Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अस्ट्रेलियामा १० हजार नर्सले निःशुल्क पढ्न पाउने

काठमाडौं । अस्ट्रेलियाले १० हजारभन्दा बढी नयाँ विद्यार्थीलाई निःशुल्क नर्सिङ अध्ययन गराउने भएको छ । स्वास्थ्य क्षेत्रमा नर्सलगायत कर्मचारीको अभाव चर्कंदै गएपछि भिक्टोरिया राज्य सरकारले यो योजना सार्वजनिक गरेको हो । अस्ट्रेलियाको न्यु साउथ वेल्स, भिक्टोरिया, दक्षिण अस्ट्रेलिया मात्र नभई आठवटै राज्य तथा टेरिटोरीमा अहिले व्यापक कर्मचारी अभाव देखिएको छ । विशेषगरी कोरोना महामारीपछि केन्द्र तथा राज्य सरकारले स्वास्थ्य क्षेत्रमा कर्मचारी अभावको सामना गर्दै आएका छन् । जनसंख्याको हिसाबले दोस्रो ठूलो राज्य भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रुजले हजारौं नयाँ विद्यार्थीलाई नर्सिङ पढ्न तथा नर्सिङ अध्ययन गरिसकेकालाई विशेष विषय लिएर अध्ययन गर्न प्रेरित गर्ने उद्देश्यले २ सय ७० मिलियन डलर (करिब २ अर्ब रुपैयाँ) को योजना सार्वजनिक गरेका हुन् । योजनाअन्तर्गत नर्सिङ अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिका रूपमा करिब ९ हजार डलरका दरले उपलब्ध गराइने र अध्ययन सकेर २ वर्ष सरकारी क्षेत्रमा काम गरिसकेपछि थप ७ हजार ५ सय उपलब्ध गराइने जनाइएको छ । यस योजनाअन्तर्गत दुई वर्षको अवधिमा १० हजारभन्दा बढीलाई स्वास्थ्य क्षेत्रमा आकर्षित गर्ने राज्य सरकारले लक्ष्य लिएको छ । त्यसैगरी, इन्रोल्ड नर्सका रूपमा काम गरिरहेका नर्सलाई रजिस्टर्ड नर्स अध्ययनका लागि ११ हजार डलर सहयोग दिने जनाइएको छ । त्यस्तै नयाँ नर्स प्रयाक्टिसनरलाई १२ हजार डलर १ सय उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ । अस्ट्रेलियामा नर्स प्रयाक्टिसनरलाई नर्सिङ क्षेत्रको सबैभन्दा दक्ष स्वास्थ्यकर्मी मानिन्छ । उनीहरूलाई सीमित रूपमा चिकित्सकजस्तै औषधिको प्रेस्क्रिप्सन लेख्ने अधिकार दिइएको हुन्छ । अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्ने घरेलु विद्यार्थीका लागि समेत सीमित शुल्क तोकिएको छ । यहाँ अध्ययनका लागि केन्द्र सरकारले सरकारी सुविधा दिने भए पनि उक्त शुल्क अध्ययन सकेपछि कमाइका आधारमा विस्तारै तिर्नुपर्ने प्रावधान राखिएको छ । अहिले नर्सिङ अध्ययनका लागि न्यूनतम १० हजार डलर लाग्ने गरेको छ । तर उक्त शुल्क विद्यार्थीले अध्ययन गरिसकेपछि तिर्ने व्यवस्था मिलाइएको छ । तर भिक्टोरिया सरकारले ल्याएको योजनाअनुसार भने विद्यार्थीलाई उक्त शुल्क मिनाहा गरिने भएको हो । प्रिमियर एन्ड्रुजले नयाँ विद्यार्थीलाई नर्सिङ अध्ययन गर्न प्रेरित गर्ने मात्र नभएर नर्सिङ अध्ययन सकेर विशेषता हासिल गर्न चाहने स्वास्थ्यकर्मीलाई समेत प्रोत्साहन गर्न नयाँ योजना ल्याइएको जनाएका छन् । प्रिमियरको योजनामा थप २० मिलियन ९करिब १६ करोड रुपैयाँ० भर्खरै नर्सिङ अध्ययन सकेका विद्यार्थीलाई कार्यक्षेत्रमा सहयोग पुर्‍याउनका लागि खर्च गरिने उल्लेख छ । राज्य सरकारको नयाँ योजनालाई प्रधानमन्त्री एन्थोनी अल्बानिजी तथा विपक्षी दलका नेताहरूले पनि प्रशंसा गरेका छन् । स्वास्थ्यकर्मीले समेत सरकारी योजनाले स्वास्थ्य क्षेत्रमा देखिएको कर्मचारी अभावको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय विद्यार्थीको हकमा भने यो योजना लागू नहुने जनाइएको छ ।