Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
गत असोज १० गते आफ्नै भिनाजु नाताका पुरन विकले ती युवतीलाई कुवेत पठाएका थिए । यौन शोषण गर्न खोजेपछि भागेर ज्यान बचाएकी उनले आप्रवासी स्रोत केन्द्र बागलुङको सहयोगमा घर फर्कन सकेकी हुन् । केन्द्रको पहलमा उनी कात्तिक ७ गते नेपाल फर्किएकी हुन् । हाल उनी बागलुङ आइपुगेकी छिन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दासम्म भिसा नदेखाइकन ती युवतीलाई पुरनको सम्पर्कमा आएका बुटवलका सहदेव बराईले कुवेत पठाइदिएका थिए । जहाज चढेपछि घरेलु कामदार रहेछ भन्ने थाहा पाएकी उनले कुवेतमा २६ दिन बस्दा ३ वटा घरमा फेरेर काम गर्न बाध्य भइन् । पहिलो दिनमा पुगेको घरमा सरसफाइ गर्न लगाइयो, उनले भनिन्, दस दिनमै दोस्रो घर पठाएर यौन सम्पर्क गर्न भनियो, मैले नमानेपछि भाग्नुपर्यो । पटक–पटक पैसा दिने प्रलोभनमा उक्त घरका मालिकले यौन सम्पर्क गर्न दबाब दिएको उनले बताइन् ।
आफूलाई दबाब दिएपछि उनले तत्काल आप्रवासी स्रोत केन्द्रमा जानकारी गराइन् । घरपरिवारमा सम्पर्क गरेर कागजात पठाउने काममा गाउँकार्यपालिका सदस्य पूर्णमाया सुनार र केन्द्रकी परामर्शदाता गंगा शर्मा रिजालले साथ दिएको उनले बताइन् । ‘समयमा नेपालमा सम्पर्क गर्न पाएर उम्केर आउन सकेकी हुँ, उनले भनिन्, मोबाइलसमेत खोसेर राखेकोले अपरिचित महिलाको सामाजिक सञ्जालबाट केन्द्रको सम्पर्कमा आउन सकेको हुँ । नगर प्रमुख वसन्तकुमार श्रेष्ठले वैदेशिक रोजगार बोर्डसहितका निकायमा समन्वयमा साथ दिएपछि उनलाई तत्काल फिर्ता ल्याउन सकेको शर्माले बताइन् ।
विवाहपछि पतिले छाडे, ६ बर्षको छोरा पाल्नुपर्ने बाध्यताले उनी विदेश गएकी थिइन् । कम्पनी भनेर यौन धन्दामा पठाउने एजेन्टलाई कारवाही गर्नुपर्ने उनले माग गरिन् । ‘कुवेतमा रहेका अरु पीडितलाई पनि उद्धार गर्नुपर्छ भन्ने सन्देश पुर्याउन भागेर आएँ, उनले भनिन्
कक्षा ९ मात्रै पढेकी विक भलिबल खेलाडीसमेत हुन् । उनी गत असारमा जिल्लाबाट उत्कृष्ट भएर गण्डकी प्रदेशको टिममा छनोट भएकी थिइन् । घर मालिकले मुख थुनेर जबर्जस्ती गर्न खोज्दा उनी उम्केर भागेकी थिइन् । खेलाडी भएकै कारण उनले त्यो हिम्मत गर्न सकेको बताइन् । खेलाडी भएर कमाइ गर्न सकिंदैन, खेल जिते पुरस्कार पाउने हो, नत्र केही छैन, उनले भनिन्, जीवन चलाउन सकिन्छ भनेर विदेश जाने योजना बनाएँ, यस्तो नरकमा परेँ ।
ऋण खोजेर २५ हजार रुपैयाँ बुझाएपछि एजेन्टले उनलाई विदेश पठाइदिएका थिए । फर्केर उक्त ऋण तिर्ने उनलाई पीर परेको छ । सकुशल फर्कन पाएकोले अब अन्य रोजगारी खोजेर घर व्यवहार चलाउने योजना सुनाइन् । विकलाई विदेश पठाउनेको खोजी गरेर कारबाही प्रक्रिया अगाडि बढ्ने केन्द्रका प्रमुख मीनप्रसाद उपाध्यायले बताए ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल