Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सामाजिक सद्भाव बिथोल्नेको पहिचान गरौ

नेपाली समाजमा साम्प्रदायिक विद्वेष फैलाएर परम्परादेखि रहिआएको सद्भाव खलबल्याउने तत्त्व फेरि एकपटक सक्रिय भएको देखिएको छ । धरानबाट सुरु भएको सामाजिक सद्भाव बिथोल्ने कुचेष्टा नेपालगन्ज पुग्यो ।

साम्प्रदायिक तनाव बढ्न र झडप हुन थालेपछि नगरहरूमा निषेधाज्ञा र कर्फ्युसमेत लगाउनु परेको छ । भाग्यवश, नेपाली समाजलाई भाँड्ने कुचेष्टा अपेक्षाकृत सफल भएन । स्थिति नियन्त्रणमै रह्यो ।

यसपटक साम्प्रदायिक तत्त्वले धार्मिक भावना दोहन गरेर समाजमा अशान्ति मच्चाउने प्रयास गरेको देखियो । यस्तो कुचेष्टा गर्ने तत्त्वले आधुनिक सूचना प्रविधि र सञ्चार सञ्जालको प्रयोग गर्‍यो ।

सामाजिक सञ्जालमा बहुसङ्ख्यक समुदायलाई उत्तेजित गराउने सामग्री प्रस्तुत गर्ने उपक्रम धरानमै सुरु गरिएको थियो । नेपालगन्जमा पनि सामाजिक सञ्जालमा बहुसङ्ख्यक धार्मिक समुदायलाई उत्तेजित गराउने सामग्री सञ्चार गरियो ।

तथ्य जाँच गर्दा साम्प्रदायिक विद्वेष चर्काउने सामग्री नै नक्कली रहेको पाइयो । अर्थात्, कुनै कुतत्त्वले प्रविधिको प्रयोग गरेर त्यस्तो उत्तेजक सामग्री बनाएको र फैलाएको पुष्टि भयो ।

धन्न, धार्मिक समुदायका अगुवाहरूलगायतका समाजका प्रबुद्ध नागरिकले बेलैमा यो नियोजित षड्यन्त्रको भेउ पाएर स्थिति काबुबाहिर नपुग्दै समाले । प्रशासनिक सुझबुझले पनि स्थिति समाल्न मद्दत पुग्यो ।

सम्भवतः नेपाली समाजको सद्भाव बिथोल्न गरिएको यसपटकको षड्यन्त्र तुहियो । तर, यस्तो कुचेष्टा फेरि हुँदैन भनेर ढुक्क त सकिँदैन । विगतमा पनि त यस्तो षड्यन्त्र भइरहेकै थियो ।

राजनीतिक आवरणमा सक्रिय साम्प्रदायिक तत्त्वको अनुहारबाट यसपटक मुकुन्डो खुलेको छ । यसैले पानी धमिलिएको देखिनेबित्तिकै माछा मार्न तम्सने कुतत्त्वलाई सरकार र समाजले निगरानीमा राख्नुपर्ने देखिन्छ ।

अहिलेसम्म केही राजनीतिक दलका नेताहरूका आवरणमा सक्रिय केही व्यक्ति त्यस्तै दुर्नियत प्रेरित रहेछन् । बहुसङ्ख्यक सम्प्रदायलाई उक्साउने र हिंसा फैलाउने प्रयत्न गर्नसमेत तिनीहरू उद्यत देखिए ।

सामाजिक सञ्जालबाट जाली भिडियो प्रसार गरेर धार्मिक सम्प्रदायहरूबीच तनाव फैलाउने र त्यही जाली सामग्रीलाई देखाएर साम्प्रदायिक राजनीति गर्ने दुवै समाजका अपराधी हुन् । तिनीहरूबाट राष्ट्रघातको षड्यन्त्र भएको छ ।

साम्प्रदायिक सद्भाव खलबल्याउने दुर्नियत राखेर जाली भिडियो बनाउने तथा सामाजिक सञ्जालमा प्रसार गर्नेलाई राज्यले खोजेर कानुनबमोजिम कारबाही गरोस् । त्यस क्रममा नक्कली भिडियो फैलाउनेहरूमाथि पनि छानबिन र निगरानी हुनुपर्छ ।

सामाजिक सद्भाव खलबलिन नदिन सक्रिय विशेषगरी हिन्दु र इस्लाम धर्मका धार्मिक अगुवा तथा स्थानीय प्रशासन धन्यवादका पात्र भएका छन् । आशा गरौँ, तिनको सक्रियता र सुझबुझ कायम रहनेछ ।