Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेकपा एमालेले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने र त्यसका लागि लचकता अपनाउने निर्णय गरेको छ । तर, त्यो प्रयास र लचकताले पनि २०७५ जेठ २ अघिको अवस्थामै पार्टी फर्केला भन्ने कुरामा चाहिँ नेताहरु अझै विश्वस्त देखिएका छैनन् ।दुबै पक्षका एमाले नेताहरुको प्रतिक्रियाबाट पनि अब एमालेमा एकता भइहाले पनि माधव नेपाल बाहेकको एकता हुने भन्ने सम्भावना छ । अन्तिमसम्म पनि एकताका लागि लचक हुने भन्ने त छ, तर अब एकता भए पनि माधव नेपालसमेत केही नेताहरुचाहिँ आउने सम्भावना देखिँदैन’ अध्यक्ष ओली निकट एक नेताले रातोपाटीसँग भने, ‘हाम्रोतर्फको निश्कर्ष लगभग यही हो । त्यसो त पार्टी एकता जोगाउन भन्दै दुवै पक्षका दोस्रो तहका नेताहरुले वार्ता र सम्वादलाई जारी राखेका छन् । अब केही दिन त्यस्ता संवाद सघन बनाउने उनीहरुको तयारी छ । यसअघि पनि दोस्रो तहका नेताहरुबीच निरन्तरवार्ता र सम्वाद हुँदै आएको थियो । सोमबारमात्रै उनीहरुबीच लामै छलफल भएको थियो । जसका कारण एमालेको औपचारिक विभाजन टरिनसके पनि पछाडि भने अवश्य धकेलिएको छ । पार्टीको विवाद समाधान गर्न जेठ पहिलो साता गठित एमालेको १० सदस्यीय कार्यदल हाल निश्कृय भैसकेको छ । कार्यदलमा रहेमध्येका माधव नेपाल पक्षका एक नेता भीम रावललाई पार्टीबाट निश्कासन गरेपछि उक्त कार्यदल निश्कृय बन्न पुगेको हो । त्यसयता पनि ओली र नेपाल पक्षका अरु केही नेताहरु अनौपचारिक रुपमा पार्टी विभाजन रोक्ने प्रयासस्वरुप छलफलमा बसिरहेका छन् । तर, ती छलफल र पहलकदमीबाट पनि ठोस उपलब्धि भने हासिल हुन सकेको छैन । तथापि विभाजित बनेका सबै नेताहरु नआए पनि धेरै नेता–कार्यकतालाई समेट्ने प्रयास दुवै पक्षले जारी राखेका छन् । राजनीतिक र सांगठनिक रुपमा दुई ध्रुवमा गैसकेको एमालेले विभाजनको कानुनी मान्यता नपाएसम्म दुवै पक्षले अर्को पक्षमा लागेका नेता–कार्यकर्ता तान्ने प्रयास तीव्र पार्ने देखिएको छ । त्यसका लागि ओली पक्षले केही नेतालाई कारवाहीको घोषणा गरेपनि केही समयका लागि होल्ड गरेबाटै पनि नेता फकाउने प्रयासको पुष्टि गरेको छ । तर, ओली पक्षले माधव नेपालसँग अब एकता असम्भव भएको निश्कर्ष नै निकालेको छ । पटक–पटक स्थगित भएर मंगलबार बसेको स्थायी समिति बैठकमा पनि माधव नेपाल बाहेकको एकतामै बल गर्नुपर्नेमा नेताहरुको जोड रहेको थियो । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा प्रवक्तासमेत रहेका प्रदीप ज्ञवालीले पनि सोही कुराको संकेत गरे । ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र आफ्नो पार्टीको उम्मेदवारलाई हराउने कुरालाई गर्वका साथ केही साथीहरुले महिमा मण्डन गरिरहनुभएको छ । ती साथीहरु फर्किनुभयो भने राम्रै हो, तर पार्टी एकताको प्रयास र त्यो कुराबीच कहीँ कतै पनि तालमेल मिल्दैन’, प्रवक्ता ज्ञवालीले भने, ‘तर हाम्रो तर्फबाट कोशिश जारी रहन्छ । नेता ज्ञवालीको यो भनाइको आशयबाट नेकपा एमालेको एकता कायम भइहाले पनि त्यसमा माधव नेपालसहितका केही कारवाहीमा परेका नेताहरु एकतामा अटाउँदैनन् भन्ने स्पष्टै बुझिन्छ । गत जेठ ८ गते बसेको एमाले बैठकले बरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो भने घनश्याम भुसालसहित थप १२ जनालाई सोही दिन स्पष्टीकरण सोधेको थियो । २४ घण्टे अल्टिमेटमसहित सोधिएको स्पष्टीकरणको कुनै नेताले पनि जवाफ पठाएका छैनन् । तर, उनीहरुमाथि एक साता बित्दासमेत कारवाही नगरेर एमालेको ओलीपक्षले पर्ख र हेरको नीतिसँगै दुई सन्देश दिएको छ । पहिलो सन्देश पार्टी एकताप्रति लचिलो देखाउने । दोस्रो– गल्ति महसुस गरेर माधव पक्षमा लागेका कोही फर्कन चाहेमा उसलाई पार्टीमा स–सम्मान स्थान दिने ।१२ जना नेताको स्पष्टीकरणका सन्र्दभमा सोधेको प्रश्नमा प्रवक्ता ज्ञवाली भन्छन्, ‘आज त्यसबारे छलफलको एजेण्डा नै थिएन । हामी छलफल पनि गरिरहेका छौं । सकेसम्म एकतालाई जोगाउन सकियोस्, धेरैभन्दा धेरै साथीहरु मूलधारमा अडिनुस् भन्ने नै प्रयास छ । यस्तै, ओली पक्षले यसअघि नेता माधवकुमार नेपाल र अध्यक्ष केपी ओलीबीचको सम्वादपछि गठित १० सदस्यीय कार्यदल पनि भंग भैसकेको जनाएको छ । प्रवक्ता ज्ञवालीले कार्यदल अस्तित्वमा नरहेको स्वीकार गरे । त्यसको विकल्पमा अन्य हिसाबबाट छलफल चलाउने एमालेको भनाइ छ । कार्यदलमा माधव नेपाल पक्षको संयोजक रहेका भीम रावल पार्टीको साधारण सदस्यबाटै निष्कासित भइसकेका छन् । यसबीचमा दुवै पक्षबीच भएका वार्तामा भीम रावल बाहेकका नेताहरु बस्ने गरेका छन् । जसलाई नेताहरुले अन्य हिसाबबाट छलफल भएको बताउने गरेका छन् ।
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल