Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिंहलाई आएकै हो ग्रिन सिग्नल

नेपाल प्रहरीमा २० वैशाखबाट नयाँ नेतृत्वमा धीरज प्रताप सिंहको सम्भावना बढेको छ । उनले बालुवाटारबाट ग्रिन सिग्नल पाइसकेको बुझिएको छ । पश्चिम स्थायी घर भएका सिंहसँग प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक भएको विश्वस्त स्रोतले बताएको छ । सीआइबीमा बसेर सिंहले अपराध अनुसन्धानमा महत्वपूर्ण कार्य गरेकाले बालुवाटार सकारात्मक बनेको बुझिएको छ । सिंहलाई अगाडि बढाउनकै लागि तीन एआइजीको दरबन्दी खडा गरिएको हो । जसमा आइजीपी शैलेश थापा क्षेत्रीका ब्याची बसन्त पन्तलाई एक नम्बरमा राखेर त्यसपछिको ब्याची धीरज सिंहलाई दुई नम्बरमा राखिएको थियो । तेस्रो नम्बरमा रवीन्द्र धानुकलाई राखेर बढुवा दिइएको छ । सिंह एसपी हुँदा सम्म प्रतिष्पर्धी विश्वराज पोखरेल र सहकुल थापाभन्दा अगाडि थिए । तर, पछि वरियतामा पछि पारिएको चर्चा थियो ।
एसएसपी हुँदै डिआइजी र एआइजी हुँदा पोखरेलले छलाङ मारेका थिए । पोखरेल डिआइजीमा आफूभन्दा अघिल्लो ब्याचीलाई समेत उछिनेर बढुवा भए । यो बढुवामा निकै विवाद पनि भएको थियो । तत्कालिन सरकारले खारेज गरेको एआईजीको दरबन्दी पुनः थप्दै पोखरेललाई एआइजीमा बढुवा गर्दा प्रहरीमा एआईजीको दरबन्दी थप्नेक्रम शुरु भयो । यसमा उनलाई केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्री बनेका ईश्वर पोखरेलको साथ मिलेको थियो । त्यसपछि सहकुल थापा एसएसपीबाट छलाङ मार्दै डिआइजीबाट पोखरेल पछिको वरियतामा एआईजी बन्न सके । एआइजीमा उनलाई पनि दरबन्दी सृजना गरी बढुवा दिइयो । ओली सरकार ढल्नै लाग्दा ईश्वर पोखरेलविरोधी एमालेको एक पक्षले थापालाई अघि बढाएको थियो ।
विश्वराज पोखरेल र सहकुल थापाले ओलीको कार्यकालमा लाभ लिएको सूचना बालुवाटारसम्म पुगिसकेको थियो । यसको फाइदा सिंहले उठाउने अवस्था अहिले निर्माण भएको छ । तेस्रो वरियतामा भए पनि वैशाख १ मा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पदक थापेपछि उनको कार्यक्षमता मूल्यांकनमा नम्बर बढी पर्न सक्ने अवस्था बनेको हो । यसअघि तीन एआइजीको दरबन्दी भएकोमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एउटा एआइजीको दरबन्दी बढाएर विश्वराज पोखरेललाई बढुवा गरिएको थियो । पोखरेल आइजीपीका लागि प्रतिष्पर्धाविहिन मानिएका थिए । तर, ओलीकै पालामा ईश्वरका कारण महेश बस्नेत र गोकुल बास्कोटालो एआइजीको अर्को दरबन्दी सृजना गरी सहकुल थापालाई बढुवा गराएका थिए । पोखरेल र थापाबीच आइजीपीको प्रतिष्पर्धा हुने देखिएको थियो । तर, शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि तीन एआइजीको दरबन्दी थपेर धीरजप्रताप सिंह, रवीन्द्र धानुकका अलावा आइजीपी शैलेश थापाका ब्याची वसन्त पन्तलाई बढुवा गरिएको हो । हालका एआइजीहरू हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र वसन्त पन्त १९ वैशाखमा नै सेवानिवृत्त हुनेछन् । उनीहरू पछि वरियतामा रहेका चारजना एआइजीहरूबीच आइजीपीको दौड चल्नु स्वाभाविक हो । यो दौडमा सिंहले बालुवाटारबाट ग्रिन सिग्नल पाइसकेको चर्चा छ ।
जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सार्मथ्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ भन्ने व्यवस्था प्रहरी नियमावलीमा गरिएको छ । नियमावलीमा जेष्ठतालाई अगाडि राखिए पनि कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन, नेतृत्व क्षमता, प्रहरी परिचालन र प्रोत्साहनलगायतका विषय पनि समावेश छन् । यस आधारमा वरियतामा पहिलो नम्बरमा भएका नै आइजीपी हुन्छन् भन्ने छैन । विगतमा नवराज सिलवाल वरियतामा अगाडि भए पनि सत्ता हस्तक्षेपका कारण आइजीपी नियुक्ति प्रकरण सर्वोच्च पुग्दा चौथो वरियताका प्रकाश अर्यालले बाजी मारेका थिए । वरियतामा पछाडि रहेका प्रहरीहरूले बाजी मारेको इतिहासहरू धेरै छन् । देउवा प्रधानमन्त्री हुँदा त्यस्ता धेरै घटनाहरू भएका थिए ।


सम्बन्धित समाचार