Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गाउँपालिका अध्यक्ष बनेपछि सम्पत्तिको चाङ, कर्तुत त कति कति

काठमाडौं । लागुऔषध मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध आर्थिक अनियमितता सम्बन्धमा दर्जनभन्दा बढी उजुरी परेका छन्। उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेका हुन्। २०७९ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएर गुप्ता गाउँपालिका अध्यक्ष भएका थिए। उनी अघिल्लो कार्यकालमा पनि सोही पालिकाका अध्यक्ष थिए। २०७४ को स्थानीय चुनावमा गाउँपालिका अध्यक्षमा निर्वाचन भएपछि गुप्ताले भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको भन्दै उजुरीहरू परेका हुन्। गाउँपालिका अध्यक्ष बनेपछि गुप्ताले श्रीमती शारदा आचार्य गुप्ताको नाममा सुनवलमा ५ कठ्ठा जग्गामा ३ तले, बुटवलमा ३ तले र अर्घाखाँचीमा आलिशान भवन बनाएको उजुरीमा दाबी गरिएको छ।
यस्तै गाउँपालिका भवनको दक्षिणतर्फ साँधमा जितबहादुर र प्रेमबहादुर चौधरीको नाममा रहेको ५ कठ्ठा जग्गा ४० लाखमा खरिद गरेको देखाई आफ्नो बुबा वंशराज तेलीको नाममा पास गराएको, पाल्हिनन्दन–३ मा पनि ३ तले घर र वडा नम्बर ४ मा ४ कठ्ठामा २ तले घर र गोदाम बनाई पालिका अध्यक्ष भएपछि अस्वाभाविक रूपमा सम्पत्ति आर्जन गरेको देखिएको भन्दै छानबिन गर्न माग गरिएको छ। गाउँपालिकाको भवन निर्माणका क्रममा ७ करोड ४९ लाख रुपैयाँको ठेक्का सम्झौताविपरीत कार्यपालिका बैठकबाट निर्णय नगराई प्रत्येक आर्थिक वर्ष भेरियन्स अर्डर गरी ३ करोडभन्दा बढी बजेट भुक्तानी गरेर ठेकेदारबाट लाभ लिएको आरोप पनि उनलाई लगाइएको छ।
यस्तै डिजिटल भिलेज प्रोफाइल ५–५ वर्षमा मात्र अध्यावधिक गर्नुपर्ने नियमविपरीत ५ वर्ष नपुग्दै निर्माण गरेर लाखौं रकम भ्रष्टाचार गरेको उजुरीमा उल्लेख छ। २०७५ मा डिजिटल भिलेज प्रोफाइल बनाएबापत ४० लाख भुक्तानी भएकोमा २०७८–७९ मा पुनः २० लाख भुक्तानी गरिएको छ। यस्तै मेड नेपाल नामक गैरसरकारी संस्थाबाट पालिकाका ६ सय ७५ विपन्न परिवारलाई ३४५० रुपैयाँका दरले बाँड्न प्राप्त रकममा पनि फर्जी काम गरी अनियमितता भएकाले छानबिनको माग गरिएको छ। उजुरीमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम, लेखा अधिकृत शरद न्यौपाने र इन्जिनियर उमेश शर्मालाई अध्यक्ष गुप्ताले प्रभावमा पारेर अनियमितता र भ्रष्टाचार गरेको आरोप छ। दुईजना भारतीयलाई लागुऔषध मुद्दामा फसाएको आरोप लागेका गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता अहिलेसम्म पनि फरार छन्। साझेदारी व्यापारको करोडभन्दा बढी रकम हडप्ने उद्देश्यले योजनाबद्ध रूपमा लागुऔषध मुद्दामा फसाएको आरोप उनीविरुद्ध लागेको छ।
लागुऔषध मुद्दामा एक महिनाअघि जिल्ला अदालतबाट गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। तर अझै उनी पक्राउ परेका छैनन्। उनीविरुद्ध मुद्दा दर्ता र पक्राउ गर्न प्रहरीले चासो नदिएको बरु उल्टै मुद्दालाई कमजोर बनाउन खोजेको थुनामा रहेका दुई भारतीयका परिवार र जिल्लाका राजनीतिक दलहरूको गुनासो छ। माओवादी केन्द्रबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गुप्ताले राजनीतिक पहुँच र गठबन्धनको आडमा मुद्दालाई कमजोर बनाई आफू उम्किन आर्थिक चलखेल गरेको स्थानीयको दाबी छ। गुप्ताको योजनामा गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई लागुऔषध कारोबार गरेको अभियोगमा पक्राउ गरेको थियो। तर प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोलीले गरेको अनुसन्धानमा उक्त घटना बनावटी भएको, गाउँपालिका अध्यक्ष गुप्ता त्यसको प्रमुख योजनाकार र जिल्ला प्रहरी प्रमुखको भूमिका शंकास्पद रहेको निष्कर्ष निकालेका थिए।
अनुसन्धानपछि प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी रघुनाथ धोबी र अर्का युवक विवेक पाण्डेलाई लागुऔषध मुद्दामा सजायको मागदाबी गरी अनुसन्धान प्रतिवेदन बुझाएको थियो।