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदका प्रमुख सचिव तोय नारायण ज्ञवाली, उक्त प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकर प्रसाद खरेल, ५ नम्बर प्रदेश हेडक्वाटर नेपाली सेना मध्यपश्चिम पृतना बुटवल रुपन्देहीका पृतनापति उपरथी सिताराम खड्का, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, ५ नम्बर प्रदेशका १२ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु एवं १२ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।
उक्त गोष्ठी पश्‍चात् प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ५ नम्बर प्रदेश प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुका प्रमुखहरु एवं अन्तर्गतका १२ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई शान्ति सुरक्षा लगायत समसामयिक विषयमा निर्देशन समेत दिनुभएको थियो ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल