Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिट बाँडफाँटमै देखियो चुनौती

काठमाडौँ । श्राद्ध गर्न भन्दा पनि सिदा पुर्याउन गाह्रो भने जस्तो वर्तमान सरकारलाई निर्वाचन गर्न भन्दा पनि गठबन्धनमा भाग मिलाउन सास्ती परेको छ । स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई बैशाखी बनाएका सत्ता गठबन्धनका दलहरु संघ र प्रदेशको चुनावमा पनि काँग्रेसको सहारामा अघि बढ्ने तयारीमा छन् । सरकारले आमनिर्वाचनको मिति घोषणा गरेपछि पाँचदलीय सत्ता गठबन्धनका नेता तालमेलको गृहकार्यमा जुटेका छन् । प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशका ३ सय ३० निर्वाचन क्षेत्र एकमुष्ट बाँडफाँट गर्ने तयारी भए पनि सहमति जुटाउन सत्ता गठबन्धनलाई सहज देखिँदैन । कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार बस्ने गठबन्धन बैठकले कार्यदल बनाउने र त्यसले तयार पारेको ढाँचाका आधारमा न्यायोचित हिसाबमा सिट बाँडफाँट हुने बताए । एकातिर सत्ता गठबन्धनभित्रै सिटका लागि रणनीतिक प्रतिस्पर्धा छ भने अर्कातर्फ पार्टीमा आन्तरिक व्यवस्थापन मिलाउने चुनौती छ । माओवादी र एकीकृत समाजवादीभित्रको एउटा समूहले अझै पनि वाम गठबन्धनको कसरत जारी राखेको छ । माओवादी नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायत वाम गठबन्धनमा देखिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नो पार्टीलाई सरकार निर्माणको निर्णायक हैसियतमा पुर्‍याउन चाहन्छन् । उनी आफैंसमेत प्रधानमन्त्रीका दाबेदार हुन् । उनले चुनावपछि कांग्रेस र माओवादीबीच आलोपालो प्रधानमन्त्री हुने बताइसकेका छन् । माओवादीलाई प्रत्यक्षतर्फ एमालेभन्दा ठूलो पार्टी बनाउने दाहालको योजना छ । कार्यकारी प्रमुख बन्ने देउवा र दाहालको आन्तरिक रणनीतिका माझ सिट बाँडफाँट सहज नहुने नेताहरू बताउँछन् । कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माका अनुसार सुरुमा सिट संख्या टुंग्याउनै गठबन्धनलाई सकस पर्नेछ । माओवादी नेता शक्ति बस्नेत पनि मुख्य चुनौती सिट बाँडफाँटमा देख्छन् । कांग्रेस नेता प्रदीप पौडेलका अनुसार गठबन्धनको औचित्यका बारेमा कार्यकर्ता तहमा बुझाउन नसक्दा तलदेखि नै असन्तुष्टि बढ्ने जोखिम रहेको बताउँछन् । नेता, कार्यकर्ता र मतदातालाई विश्वासमा लिन सक्दा मात्रै मत ट्रान्सफरमा इमानदारी बढ्ने उनी बताउँछन् । नेताहरू सिट बाँडफाँटका लागि ढाँचा बनाउनै सकस पर्ने बताउँछन् । यसअघि प्रत्यक्षमा आफूले जितेका क्षेत्र सुरक्षित राखेर एमालेले जितेका स्थानमा भागबन्डा गर्नुपर्ने विषय उठे पनि सबै ठाउँमा यो ढाँचा काम नलाग्ने कांग्रेसका एक नेता बताउँछन् । अनौपचारिक छलफलका क्रममा कांग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गर्ने भएका छन् ।