Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

६० प्रतिशत नछाड्ने काँग्रेको अडान

काठमाडौँ । महागठबन्धनको नेतृत्व लिने योजनामा रहेको काँग्रेसभित्र भागवण्डा मिलाउनका लागि थोरैतिनोले पुग्ने अवस्था छैन । कांग्रेस नेताहरूले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ६० प्रतिशत हिस्सा लिने गरी गठबन्धनमा छलफल अघि बढाउन नेतृत्वलाई सुझाएका छन् । सत्तारूढ पाँच दलबीच सिट बाँडफाँटको ढाँचा तय गर्न गठित कार्यदलको बैठक बस्नुअघि सोमबार बिहान कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको आन्तरिक छलफलमा नेताहरूले ६० प्रतिशतको दाबी पेस गर्न आग्रह गरेका हुन् । देउवाले कार्यदलका सदस्यहरूसहित पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीलाई सिट बाँडफाँटमा सातै प्रदेशको धरातलीय यथार्थ र पार्टीले लिनुपर्ने अडानका विषयमा सुझाव मागेका थिए । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् । अपराह्न ३ बजे बसेको ११ सदस्यीय कार्यदलको पहिलो बैठकले सिटौलालाई संयोजक तोकेको छ । बैठकमा सिट बाँडफाँटका मापदण्डका आधार तय गर्न आ–आफ्नो पार्टीभित्र गृहकार्य गरेर बिहीबार पुनः बैठक बस्ने समझदारी भएको छ । कार्यदलमा रहेका एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भने ०७४ को प्रतिनिधिसभा र ०७९ को स्थानीय निर्वाचनको मतपरिणामलाई केन्द्रमा राखेर सिट बाँडफाँटको ढाँचा तयार पार्ने दिशामा छलफल भएको जानकारी दिए । कांग्रेस नेताहरूले धरातलीय यथार्थ पनि हेर्नुपर्ने कुरा राख्दा अन्य दलका नेताले धरातलीय यथार्थ कसरी पत्ता लगाउने भनी प्रश्न गरेका थिए । कार्यदलका अर्का सदस्य जसपा नेता रामसायप्रसाद यादवले मापदण्ड तयार गरेर भदौ १५ भित्रै सिट बाँडफाँट टुंग्याउने बताए । कांग्रेस नेता गोपालमान श्रेष्ठले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा कांग्रेसले देशभर प्राप्त गरेको मतका आधारमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतिर ६० प्रतिशत माग गर्नुपर्ने आवाज उठेको बताए । १ सय ६५ निर्वाचन क्षेत्रमा ६० प्रतिशत भनेको ९९ र ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रको ६० प्रतिशत १ सय ९८ सिट हुन्छ । गठबन्धनमा रहेका अन्य चार दल भने कांग्रेसका लागि ५० प्रतिशत सिट छुट्याउनुपर्ने पक्षमा छन् । बाँकी ५० प्रतिशत सिटमा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले आपसमा बाँडफाँट गर्ने गरी समझदारी जुटाउन माओवादी अध्यक्ष पुष्पकमल दाहालले अगुवाइ गरिरहेका छन् ।