Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

४८ अर्बको योजना दशकपछि ८४ अर्बमा सकिँदै

काठमाडौं । नेपालले थालेका योजना समयमा सकिएका उदाहरण कमै छन् । समय र लागत दोब्बर तेब्बर बनाएर आयोजनाहरु निर्माण सम्पन्न हुने गरेका छन् । निर्माणको एक दशक अवधिमा अनेक समस्या झेलेको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसीबाट ७६ मेगावाट विद्युत् परीक्षण उत्पादन सुरु भएको छ । जडित क्षमता ४ सय ५६ मेगावाट रहेको यो आयोजनाका ६ वटा युनिटमध्ये पहिलो युनिटबाट परीक्षण उत्पादन थालिएको हो । पहिलो युनिटबाट परीक्षण उत्पादन सुरु भएको हरेक १० दिनमा थप अर्को युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने आयोजनाको तयारी छ । भदौ १५ सम्म ६ वटै युनिटबाट विद्युत् उत्पादन हुने आयोजनाको अनुमान छ । दोलखास्थित आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार निवासबाटै स्विच थिचेर भर्चुअल उद्घाटन गरे । आयोजनास्थलमा समेत उद्घाटन कार्यक्रम राखिएको थियो । उद्घाटनका समयमा भने साढे सात मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको थियो । पहिलो युनिटबाट ७६ मेगावाट व्यावसायिक उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए । एक सातापछि दोस्रो युनिटबाट थप ७६ मेगावाट विद्युत् उत्पादन हुने उनले बताए । पाँच वर्षमा निर्माण सक्ने लक्ष्यसाथ २०६७ मा निर्माण सुरु भएको आयोजनाको उत्पादन थाल्ने मिति लक्ष्यभन्दा ६ वर्ष पर धकेलिएको हो । आयोजनाको तयारी २०६० सालतिरबाटै थालिएको थियो । आर्थिक वर्ष २०७३÷७४ मा निर्माण पूरा गर्ने भनिएकामा भूकम्पपछि आयोजनास्थलमा गएको पहिरो र त्यसपछिको नाकाबन्दीका कारण साढे दुई वर्ष निर्माण बिथोलिएको थियो । यस्तै ठेकेदारको ढिलासुस्ती र कोभिडका कारण आयोजना निर्माण चार वर्ष प्रभावित भएको आयोजनाका अध्यक्ष एवं नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य बताउँछन् । हाइड्रोमेकानिकल उपकरण जडानका लागि ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याको रेलवे एन्ड इन्जिनियरिङ लिमिटेडको कमजोर कार्यसम्पादनका कारण आयोजनाको गति निकै सुस्त बनेको थियो । निर्माण अवधि लम्बिँदा आयोजनाको लागत बढेर ८४ अर्ब रुपैयाँ पुगेको छ । सुरुमा लागत निर्माण अवधिको ब्याजसहित साढे ४८ अर्ब रुपैयाँ लाग्ने अनुमान थियो ।आयोजना निर्माणका लागि ५२ अर्ब र निर्माण अवधिको ब्याजबापत ३२ अर्ब रुपैयाँ खर्च भएको छ । माथिल्लो तामाकोसी आयोजनाले वार्षिक २ हजार २ सय ८१ गिगावाट आवर ऊर्जा उत्पादन गर्नेछ । माथिल्लो तामाकोसीमा रोल्वालिङ खोलाको पानी पनि खसाल्ने तयारी छ । रोल्वालिङ खोलाको पानी तामाकोसीमा मिसाइएपछि यसको ऊर्जा उत्पादन क्षमता थप वृद्धि हुनेछ । आयोजनाबाट उत्पादित विद्युत् थप हुँदा जाडो महिनामा भारतबाट आयात हुने विद्युत् ठूलो परिमाणमा घट्नेछ भने वर्षायामको चार महिना करिब ५ सय मेगावाट विद्युत् भारतमा बिक्री गर्न सकिने प्राधिकरणको विश्लेषण छ । माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेड र प्राधिकरणबीच २०६७ पुस १४ मा विद्युत् खरिदबिक्री सम्झौता भएको थियो । आयोजनाले २०७२ पुस १० मा ४ वटा युनिटबाट विद्युत् उत्पादन गर्ने र २०७३ असार ३० गतेसम्म ६ वटै युनिटबाट विद्युत् उत्पादन थालिसक्ने मिति तय गरी विद्युत् खरिदबिक्री सम्झौता गरिएको थियो । आयोजना र प्राधिकरणबीच भएको सम्झौतामा आयोजनाले उत्पादन थालेपछि ९ पटकसम्म तीन प्रतिशतका दरले मूल्य वृद्धि गरिने उल्लेख छ । आयोजनाले उत्पादन थालेपछिको औसत विद्युत् मूल्य प्रतियुनिट ४ रुपैयाँ ६ पैसा हुनेछ । स्वदेशी लगानीमा मात्रै निर्मित यो दोस्रो आयोजना हो । सुरुमा चिलिमे जलविद्युत् आयोजनामा स्वदेशी लगानी र सीप प्रयोग गरिएको थियो । सोही मोडलमा माथिल्लो तामाकोसी आयोजनालाई अघि बढाइएको हो । स्वदेशी लगानी भए पनि माथिल्लो तामाकोसीमा परामर्शदाता र प्राविधिक विदेशी भएकाले चिलिमेभन्दा यसको मोडल केही फरक भएको प्राधिकरणका कार्यकारी निर्देशक शाक्य बताउँछन् ।
आयोजनाको विस्तृत डिजाइनका क्रममा २०६५ सालमा परामर्शदाता कम्पनी नोरकन्सल्टले तयार पारेको लागत अनुमानमा आयोजनाका लागि कुल ५३ करोड ३० लाख अमेरिकी डलर लाग्ने भनिएको थियो । त्यो बेला डलरको मूल्य ८० रुपैयाँ थियो । परामर्शदाताले तयार पारेको अनुमानित लागतलाई पुनरावलोकन गर्न गठित समितिले आयोजनाका लागि निर्माण अवधिको ब्याजबाहेक ४४ करोड १० लाख अमेरिकी डलर मात्रै लाग्ने अनुमान तयार पारेको थियो । सोही अनुमानअनुसार आयोजनाका लागि तत्कालीन विनिमय दरअनुसार निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान तयार पारिएको थियो । आयोजना ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमा तयार पारिएको हो । तर २०७२ को भूकम्पका कारण आयोजनास्थलमा गएको पहिरो, नाकाबन्दी, सुरुङ डिजाइनमा भएको परिवर्तनले गर्दा आयोजनाको निर्माण अवधि लम्बिएको र डलरको मूल्य बढ्दा आयोजनाको लागत बढेको आयोजना व्यवस्थापनको विश्लेषण छ । आयोजनाको निर्माण अवधिको ब्याजमात्रै ३२ करोड रुपैयाँ पुगेको छ । आयोजनाका लागि लिइएको ब्याजदरसमेत घटाउनुपर्ने प्राधिकरणका पूर्वकार्यकारी निर्देशक एवं आयोजनाका पूर्वअध्यक्ष घिसिङको भनाइ छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल