Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किशोरी मृत प्रकरणको तथ्य पत्ता लगाउन तालिम प्राप्त कुकुर घटनास्थलमा

कैलाली । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी भागरथी भट्ट गत बुधवार साँझतिर विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भइन्। स्थानीय सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत उनी बेपत्ता भएको झन्डै २४ घण्टापछि बिहीवार साँझ ५ बजेतिर लवलेक सामुदायिक बनमा मृत भेटिएकी थिइन्। स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरे।

उनको बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशङ्का गरिएको छ। त्यसको पुष्टि भने भइसकेको छैन। बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले किशोरी फेला परेको घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको बताए।
मृतकको मृत्युको कारणका विषयमा हामीले अनुसन्धान गरिरहेका छौँ। के कति कारणले मृत्यु भएको हो भन्ने अनुसन्धानपछि मात्रै पुष्टि हुन्छ, उनले भने। उनको शव फेला परेको घटनास्थलमा जमिनमा रगतका छिटा तथा घाँटीलगायत शरीरको माथिल्लो भागमा स साना घाउहरू समेत देखिएका प्रहरीले जनाएको छ। घटनाको विषयमा गम्भीर रूपमा अनुसन्धान भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए।

घटनास्थललाई नियन्त्रणमा लिनुका साथै ‘सिल’ गरेर अनुसन्धानका लागि तालिम प्राप्त कुकुर प्रयोग गरिएको छ’ उनले भने, बैतडी जिल्ला अस्पतालका प्रमुख डाक्टर वसन्तराज जोशी र सरकारी वकिल कार्यालयका महान्यायाधिवक्ता भानदेव जोशी, प्रमुख जिल्ला अधिकारी लगायतका व्यक्तिहरू समेत घटनास्थल पुगेका छन्। घटनामा थप अनुसन्धानका लागि आवश्यक पर्ने भेजाइनल स्वाब सङ्कलन लगायतका काम अघि बढाउन प्रहरीको आग्रहमा उनीहरू घटनास्थल पुगेको सिंहले बताए।

प्रहरी नायब उपरीक्षक अधिकारीले धनगढीको कुकुर शाखाबाट बिहीवार राति तालिम प्राप्त कुकुर मगाइएको र शुक्रवार ती कुकुरमार्फत समेत अनुसन्धान भइरहेको जानकारी दिए। घटनाको अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा एउटा छुट्टै प्रहरी टोली समेत परिचालन गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा घटनाको अनुसन्धानका लागि छुट्टै प्राविधिक प्रहरी टोली परिचालन गरिएको कार्यालयका प्रवक्ता सिंहको भनाइ छ। उक्त टोलीमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइवीका प्रहरी नायव उपरीक्षक (डिएसपी) समेत छन्।

घटनाको सत्य तथ्य छानबिन र गम्भीर अनुसन्धानका लागि सर्वत्र माग भइरहेको छ। बैतडी र धनगढीमा न्यायका लागि स्थानीयले प्रदर्शन समेत गरेका छन्।