Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बूूढानीलकण्ठ नगरपालिका–७ अन्तर्गतको कपन हुँदै बगेको खहरे खोला खन्न गएका काठमाडौं महानगरपालिकाका प्रहरी र कपनका स्थानीयबिच बिहीबार दिनभरजसो झडप हुन गएको छ ।
साततलेदेखि फैकासम्म नापजाँच गरेपछि थप निर्णय गर्ने सहमति
काठमाडौं महानगरपालिका–१० र बूढानीलकण्ठ नगरपालिका–७ को सीमानामा रहेको खोला अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउने भन्दै महानगर प्रहरी डोजर लिएर पुगेको थियो । खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको पाइएको भन्दै काठमाडौं महानगर प्रहरी डोजरसहित त्यहाँ बनेका संरचना भत्काउन पुगेको थियो । तर, महानगरपालिकाले स्थानीयसँग समन्वय नगरी खहरे खोला खन्न आएको भन्दै स्थानीयले विरोध गरेपछि झडपको रूप लिएको हो ।
तर, बिहीबार अपराह्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीबिच छलफलमा तत्काललाई ती संरचना नभत्काउने सहमति भएपछि महानगर प्रहरी फर्किएको थियो ।
काठमाडौं महानगरपालिका प्रमुख बालेन र बूढानीलकण्ठ नगरपालिका प्रमुख मिठारामबिच सात तलेदेखि फैकासम्मको खहरे खोला आसपासमा निर्माण गरिएका भौतिक संरचना भत्काउने कि नभत्काउने भन्ने विषय नाँपजाँचपछि मात्रै टुंगो लगाउने सहमति भएको बताइएको छ । सो सहमतिलगत्तै बिहीबारबाटै सो क्षेत्रमा मालपोत कार्यालय चाबहिलका प्रतिनिधिसहित काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका अमिनले नाँपजाँच सुरु गरेका थिए । एक÷दुई दिनभित्रै नापजाँच सकेर आवश्यक निर्णय लिने सहमति भएको बूढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले बताए
‘सात तलेदेखि फैकासम्मको सीमा क्षेत्रमा बिहीबार अपराह्नबाटै नाँपजाँच सुरु भएको छ । नाँपजाँचपछि के गर्ने भन्ने निर्णय गर्ने सहमति भएको छ, उनले भने ।
खहरे खोला खन्न महानगर प्रहरी आएपछि काठमाडौं महानगरपालिका क्षेत्रका बासिन्दा र बूढानीलकण्ठ नगरपालिका क्षेत्रका बासिन्दा दुई कित्तामा उभिएका थिए । काठमाडौं महानगरपालिका क्षेत्रका बासिन्दाले महानगर प्रहरीको कदमको समर्थन गर्दै बालेनको पक्षमा नाराबाजी गरेका थिए । उता,बूढानीलकण्ठ नगरपालिका क्षेत्रका बासिन्दा भने बालेनको विरोधमा उत्रिएका थिए । उनीहरूले काठमाडौं महानगर प्रहरीको कामकारबाहीप्रति अवरोध खडा गरेका थिए ।
काठमाडौं महानगर क्षेत्रका बासिन्दा सात तले चोक नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको हुनाले आफूहरूले बर्सेनि डुबान समस्या भौग्दै आएको भन्दै महानगरले गरेको कामको बचाउमा उभिएका थिए । उनीहरूले खहरे खोला मिचेर बनाइएका संरचनाहरू भत्काउनुपर्ने धारणा पनि राखेका छन् । उनीहरूले बूढानीलकण्ठ नगरपालिकाले खहरे खोलाको संरचना मिचेर घरहरू बनाउन दिएकाले भत्काउनुपर्ने मागसमेत राखेका छन् । मिचेर बनाइएका ती संरचना नभत्काएसम्म बाढी र डुबानको समस्या समाधान हुन नसक्ने उनीहरूको भनाइ रहेको छ । भूमाफियाका कारण अहिलेको समस्या सिर्जना भएको यस क्षेत्रका बासिन्दाको भनाइ छ । स्मरणीय छ,हरेक वर्षायाममा यस क्षेत्रका बासिन्दाले डुबानको समस्या झेल्दै आएका छन् उता, बूढानीलकण्ठ नगरपालिका–१० का वडाध्यक्ष नवराज भट्टराईले भने आफूहरूलाई केही थाहा नै नदिई गरिएको निर्णयलाई आत्मसाथ गर्न नसकिने बताए । उनले सीमा क्षेत्र भए पनि काठमाडौं महानगरपालिका प्रहरी आफूहरूलाई थाहा नै नदिई दलबलसहित फिल्डमा आएको बताए । उनले काठमाडौं महानगर र बूढानीलकण्ठ नगरपालिकाको समन्वयबाट समस्या समाधान हुनुपर्नेमा जोड दिए ।
काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने बूढानीलकण्ठ नगरपालिकाले स्पष्ट हुँदाहुँदै पनि निहुँ खोजेको आरोप लगाए । उनले बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिसँग पनि कुराकानी भएको र आफू पनि त्यसमा संलग्न रहेको बताए । उनले खोला मिचेर संरचना बनाउनेले मात्रै महानगरको विरोध गरिरहेको बताए ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल