Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२० लाख बुझाएर छु्टे सन्दिप

काठमाडौँ । अदालतले तोकेको २० लाख धरौटी बुझाएका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने जिल्ला अदालत काठमाडौंबाट रिहा भएका छन् । उनलाई केन्द्रीय कारागारबाट जिल्ला अदालत लगिएको थियाे । यसअघि उच्च अदालत पाटनले बलात्कार आरोप लागेका लामिछानेलाई २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न दिएको आदेशको पत्र जिल्ला अदालत काठमाडौं आइपुगेको थियो । सन्दीपका दाजु मोहन लामिछानेले धरौटी बुझाइसकेको र त्यसको पत्र कारागार पुगिसकेको छ । त्यसपछि उनलाई अदालतमा हाजिर गराइएको हो । अदालतमा मूल मुद्दाको तारिख बुझेपछि सन्दीप रिहा हुने उनका कानुन व्यवसायीले बताएका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा दिइएको पुनरावलोकनको निवेदनमाथि सुनुवाइमा धरौटीमा लिएर थुनामुक्त गर्न आदेश गरेको हो। पाटन उच्च अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलका अनुसार लामिछाने काठमाडौं उपत्यका बाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुमति लिनुपर्नेछ भने पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो । गत कात्तिक १६ मा जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए । लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो । लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका थिए । लामिछाने गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ परेका थिए ।