Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सीमा समस्याबारे स पनि उच्चारण नगर्ने भारतको तयारी

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत भ्रमणमा जाँदैछन् । उनी तीन दिने भारत भ्रमणका लागि भारत प्रस्थान गर्न लागेका हुन् । भ्रमणका क्रममा उठाउने मुद्दा र छलफलका विषयका बारेमा परराष्ट्र मन्त्रालयले मङ्गलबार नै जानकारी गराइसकेको छ । नेपालले सीमा समस्याको विषय उठाउने भएपनि भारतीय पक्षले त्यसबारे कुरा नगर्ने भएको छ । नेपालले कालापानी क्षेत्रको विवाद समाधानका विषयमा कुरा उठाउने भएको छ । तर, भारतीय पक्ष यसबारे कुरै गर्ने पक्षमा नभएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार भारतले यसपटक सीमा विवादका विषयमा कुनै छलफल नगर्ने भएको हो । चुनाव घोषणा भइसकेकाले भारतले सरकारलाई कामचलाऊका रुपमा लिएको बुझिएको छ । सीमा जस्तो संवेदनशील विषयमा कुराकानी नगर्ने भारतको रणनीति रहेको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सभामा सम्बोधन गर्ने क्रममा कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको क्षेत्र फिर्ता ल्याउने बारे कुराकानी हुने बताएका थिए । उनले उक्त क्षेत्र फिर्ता ल्याएर देखाउने बताएका थिए । तर, भारतले ओली सरकारलाई चुनावी सरकार मानेर सीमाको विषयमा कुनै छलफल नगर्ने गरी तयारी गरेपछि यो नेपालले उठाउने विषयमा सिमित हुने देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भूभाग समेटेर नयाँ नक्शा जारी गरी संसदबाट निशान छाप पारित गरिसकेको छ । यो कदमप्रति भारत असन्तुष्ट छ । नेपालले उक्त भू भाग फिर्ता गर्न भारतसँग आग्रह गर्दै आएको छ । यसअघि भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला नेपाल भ्रमणमा आउँदा पनि नेपालले सीमा समस्या समाधानको विषय उठाएको थियो । परराष्ट्र मन्त्रालयले मङ्गलबार विज्ञप्तिमार्फत् छलफलको एजेन्डामा व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृति, कोभिड १९ विरुद्ध सहकार्य सहित सीमाको विषय पनि उल्लेख गरेको छ । यसपटकको भ्रमणमा भारतले कोभिड १९ विरुद्धको खोपबारे कुराकानी बढी केन्द्रित हुने बुझिएको छ । परराष्ट्र मन्त्रीको साथमा स्वास्थ्य सचिव पनि सँगै जाने भएकाले यसबारे गम्भीर कुराकानी हुने बुझिएको छ । नेपालसँग सीमा जोडिएकाले भारत खोप नेपालमा पनि जटिसक्दो छिटो प्रयोगमा आओस् भन्ने चाहिरहेको छ । कोरोना भाइरसविरुद्धको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिन अनुदान र कम शुल्क दुवैमा दिनेबारे गम्भीर छलफलमा भारतको तयारी बढी रहेको बुझिएको छ । भारतले छिमेकमध्ये नेपाललाई प्राथमिकतामा राखेर कोरोनाविरुद्धको खोप प्रदान गर्ने तयारी गरेको छ । यसको संकेत भारतीय विदेशमन्त्री एस। जयशंकरले गरिसकेका छन् । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले पनि खोप प्राप्त गर्न पहल गरिसकेको छ । यसअघि भारतका गुप्तचर निकाय रअका प्रमुख सामन्त गोयल, सेना प्रमुख मनोज मुकुन्द नरवाणे, विदेश सचिव हर्षवद्र्धन श्रृंगला र सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले तीन महिनाको अन्तरालमा भ्रमण गरेका थिए । दुई देशबीच सचिवस्तरीय बैठकहरु पनि धमाधम भइरहेका छन् ।