Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । साउदी अरबको जिजानस्थित तेल प्रशोधन केन्द्रमा भएको हवाई हमलामा एक नेपाली कामदारको मृत्यु भएको छ। घटनामा अन्य केही कामदारसमेत घाइते भएका छन्।
कतारी सञ्चारमाध्यम अल जजिराका अनुसार बिहीबार रेड सीको तटीय क्षेत्रमा रहेको जिजान सहरको तेल प्रशोधन केन्द्रलाई लक्षित गरी हवाई हमला भएको थियो। साउदी अरबको ऊर्जा मन्त्रालयले घटनाबारे विज्ञप्ति जारी गर्दै हमलापछि प्रशोधन केन्द्रमा आगलागी भएको जनाएको छ।
मृत्यु हुने नेपाली कामदारको पहिचान र ठेगाना भने सार्वजनिक गरिएको छैन। साउदीको ऊर्जा मन्त्रालयले उक्त हमला इरान समर्थित हुथी विद्रोहीले गरेको आरोप लगाएको छ।
अल जजिराका अनुसार आक्रमण हुनुअघि साउदीको नागरिक सुरक्षा निकायले जिजान प्रान्तमा सम्भावित जोखिमबारे चेतावनी जारी गरेको थियो।
यसअघि हुथी विद्रोहीले साउदी अरबका महत्वपूर्ण ऊर्जा पूर्वाधार र बन्दरगाहलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका थिए। उनीहरूले साउदीको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र रास तनुरा तथा रेड सी तटमा रहेका जेद्दा र जिजान बन्दरगाहलाई निशाना बनाएको बताएका थिए।
पछिल्लो समय साउदी अरब र यमनका हुथी विद्रोहीबीचको द्वन्द्व थप चर्किएको छ। सन् २०१५ देखि यमनमा हुथी विद्रोहीविरुद्ध साउदी नेतृत्वको गठबन्धनले सैन्य कारबाही गर्दै आएको छ।
यसैबीच, साउदी समर्थित यमनको सरकारी सेनाले बिहीबार हुथी विद्रोहीका अखडालाई लक्षित गरी ७६७ वटा आक्रमण गरेको दाबी गरेको छ। सेनाका प्रवक्ता माजेद अब्दुल्लाह अल-नुजाइलीले सामाजिक सञ्जाल एक्समार्फत ती आक्रमणमा ११७ हुथी लडाकु मारिएको तथा ८७ वटा सवारीसाधन र सैन्य सामग्री नष्ट भएको बताएका छन्।
उनका अनुसार मारिब, अल-जौफ, ताइज, लहिज, शब्वा र हज्जा प्रान्तका विभिन्न मोर्चामा सरकारी सेना र हुथी विद्रोहीबीच भिडन्त जारी छ।
यसअघि बिहीबार हुथी विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानामा समेत हवाई आक्रमण भएको थियो।
लामो समयदेखि जारी द्वन्द्वका कारण यमनको मानवीय संकट थप गहिरिँदै गएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार अगस्टदेखि द्वन्द्व चर्किएयता २ हजार ३६१ जनाको मृत्यु भएको छ भने १० हजार ९८२ जना घाइते भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार सोही अवधिमा ३ लाख ६० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।
२०८३ मंसिर १२
ताजा नेपाल
२०८३ मंसिर १२
ताजा नेपाल
२०८३ मंसिर १२
ताजा नेपाल