Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । आज मुलुक नेपाली दाजुभाईको इजरायमा भएको निधनबाट राष्ट्रिय शोकमा छ । इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभमा रहेको कृषि फार्मबाट नेपालीहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा राखिएको छ । उनीसहित ५ जनाको टोली दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभमा थिए । आफूसँगै इजरायल गएका १० जना साथी मारिएको पुष्टि भएपछि उनीहरू निकै विक्षिप्त भइसकेका थिए । विपिन बसेको फार्मबाट करिब २० किलोमिटर टाढा अलुमिन किबुजमा १० जना मारिएका हुन् । सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायबाट गएका ४९ जना विद्यार्थीका उनी टोली नेता हुन् । उनीहरूलाई तेलअभिभस्थित नेपाली दूतावासले आइतबारदेखि नै उद्धार गर्न आउने आश्वासन दिएको थियो । त्यही आसमा विपिनसँगै बैतडीका प्रमोद भट्ट, सिन्धुलीका अनुप अधिकारी, कैलालीका विशाल पाण्डे र दाङका समर्पण आचार्य उद्धारको पखाईमा थिए । दूतावासको पहलपछि दिउँसो उद्धारका लागि सेनाको गाडी उनीहरू बसेको कृषि फार्ममा पुग्यो र सेदोत नेगेभको बेतकाम क्षेत्रमा लगेर राखियो । जहाँ उनीहरूभन्दा केही समयअघि मात्रै कञ्चनपुरका नितिन भण्डारीको समूहलाई पुर्याइएको थियो । भण्डारीको समूह सारसेरेट कृषि फार्ममा काम गर्थ्यो, जुन इजरायलको सबैभन्दा ठूलो कृषि फार्ममध्येमा पर्छ । भण्डारीसँग डडेलधुराका लोकेन्द्र विष्ट, बजुराका रमेशबहादुर कार्की, रौतहटका नीरञ्जन कुशहवा, रौतहटका विनोद शाह, कैलालीका उपेन्द्र जीसी, अरविनकुमार चौधरी, आवाज भट्टराई र रोहित नायक पुगेका थिए । यो टोलीमा नजिकै रहेको कृषि फार्मबाट चितवनकी विभुषा अधिकारी, कैलालीका रचना चौधरी, आशा मिश्र र सुष्मा रेग्मी पनि मिसिए । सेदोत नेगेभस्थित मिभ्टाहिममा रहेकी कल्पना जोशी, साधना बोहरा, शिलाकुमारी यादव आउन भने समय लाग्यो । यी चार जनासँगै कृषि वन विश्वविद्यालयका १५ जना नेपाली विद्यार्थी थिए । उनीहरू इजरायलको अर्को विश्वविद्यालयमार्फत फार्ममा खटिएका थिए । उनीहरूलाई लिन छुट्टै गाडी आउने भएपछि कल्पनाहरू सुदूरपश्चिमकै टोलीमा आए । २३ जनामा प्रज्वल कोइराला, रविन चन्द, रविन भट्टराई, रामु ठाकुर, टेकनारायण, सुदीप यदुवंशी, सुशान्त न्यौपाने, उन्से नेपाली, विष्णु काफ्ले, एन्जल कुमार, योदित ढकाल, अमन भण्डारी, मनोज भुजेल, महेश आचार्य, अनिशा गिरी, पूजाकुमारी विक, ऋषि गौतम, शोभा पासवान, प्रतिभा आचार्य, सुनिता आचार्य, दीपिका देवकोटा, आशा थापा र ममता सिन्जाली छन् ।
नेपाली ल्याउन विमान पठाइँदै
सरकारले इजरायलमा जोखिममा रहेका नेपालीलाई उद्धारका लागि प्रक्रिया सुरु भइसकेको जनाएको छ । परराष्ट्रमन्त्री एनपी साउदले युद्धका कारण जोखिममा परेर नेपाल फर्कन चाहनेहरूको सूची तयार भइसकेपछि विमान इजरायल पठाउने जानकारी दिए । मन्त्रिपरिषद्को सोमबार अपराह्न बसेको आकस्मिक बैठकले इजरायलमा रहेका नेपालीको सुरक्षा, उद्धार र शव ल्याउने प्रक्रिया तुरुन्त अघि बढाउने निर्णय गरेको थियो ।प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले नेपालीका शव ल्याउन जहाज पठाउने तयारी भइरहेको जानकारी दिए । इजरायलमा रहेका नेपालीहरूको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा ३ महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिनेसमेत मन्त्रिपरिषद्ले निर्णय गरेको छ । इजरायलस्थित नेपाली दूतावासले जोखिमयुक्त क्षेत्रबाट नेपालीहरूको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्नेछ । नेपाल फर्कन चाहने नेपालीलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्रान्जिट होम स्थापना गरी व्यवस्थापन गर्न इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने पनि मन्त्रिपरिषद्को विशेष बैठकले निर्णय गरेको छ । सरकारले उद्धारका लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरूसमेतको सहयोग लिने पनि सोमबारको बैठकले निर्णय गरेको छ । इजरायलमा करिब ४ हजार ५ सय नेपाली छन् । मन्त्रिपरिषद् बैठकले इजरायलमा मृत्यु भएका नेपालीको सम्मानमा राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ । इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरूको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्न मन्त्रिपरिषद्ले निर्देशन दिएको छ । सरकारले इजरायलमा रहेका नेपाली र त्यहाँ रहेका नेपालीका परिवारलाई थप आघात नपुर्याउन र संयम रहनसमेत आग्रह गरेको छ ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल