Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काठमाडौँबाट खोटाङ जाँदै गरेको टाटासुमो सिन्धुलीमा सुनकोसी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा चार जना घाइते भएका छन्।
सशस्त्र प्रहरी बलका अनुसार को १ ज २९७६ नम्बरको टाटासुमो आइतबार बिहान २ः४० बजे सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल सुनकोसी नदीमा खसेको हो। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
दुर्घटनामा घाइते भएका चार जनालाई उद्धार गरी उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर प्रालिमा पठाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार बेपत्ता यात्रुको खोजीका लागि खुर्कोटस्थित सशस्त्र प्रहरी बलको नेपाल विपद् व्यवस्थापन बेसबाट नौ जना गोताखोरसहित १० जना, ओखलढुंगाको हर्कपुरस्थित अस्थायी मनसुन बेसबाट १० जना तथा नेपाल प्रहरीको टोली परिचालन गरिएको छ।
सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजय श्रेष्ठका अनुसार मृतक र बेपत्ता भएकाहरूको पहिचान खुल्न सकेको छैन। घाइते चार जनाको मात्रै नाम र ठेगाना खुलेको उनले बताए।
घाइतेको विवरण
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकाहरूमा ओखलढुंगाका करिब २९ वर्षीय चालक आशिष विष्ट छन्। उनी बेहोस अवस्थामा रहेको जनाइएको छ।
त्यस्तै, खोटाङको दिक्तेल नगरपालिका–३ की करिब ३८ वर्षीया सम्झना राई गम्भीर घाइते भएकी छन्। उनकी १२ वर्षीया छोरी शिवानी राईको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। खोटाङको दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विकको पनि टाउको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। शिवानी र अंकित बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ।
दुर्घटनामा परेका अन्य यात्रुको अवस्था तथा मृतक र बेपत्ताको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
२०८३ कार्तिक २
ताजा नेपाल
२०८३ कार्तिक २
ताजा नेपाल
२०८३ कार्तिक १
ताजा नेपाल