Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘स्थिर समय’ मा के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनका लागि ‘स्थिर समय’ गएराति १२ बजेदेखि सुरू भएको छ। मतदानको ४८ घण्टा अघिदेखि मौन अवधि लागु हुन्छ। निर्वाचन आयोगले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनसम्म मतदानको ४८ अघिको अवधिलाई ‘मौन अवधि’ भन्ने गरे पनि यसपटक उसले ‘स्थिर समय’ भन्ने शब्दावली प्रयोग गरेको छ। ‘स्थिर समय’ अर्थात मतदानको ४८ घण्टाअघिदेखि दल र उम्मेदवारको प्रचारप्रसार निषेधित हुन्छ। मतदानभन्दा ४८ घण्टाअघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न नहुने निर्वाचन आयोगले बताएको छ। यस अवधिमा यी काम गरेर आयोग, वा निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रूपैयाँसम्म जरिवान गर्ने सक्ने व्यवस्था रहेको छ।
निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा राजनीतिक दलहरूले प्रचारप्रसारका काम गर्न पाउँदैनन्। दलहरूलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठीलगायतका क्रियाकलाप गर्न रोक लगाइएको हुन्छ। मौन अवधि सुरू भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारहरूलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्री हटाउन लगाउँछ।
आचारसंहितामा भनिएको छ, ‘दल वा उम्मेदवारका प्रचार प्रसारका सामग्री हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने।’ यसैगरी मतदानको दिन राजनीतिक दल, उम्मेदवार, दलको भातृसंस्था वा सम्बन्धित व्यक्तिले मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन वा ब्याज लगाउनु हुँदैन। मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको सांकेतिक पोसाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने आचारसंहितामा उल्लेख छ।
कुनै किसिमको सवारीसाधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न हुँदैन। तर हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिकरूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकजस्ता मतदाताको लागि आयोगले तोकेको निकाय वा अधिकारीले अनुमति दिएको सवारीसाधन प्रयोग गर्न बाधा नपर्ने आचारसंहितामा उल्लेख छ। त्यस्तै मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा आधिकारिकबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न हुँदैन।
निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ को दफा २४ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै पनि उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने उल्लेख छ। साथै उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै पनि व्यक्तिले आयोगको मर्यादामा प्रतिकूल असर पुग्ने गरी प्रचारप्रसार गर्न नहुने उल्लेख छ।