Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारलाई घुँडा टेकाउन आन्दोलनलाई थप सशक्त बनाइँदै

काठमाडौँ । संविधानमाथि नांगो हस्तक्षेप गर्दै जबर्जस्त रुपमा संसद विघटनपछि नेपालको राजनीति अर्को मोडमा पुगेको छ । सम्मानित अदालतमा विचराधिन रहेको विषयमा प्रधानमन्त्रीले ठोकुवा गर्दै बोलेपछि अदालतको अवस्था पनि छताछुल्ला भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले सरकारको असंवैधानिक कदमविरूद्ध घोषणा गरेको आन्दोलनको कार्यक्रमलाई थप सशक्त बनाउने भएको छ । काठमाडौँमा प्रदर्शनसहित विरोध प्रदर्शनसहित कार्यक्रमण गरेको प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको आन्दोलनको कार्यक्रमण घोषणा गरेको छ ।

घोषित कार्यक्रमलाई प्रभावकारी र सशक्त बनाउन स्थायी कमिटीमा छलफल भइरहेको नेताहरुले बताएका छन् । प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बोलाइएको छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । आजको बैठकमा सरकारको असंवैधानिक कदमकाविरुद्ध घोषित आन्दोलनका कार्यक्रमलाई सशक्त र व्यवस्थित बनाउने विषयमा छलफल हुने नेता योगेश भट्टराईले जानकारी दिए । उनले पार्टी एकीकरणका बाँकी कामलाई टुंग्याउने विषयमा पनि छलफल गरिने बताए ।

यसअघि हिजो बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा एक कार्यदल गठन गरेको थियो। पार्टी एकीकरणका बाँकी काम र जिम्मेवारीलगायतका काम गर्ने अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । संसद विघटनपछि आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव समुहले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन समेत घोषणा गरिसकेको छ। घोषित आन्दोलनका कार्यक्रम अन्तरगत आजदेखि पालिका स्तरका वडारुमा पार्टी भेला तथा संर्घष सम्बन्धि प्रशिक्षण दिइनेछ।

प्रचण्ड–नेपाल समुहले पुस २५ सम्ममा सबै वडा स्तरमा कार्यक्रम गरिसक्ने जनाएको छ। समुहले माघ २३ गते सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेकोमा आजदेखि शुरु गर्न लागेको हो।