Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेमा सफल होला नेपालको विद्रोह ?

काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पाइलै टेक्न नदिएका बेला नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गरेको छ। काठमाडौंमा उपलब्ध केन्द्रीय कमिटी सदस्य र सांसदहरुको भेलाले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको एमालेका स्थायी कमिटी सदस्य भीम रावलले जनकारी दिए। भेलामा पार्टीका सबै संगठन अन्तर्गतका नेता कार्यकर्तालाई सहभागितका लागि आह्वान गरिएको छ भने जनवर्गीय संगठनका नेता कार्यकर्तालाई समेत अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। आफूहरुले समानान्तर कमिटी नबनाएको बरु तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एकीकरण अघिको कमिटीहरुलाई ब्युँताएको रावलले बताए। भेलाको संयोजनका लागि सातै प्रदेशमा प्रदेश ईन्चार्ज तोकिएको छ। प्रदेश नम्बर १ मा भीम आचार्य, २ मा घनश्याम भुसाल, वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली तथा सुदुरपश्चिम प्रदेशमा भीम रावललाई प्रदेश इञ्चार्ज तोकिएको छ। राष्ट्रिय भेलाले पार्टीको अबको कार्यदिशाबारे निर्णय गर्ने नेताहरुले बताएका छन्। प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहका नेताको जिम्मेवारी खोसेपछि नेपाल खनाल समूह ओलीप्रति आक्रामक बनेको हो। रावलले ओलीले एमाले फुटाउन बालुवाटारमा शुक्रवार गुटको भेला गरेकोप्रति आफ्नो समूहको विरोध रहेको बताए।