Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भागिरथी काण्डमा दुई जना जिल्ला बाहिर, तीन जना जिल्लाभित्रकामाथि प्रहरीको अनुसन्धान

कैलाली । प्रधानमन्त्रीले भागरथी भट्टका बलात्कारीलाई कहीं गए पनि छाड्ने बताइरहँदा भागिरथीको शव अस्पतालमै बसिरहेको छ । कञ्चनपुरकी निर्मला पन्तलाई न्याय दिलाउन नसकेको वर्तमान सरकारले भागिरथीलाई न्याय देला त भन्ने प्रश्न उठिरहेको छ । १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको एक साता बितिसकेको छ। गत शनिवार जिल्ला अस्पताल बैतडीमा उनको पोस्टमार्टम पनि भयो। तर आफन्तले शव बुझेनन्। यसको एउटै कारण थियो, कतै भागरथीका हत्यारा पनि निर्मला पन्तको झैँ कानुनको आँखाबाट बचेरै बस्ने त होइन ?
शव घटनाको ९ दिनसम्म प्रशासनकै जिम्मामा छ। उनको न्यायका लागि बैतडीसहित सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा अहिले दिनहुँ जसो प्रदर्शन भइरहेका छन्। उक्त प्रकरणको अनुसन्धानका लागि अहिले प्रहरीले सबै जनशक्ति सोही घटनामा केन्द्रित गरेको छ। निर्मलाको झैँ नहोस् भनेर शव नबुझेको मृतकका परिवारले बताउँदै आएका छन्।
प्रशासनलाई विश्वास गर्ने ठाउँ नभएको होइन, हामीलाई प्रशासनसँग विश्वास त छ, भागरथीका काका शिवराज भट्टले भने तर कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएको अवस्थामा फेला परेकी निर्मलाको घटना जस्तै भागरथीको घटना हुन्छ कि भन्ने परिलोले हामीले शव नबुझेका हौँ। उनले अगाडी थपे, दोषीलाई जबसम्म कानुनी कठघरामा उभ्याइँदैन तबसम्म हामी शव नबुझ्ने पक्षमा छौँ।
भागरथी हत्या प्रकरणको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तम राज सुवेदी पाँच दिनदेखि दोगडाकेदार गाउँपालिकाको केन्द्र खोचलेकमै बसेका छन्। उनी अनुसन्धानमा खटिने प्रहरीलाई निर्देशन मात्र दिइरहेका छैनन् आफैं पनि अनुसन्धानमा लागि परेका छन्।
प्रहरीले प्रदेश तथा केन्द्रको पहलमा समेत सम्पूर्ण जनशक्ति अहिले सोही घटनामा केन्द्रित गरेको जनाएको छ। तीन दिनअघि मात्रै थप केही अनुसन्धानका टोली धनगढीबाट बैतडी पठाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले बताए। हामीले घटनाको अत्यन्त सघन रूपमा अनुसन्धान गरिरहेको छौँ। उनले भने, कतिपय व्यक्तिहरूलाई हाम्रो शङ्का तथा अनुसन्धानको घेरामा कतिपय कुरा उनीहरूको पुष्टि गर्नुपर्ने भएकाले प्रमाणित गर्दै छौँ। अब लगभग दायरा चैँ अत्यन्त साँघुरो भइसकेको छ। त्यो घेरा भित्र रहेकाहरूलाई भेरीफाई गरिसकेपछि यसको टुङ्गोमा पुगिन्छ वा अनुसन्धान फेरी नयाँ पाटोमा जान्छ भन्ने थाहा हुन्छ।
प्रहरीले सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ। प्रहरीको अनुसन्धानमा प्रश्न उठ्ने गरी काम नभएकाले केही समय लाग्ने एसएसपी सिंहले बताए। त्यस्तै अनुसन्धान सकारात्मक दिशामा गइरहेको सिंहले बताए।

घटनामा संलग्न हुनसक्ने केही शङ्कास्पद व्यक्तिहरूसम्म पुगेपछि अहिले एकीकृत रूपमा अनुसन्धान भइरहेको प्रहरी श्रोतको दाबी छ। ती व्यक्तिहरूमा दुई जना जिल्लाबाहिर र तीन जना जिल्लाभित्रका रहेको प्रहरी स्रोतले जानकारी दियो।
प्रहरीले घटनास्थलमा फेला पारेको भागरथीले बोक्ने मोबाइलबाट पनि प्राविधिक पक्षमा अनुसन्धान गरिरहेको छ। उनले चलाउने सिम कार्डमा आएका कल, म्यासेज लगायत प्राविधिक पक्षको अनुसन्धान भइरहेको प्रहरीले जानकरी दिएको छ। गत २१ गते बिहान ८ बजे विद्यालय गएकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १२ कक्षामा अध्ययनरत १७ बर्सिया भागरथी भट्टको दोस्रो दिन गाउँ नजिकैको लवलेक सामुदायिक वनमा शव फेला परेको थियो। उनी दिउँसो २ बजेतिर विद्यालयबाट फर्किएकी थिइन्। पोष्टमार्टम रिपोर्ट अनुसार त्यही दिन दिउँसो हत्या भएको खुलेको छ। उनको शवको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ। हत्यारा सम्म पुग्न भने प्रहरी अझै सफल भएको छैन।