Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सहकारी घोटालाबारे रविसँग संसदीय समितिले बयान लिने

काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय समितिले उपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिने भएको छ। बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलनमा उनको नाम मुछिएको छ। विशेष समितिका एक सदस्यले नेपालखबरलाई दिएको जानकारी अनुसार मगाइएका सहकारीबाट लिखित प्रतिवेदन पाएलगत्तै रविलाई बोलाउने तयारी छ। पोखराको सूर्यदर्शनका बचतकर्ताले रविविरुद्ध प्रहरीमा जाहेरी नै दिएका छन्। समितिको बुधबार बसेको बैठकले सूर्यदर्शन, सुप्रिम, चितवनको सहारा सहकारी लगायतका ९ वटा सहकारीको लिखित प्रतिवेदन मगाउने निर्णय गरेको छ। यस्तै, गोरखा मिडिया नेटवर्कमा लगानी गर्ने सहकारी र संस्थाको वर्तमान अवस्थाको पूर्ण जानकारी समेत मगाएको छ। गोरखा मिडिया नेटवर्क प्रालिमा रवि प्रबन्ध निर्देशक थिए। सो कम्पनीले ग्यालेक्सी फोर के टीभी सञ्चालन गरेको थियो। त्यही भएर विशेष समितिले गोरखा नेटवर्कको तत्कालीन र वर्तमान पदाधिकारीसहित कार्यसमिति विवरण समेत मगाएको छ। गोरखा मिडियाका अध्यक्ष जीबी राई फरार छन्। समितिका अर्का सदस्य एवं नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले ९ वटा सहकारीहरुको पछिल्लो साधारणसभाको निर्णय, ऋणप्रवाह गरेको कागजपत्र हेर्ने जानकारी दिए। उनका अनुसार सहकारीहरुले कागजपत्रसहित लिखित प्रतिवेदन पठाएपछि मात्र छानबिन र बयानको काम सुरु हुनेछ।