Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

६० प्रतिशत लिएर वैशाखी बन्दै काँगे्रेस

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको वैशाखी बनेको काँग्रेसलाई संघीय चुनावमा पनि यी दललाई सँगै लैजानुपर्नृ बाध्यता छ । गठबन्धनका सहयात्री दलले संघ र प्रदेशको निर्वाचनमा ‘सम्मानजनक’ सिट बाँडफाँट हुनुपर्ने भन्दै मनोवैज्ञानिक दबाब बढाइरहेका बेला कांग्रस नेताहरूले कम्तीमा ६० प्रतिशत सिट लिएर तालमेल गर्न नेतृत्वलाई आग्रह गर्न थालेका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै नेताहरूको माग र सत्ता सहयात्री दलको दाबीअनुसार सिटको तालमेल मिलाउन चुनौतीपूर्ण बनेको छ । माओवादी र एकीकृत समाजवादीको एउटा खेमा भित्रभित्रै वामपन्थी दलहरूबीच गठबन्धन गराउने कसरतमा रहेको चर्चा छ । उनीहरूले प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली र दोस्रो तहका नेताहरूसँग अनौपचारिक संवाद चलाइरहेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हालसम्म यही गठबन्धनको पक्षमा छन् तर उनीहरूले पनि पार्टीभित्रका फरक धारलाई सम्हाल्न सिट तालमेललाई रणनीतिक रूपमा उपयोग गर्न सक्ने कांग्रेस नेताहरूको आशंका छ । गठबन्धनलाई अनिवार्य आवश्यकता ठान्दै आएका देउवाले ‘सिट’ मा सम्झौता गर्न सक्ने भन्दै पार्टीका अधिकांश नेताले सय सिटभन्दा तल नझर्न उनलाई सुझाइरहेका छन् । गठबन्धनकै अर्को घटक जनता समाजवादी पार्टी आन्तरिक कलहमा फसेकाले सिट तालमेलको विषयमा प्रवेश गर्नै सकेको छैन । एकीकृत समाजवादीपछि जसपामा मन्त्री फेरबदलको विषय चर्किएको छ । कांग्रेस नेताहरूले प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ६० प्रतिशत अर्थात् ९९ सिटभन्दा तल झरेर तालमेल नगर्न देउवालाई दबाब दिइरहेका छन् । कांग्रेस नेता रामचन्द्र पौडेल भने गठबन्धन दलहरूको अवस्था सुनिश्चित भएपछि मात्रै सिट संख्याको तालमेलबारे छलफल चल्ने बताए । अहिले गठबन्धनको बैठकमा सिट बाँडफाँटबारे औपचारिक तहबाट प्रस्ताव र छलफल नभएको उनको दाबी छ । बुधबारमात्रै देउवासँग यसबारे छलफल भएको पौडेलले बताए । स्थानीय तह निर्वाचनको समीक्षा र संघको निर्वाचनमा तालमेलबारे संस्थागत धारणा बनाउन पौडेलले तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन आग्रह गरेका छन् । महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले कम्तीमा ६० प्रतिशत हैसियतका साथ चुनावी तालमेल गर्नुपर्ने बताए । गठबन्धन दलका शीर्ष नेताबीच अनौपचारिक कुराकानीमा कांग्रेसले सय सिटको दाबी अघि सारिसकेको एक नेताले बताए । माओवादीले ५० र एकीकृत समाजवादीले २५ सिट लिनेबारे कुरा भइरहेको उनको भनाइ छ । जसपा सग्लो रहने कि नरहने भन्ने प्रश्नले उसको पोजिसन यकिन हुन सकेको छैन ।