Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

केन्द्रदेखि प्रदेशसम्मकै सत्ता पल्टाउने योजना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वास प्रस्ताव ल्याउने अंकगणित पु¥याउन नसकेका विपक्षी दलहरुले केन्द्रदेखि प्रदेशसम्मकै सत्ता पल्टाउने प्रयास गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन समिकरणको प्रयास तिव्र भएको छ । केन्द्र देखि प्रदेशसम्म प्याकेजमा सहमति बनाएर अगाडि बढ्न दलहरुले प्रयास तिव्र पारेका हुन् । प्रदेशहरुमा मुख्यमन्त्री फेरबदल देखि केन्द्रमा मन्त्री र उपसभामुखसम्ममा प्याकेजमा सहमतिको कुरा अगाडि बढाइए पनि सहमति जुट्न निकै मुस्किल परेको छ । ओलीनिकट मुख्यमन्त्रीहरुलाई हटाएर समिकरणभित्रका दलहरुले आफू निकटस्थलाई बनाउने तयारी थालेका छन् । गण्डकी प्रदेशमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्रीका लागि अगाडि बढेका छन् । उनलाई मुख्यमन्त्री बनाउने प्रस्तावसहित अविश्वासको प्रस्ताव दर्ता भएको छ । काँग्रेसले गण्डकीमा मुख्यमन्त्री पाउने गरी प्रदेशमा सत्ता समिकरण बन्नुलाई केन्द्रमा पनि बन्ने अभ्यासका रुपमा लिइएको छ । राष्ट्रिय जनमोर्चाले पनि अविश्वासको प्रस्तावलाई साथ दिने निर्णय लिइसकेको छ । अब काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समिकरण देखिएको छ । जनमोर्चाले भने सरकारमा नजाने निर्णय लिइसकेको छ । तर, केन्द्रमा उसको उपसभामुख दाबी रहेको छ । जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेल उपसभामुखकी दाबेदार हुन् । संविधान अनुसार एउटा दलको सभामुख भएपछि अर्को दलबाट महिला उपसभामुख अनिवार्य छ ।
यसैगरी, कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेपाली काँग्रेसको साथ मिल्ने भएको छ । गण्डकीमा मुख्यमन्त्री काँग्रेसले पाउने गरी कर्णालीमा शाहीले साथ पाउने गरी सहमति भएको बुझिएको छ । लुम्बिनी प्रदेशमा पनि समिकरणको प्रयास भइरहेको छ । त्यहाँ जनता समाजवादी पार्टी निर्णायक शक्ति बनेको छ । काँग्रेस, माओवादी केन्द्र र जसपाको समिकरण बनेमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको पद संकटमा पर्छ । त्यहाँ पनि समिकरणको तयारी भइरहेको छ । केन्द्रमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन काँग्रेस र माओवादी केन्द्र सहमत भएपनि जसपा अलमलमा छ । जसपाले आफूहरुको माग सम्बोधनको मुद्दा उठाएपनि चुरो विषय सत्ताको नेतृत्वको छ । जसपाले सत्ता नेतृत्वको दाबी गरेको छ । माओवादी केन्द्र जसपालाई सत्ता नेतृत्व दिन तयार भएपनि काँग्रेसको आफ्नै दाबी छ । काँग्रेस सभापति शेरबहादुर देउवा पछि हटेमा सहमति बन्न सक्छ ।