Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
मीनबहादुर परियार, केन्द्रीय सदस्य, समाजवादी पार्टी नेपाल
मीनबहादुर परियार (राज गिरी) समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य हुन् । साथै, उनी समाजवादी दलित मुक्ति महासङ्घको वरिष्ठ उपाध्यक्षसमेत हुन् । झापा जिल्लामा जन्मिएका परियार सानै उमेरदेखि अवस्थाअनुसार शालीन र विद्रोही दुवै स्वभावका रहेछन् । आफ्नो दाजु भोला परियारको पे्ररणाले राजनीतिमा लागेको उनी बताउँछन् । उनी भन्छन्– झापामा हाम्रो धेरै मोही जग्गा थियो । २०४२ सालमा सबै जग्गा सामन्तीहरूले कब्जा गरे । त्यसपछि हाम्रो परिवार सुकुमबासी भयो । दाजु कम्युनिस्ट भएकै कारणले ०४१ सालमा ५ वर्ष विस्थापित हुनुप¥यो । २०४६ सालको जनआन्दोलनमा सहभागी भयाँै । सबै कुरा त्यागेर हाम्रो परिवारले सङ्घर्ष ग¥यो । तर पार्टीले मूल्याङ्कन गर्न सकेन । तत्कालीन नेकपा एमालेले हाम्रो परिवारलाई अवहेलना गरेपछि पार्टी छाडेर नेपाली काँग्रेसमा प्रवेश गरेँ । नेपाल दलित सङ्घमा बसेर काम गरेँ । यता, नेपाल दलित सङ्घको केन्द्रीय सदस्य तथा झापा जिल्ला उपाध्यक्षसमेत भएर काम गरेँ । नेपाली काँग्रेसभित्र पनि दलित समुदायलाई हेर्ने दृष्टिकोण राम्रो लागेन । जुन पार्टीसँग भावना र विचार मिल्दैन, त्यो पार्टीमा बसिरहनुको कुनै तुक पनि त थिएन । त्यसरी नेपाली काँग्रेस पार्टी पनि छाडेँ ।
० राजनीतिक उतार–चढाव निकै भएछ नि ?
– हो, नेपाली काँग्रेस छाडेपछि म जनमोर्चा नेपालमा सङ्गठित भएँ । तत्कालीन अवस्थामा अमिक शेरचन, नारायणकाजी श्रेष्ठलगायत माओवादीमा विलय भएपछि दानबहादुर विश्वकर्मा र साध्यबहादुर भण्डारीलगायत र म पनि मिलेर पार्टी पुनर्गठन ग¥यौँ । फेरि पार्टीमा पनि विभिन्न विचलनहरू देखा पर्न थालेपछि ०६९ साउन २२ गते तत्कालीन अशोक राईको नेतृत्वमा रहेको सङ्घीय समाजवादी पार्टी नेपालसँग एकता ग¥यौँ । हामी दानबहादुर विश्वकर्माको नेतृत्वमा ठूलो समूह एकता प्रक्रियामा सहभागी भयौँ । हाल हाम्रो पार्टी उपेन्द्र यादवको मधेसी जनअधिकार फोरम नेपालसँग एकता भई सङ्घीय समाजवादी फोरम नेपाल बन्यो । अहिले फेरि नयाँ शक्ति पार्टी नेपालसँग एकता भई समाजवादी पार्टी नेपाल बनेको छ । पार्टी सरकार र संसद्मा बलियो उपस्थिति हुनुका साथै संविधान सशोधनका लागि रचनात्मक भूमिका खलिरहेका छौँ । यतिखेर पनि देशामा आदिवासी जनजाति, दलित, महिला, तराई मधेस, मुस्लिम, पिछडावर्ग, उत्पीडित क्षेत्र तथा अल्पसङ्ख्यक समुदायको अधिकारको सवालमा नजरअन्दाज गरिरहेको अवस्थामा हाम्रो पार्टी मात्र एक्लो बृहस्पति भएर आवाज उठाइरहेको छ ।
० अहिले नेपालको दलित आन्दोलन कुन अवस्थामा रहेको छ ?
– दलित आन्दोलन हिजोको भन्दा केही परिष्कृत भएको अवस्था छ । देशमा निरङ्कुश राजसंस्था फालेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र समावेशी समानुपातिक व्यवस्था आइसकेको भए पनि दलित आन्दोलन एकता, सङ्गठन र एथेष्ट नीतिको अभावमा कमजोर भइरहेको छ । त्यसैले शोषणको रूप फेरियो होला, शोषण हटेको छैन । अर्को, नयाँ संविधानले छुवाछूतमुक्त राष्ट्र घोषणा गरिसकेको अवस्थामा फेरि दलित शब्द किन ? फेरि किन दलित बनाइन्छ, भनिन्छ । यसो भनिरहँदा पछिल्लो राजनीतिक परिवर्तन तथा व्यवस्थाको विरोधी होइनौँ । यही व्यवस्थाभित्र रहेर दलित, जनजाति, महिला, मधेसी, मजदुर, किसान आदिले विषेशाधिकारसहितको अधिकारको लागि निरन्तर लडिरहनुपर्दछ, लडिरहन्छौँ । हिजो जमिनबाट वञ्चित गरियो अथवा भूमिहिन बनाइयो । सस्तो श्रममा काम लगाइयो । त्यही कामको आधारमा अछूत र शोषण गरियो । आज लगानीको अभावमा सीपबाट समेत वञ्चित गरियो । त्यसैले हिजो हाम्रो सीपलाई छुनसमेत हुन्न भन्ने गैरदलितहरूले पनि हाम्रो सीप गरिहेका छन् । जुन स्वागतयोग्य छ । तर हाम्रो सीप खोसेका कारण राज्यले हाम्रो समुदायलाई रोयल्टी पाउनुपर्छ भनेका छौँ । जुन हाम्रो पार्टीको समेत माग हो ।
० कस्तोखालको रोयल्टी भन्न खोज्नुभएको हो ?
– तपाईंलाई एउटा प्रसङ्ग बताउँ कि पशुपतिमा मन्दिर क्षेत्रमा अन्य धर्मावलम्बी अथवा गैरदलितहरू पूजापाठ, सोह्रश्राद्ध आदि गर्न ब्राम्हण क्षेत्री जाति चाहिने भनी नगरपालिका, गाउँपालिकाबाट सिफारिस लिएर पेसा गर्नुपर्ने व्यवस्था गरिएको छ । जहाँ दलित जनजातिलाई स्वीकृति दिइँदैन । यसरी दलित जनजातिले उक्त पेसा जाने पनि अधिकारबाट वञ्चित गरिएको छ, कुण्ठित गरिएको छ । त्यसो हो भने दलित समुदायले गर्ने पेसा गैरदलितले किन गर्ने ? त्यसैले हामीेले भन्दै आएका छौँ कि गैरदलितले हाम्रो पेसा गरेबापत दलित समुदायलाई राज्यमार्फत् रोयल्टी दिनुपर्छ भन्दै आएका छौँ ।
० दलित आन्दोलनमा तपाईंले आफ्नोतर्फबाट के–के गर्नुभयो ?
– मैले लामो समयदेखि निरन्तर श्रमजीवी दलित समुदायमाथि भएका थिचोमिचोविरुद्ध लडेँ । जसलाई सांस्कृतिक आन्दोलन भन्न सकिन्छ । मन्दिर प्रवेश, अन्तरजातीय विवाह, अदालती केस, छुवाछूतविरुद्ध दलित र गैरदलितबीचको सहभोज गरेर सामाजिक जनचेतनामूलक कामहरू गर्दै आएको छु । तर सङ्गठन, एकता र नीति बनाउन सोचेजसरी काम गर्न सकिरहेको छैन । एकता, सङ्घर्ष र रूपान्तरणका लागि कोसिस भने गरिरहेको छु ।
० अरूले दलित भनिदिएको भरमा तपाईंहरू पनि दलित भन्दै हिँड्ने आरोप पनि लाग्ने गरेको छ नि ?
– केही हदसम्म यसमा सत्यता छ । खासमा हामी शिल्पी समुदाय हौँ तर पनि दलित (शिल्पी) शब्द आफैँमा एउटा मुद्दा भइसक्यो । राज्यले सम्बोधन नगरे सुखै छैन । आज देशमा समाजवादउन्मुख संविधान आइरहँदा सबैको अधिकारलाई सुनिश्चित गर्नै पर्छ । विषेशाधिकारसहितको अवसर दलित समुदायलाई अनिवार्य छ । कम्तीमा १३ प्रतिशत अवसर दिनै पर्छ । अर्को, रोयल्टीको कुरा माथिको हरफमा बताइसकेको छु । दुई तिहाइको सरकार त्यो पनि देशमा वाम सरकार रहेको अवस्थामा यो सरकारले पनि श्रमजीवी मेहनती दलित समुदायको लागि केही गरेन भने कसैले केही गर्नेवाला छैन । कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, संवैधानिक निकाय, राष्ट्रसेवक कर्मचारी लगायत राज्यका सबै अङ्गहरूमा समानुपातिक आधारमा विशेषाधिकार सुनिश्चित गर्नै पर्छ । हजारौँ वर्षदेखि दलित समुदायहरूलाई उत्पीडनमा राखिएको हुनाले क्षतिपूर्तिसहितको अधिकार सुनिश्चित गर्नै पर्छ ।
० नेपालका दलितहरू खासमा को हुन् ?
– हिजोका दिनहरूमा श्रमजीवी दलितहरूले विभिन्न तरिकाले पाउनु दुःख पाए, दिए । जुन व्यवहारिक थिएन । मान्छे त आखिर प्राचीनकालमा सबै ऋषिका सन्तान हुन् । जन्मिदा कोही पनि ठूलो–सानो थिएन । धर्म पनि थिएन । तर समाज विकास क्रममा अगाडि बढ्दै जाँदा कथित पुरोहित तथा टाठाबाठाहरूले आफ्नो स्वार्थअनुसार छुवाछूत जस्तो जघन्य जातीय व्यवस्था जबरजस्ती लादे । ४ जात जुन छ, बाहुन, क्षत्री, वैश्य र शुद्र । शुद्र भनेको तल्लो जाति होइन रहेछ । धर्मग्रन्थ तथा शास्त्रहरूले जातपातको आधारमा छुवाछूतको व्यवस्था गरेको छैन । काम र कर्मका आधारमा जिम्मेवारी दिएको हो । जस्तो– ब्रम्हाणको ज्ञान ब्रम्हा, विष्णु, महेश्वर बुझ्न सक्ने ब्राम्हण हुन् । जन्मदा वा सृष्टिकालमा कसैले पनि जात लिएर वा बोकेर आएको अवस्था होइन । काले राई (स्वामी प्रपन्नाचार्य) उहाँले शास्त्र अध्ययन गर्नुभयो, काम वा कर्म व्यवहारिक रूपमा लागू गर्नुभयो । उहाँ ग्रन्थको आधारमा ब्राम्मण हो । धर्मग्रन्थ अनुसार क्षेत्रीले राज्यसत्ता चलाउने, कानुन बनाउने, सुरक्षा दिने हो । खासमा बाहुनले सत्ता वा राज्य सञ्चालन गर्ने होइन तर उल्टो भइरहेको छ । यदि उसले राज्य सञ्चालन गर्छ भने धर्मग्रन्थ अनुसार क्षेत्री हो । वैश्यले व्यापार गर्ने, उद्योग चलाउने, आर्थिक सञ्चालन गर्ने भनिएको छ । शुद्रले सेवा, श्रम, आविष्कार गर्ने भनिएको छ । यसरी बनाइएको चार जातको वर्णनलाई गलत ढङ्गले प्रयोग गरियो र मुख्यतः दलित समुदायमाथि शोषण र दमन गर्दै सम्पूर्ण अधिकारबाट वञ्चित गर्नुका साथै चरम विभेद गरियो । साथै, जातको आधारमा ठूलो खाडल पैदा गरियो । जसबाट आजको दिनमा पनि दलित समुदायले ठूलो पीडा भोग्नुपरेको छ । जुन कुरा युगसापेक्ष थिएन र छैन पनि । सत्य युग, द्वापर, त्रेता र कलियुगसम्म आइपुग्दा विश्व पूरै आधुनिकतामा गइसक्दा पनि हाम्रो समाज भने अन्धविश्वास र छुवाछूत जस्तो जघन्य अपराधको सिकार भइरहेको छ । ऋग्वेद, सामवेद, यजुरवेद र अथर्ववेद चारवटै वेदमा जातपात र छुवाछूतको कुरा गरेको छैन । तर कस्ताले बनाएको भन्दाखेरी पण्डित्याइँ गर्ने पुरेतहरू र समाजका अन्धविश्वासीहरूले कर्मकाण्डी रूपमा ल्याए । आफ्नो पण्डित पुरेत पेसा जोगाउनका लागि यो जातपातको विजारोपण गरेको हो, अरू खासै तुक देखिँदैन । तर पनि विगतका सामन्ती राज्यसत्ताले पनि संस्थागत गर्दै लगे । त्यसै गरी भारतमा मनुस्मृति भनेर चिनिनुहुने ठूला पण्डित थिए । उनले सामन्तवादी धार्मिक सत्ता चलाउँथे, त्यसकै रूप हो नेपालमा पनि । आखिर जात, धर्म, वर्ग, लिङ्ग, रङ्ग नश्ल, विभेद मुख्यतः भारत र नेपालमै रहेको छ । आज एउटा दलित जन्मनेबित्तिकै दुर्घटना हुने अनि बाहुन क्षेत्रीको कोखबाट जन्मिनेबित्तिकै सुघटना हुने यस्तो पनि काहीँ हुन्छ ? जन्मदा दुर्घना होइन, सुघटना नै हो । तर यहाँ जन्मका आधारमा जातीय विभेद गरिएको छ ।
दलित समुदाय त आखिर सर्टिफिकेट नभएका आविष्कारक वैज्ञानिक हुन् । जुन कुरा भारतमा पनि उठ्यो । एउटा मोडेल हेरेको भरमा काम गरेका हुन् । पौणाणिक कालमा पुष्प विमान पनि कामीहरूले नै बनाएका हुन् । हिजोका दिनमा कामी, दमाई र सार्की आदिले गर्ने काम गैरदलितले गरेनन् नि । आज त हाम्रो पेसा सबै जातिले गर्छन्, गरेका छन् । यो स्वागतयोग्य कुरा हो । तर हिजो हाम्रो पेसालाई छुनसमेत हुँदैन भन्थे । जुन न्यायसङ्गत थिएन । त्यसैले जसले राम्रो काम र कर्म गर्छ, ऊ ठूलो हुनुपर्ने हो, आत्मासम्मान हुनुपर्ने हो । तर त्यसरी हेरिएन, जातको आधारमा हेरियो, जुन विडम्बनापूर्ण थियो, छ । यसरी कामको आधारमा बनाइएको जातपातको व्यवस्थालाई मल्ल राजा जयस्थिति मल्लको पालादेखि विभेद सुरु भयो । त्यसपछि पृथ्वीनारायण शाह र जङ्गबहादुर राणासम्म आइपुग्दा कानुन नै बनाएर वैधानिकता दिइयो । त्यसरी आजसम्म दतिल समुदाय बौरिन सकेका छैनन् । सामाजिक, राजनीतिक, सांस्कृतिक, धार्मिकको अलावा शिक्षा, स्वास्थ्य र रोजगारीबाट समेत वञ्चित गराइएको छ ।
० तपाईंको पार्टी पनि सत्तामा छ । जनताले दुई तिहाइ दिँदा पनि सरकारले केही गर्न सकेन नि ?
– हो, तपाईंले ठीक प्रश्न गर्नुभयो । सरकार पुरानै निरन्तरता जस्तो देखिएको छ । हाम्रो पार्टी संविधान संशोधाका लागि सरकारमा गएको हो । धेरै वर्षदेखिको राजनीतिक अस्थिरता र देशको द्वन्द्वकालीन अवस्थाको अन्त्य गर्दै नेपाली जनतालाई सुशासन र समृद्धिको बाटोतर्फ लैजान पार्टी सरकारमा रहेको छ । देश र जनतालाई निकास दिन र राजनीतिक मुद्दाहरूको सम्बोधन गर्न गराउन हाम्रो पार्टी सरकारमा रहेको अवस्था हो । हामी नेपाली जनतालाई निकास दिने गरी सरकार, सदन र सडकमा परिचालित छौँ । अझ यसलाई यसरी भनौँ कि राजनीतिक कार्यभार पूरा गर्न सरकार र सदनमा बसेर दबाब दिइरहेका छौँ । देशको राजनीति अझै सङ्क्रमणकालबाट गुज्रिरहेको अवस्था छ । दुई तिहाइको सरकार अल्मलिएको पक्कै हो । तीन तहको सरकार नेपालको हकमा बिल्कुल नयाँ प्राक्टिस थियो । नयाँ संविधानको कार्यान्वयन अर्को चुनौती रहेको छ । पछिल्लो राजनीतिक परिवर्तनलाई संस्थागत गर्नुपर्ने अवस्था पनि रहेको छ । सरकार काण्डैकाण्डमा मुछिएको छ । अर्को व्यवस्था परिवर्तन भए पनि मानसिकता बदलिएन । मानौँ, उहाँहरू दिने हामीचाहिँ माग्ने जस्तो सोच्ने जुन मानसिकता छ, त्यो त्याग्नुप¥यो र श्रमजीवी जनताको पक्षमा काम गर्नुपर्दछ । व्यवस्था परिवर्तन भए जस्तै हाम्रा राजनीतिक दलहरूको सोचाइमा पनि परिवर्तन आउनुपर्छ ।– प्रस्तुति : वसन्त परियार
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल