Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
विराटनगर । नेकपा एमालेले मङ्सिर १४ गतेदेखि सुरु गरेको मध्यपहाडी संकल्प यात्रालाई कोशी प्रदेश प्रवेशमा अवरोध गर्ने पहिचानवादीको तयारीले मुठभेडको सम्भावना बढेको छ । प्रहरी प्रशासनले भने सम्भावित झडपलाई रोक्न भन्दै एकीकृत सुरक्षा योजना लागु गर्ने तयारी गरेको छ ।
पछिल्लो समय दुवै पक्षले एक अर्कालक्षित आक्रामक अभिव्यक्ति दिँदै आएका छन् । पहिचानवादीले केही दिन अगाडि ओखलढुंगामा आयोजना गरेको सार्वजनिक सभामा बोल्दै नेता गोपाल किराँतीले जबर्जस्ती गरे आफूहरुको लासमाथि टेकेर हिँड्नुपर्ने चेतावनी दिए ।
एमालेबाट निर्वाचित कोशी प्रदेशसभाका सांसदहरुले प्रदेशसभामा बोल्दै मुलुकका पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्षलाई प्रवेशमै निषेध गर्ने प्रचार दुःखद् र संविधानविरोधी भएको बताएका छन् । पहिचानवादीको यस्तो भनाइ संविधानप्रदत्त अधिकारको उल्लङ्घन भएको एमालेको दाबी छ ।
‘मुलुकभित्रै आवतजावत गर्न पनि निषेध गरिने चर्चा दुःखद् छ, एमाले पोलिटब्यूरो सदस्य तथा कोशी प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बोले भने, ‘यस किसिमको अलोकतान्त्रिक कदम अगाडि नबढाउन म आग्रह गर्दछु ।
कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने भन्दै प्रदेशमा आन्दोलनरत संघ संस्थाहरुले ओलीसहित एमाले नेता योगेश भट्टराई र महेश बस्नेत तथा कोशी नामकरणको पक्षमा मतदान गर्ने ८२ जना प्रदेशसभा सदस्यलाई कोशीका पहाडी जिल्लामा प्रवेश गर्न नदिने चेतावनी दिँदै आएका छन् । एमालेको मेची–महाकाली मध्यपहाडी यात्राको क्रममा ओली र कोशीको पक्षमा मतदान गर्ने सांसदहरु सहभागी भए अवरोध गर्ने उनीहरुको धम्की छ ।
प्रदेश १ पुनः नामकरण संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिं थेगिमले २६ गतेदेखि उदयपुरको घुर्मीदेखि पाँचथरको चिवाभन्ज्याङ्सम्म अनिश्चितकालीन बन्द आह्वान गरेको जानकारी दिए । ‘हामीले २५ गतेदेखि घुर्मी–चिवाभन्ज्याङ जागरण अभियान कार्यक्रम सञ्चालन गर्दैछौँ । २६ गतेदेखि घुर्मी–चिवाभन्ज्याङ अनिश्चितकालीन बन्द आह्वान गरेका छौँ, थेगिमले भने, ८२ प्लस ३ लाई हामीले अवरोध गर्ने भनेका छौँ । ८२ जनालाई कुनै पनि हालतमा अवरोध गर्ने हो । तीन जनाले भने माफी मागेको अवस्थामा जान दिन्छौँ ।
एमालेले मंसिर १४ गते ९बुधबार०देखि मध्यपहाडी संकल्प यात्रा सुरु गरेको हो । उक्त यात्रा मङ्सिर २६ गते उदयपुरको घुर्मी आइपुग्नेछ । एमालेको उक्त अभियानमा प्रदेशसभाबाट कोशी नामकरणमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचानको विरुद्धमा बोल्ने तीन जना एमाले नेताहरु अध्यक्ष ओलीसहित नेता योगेश भट्टराई र महेश बस्नेत पनि सहभागी हुन लागेको कारण अवरोध गर्न लागिएको पहिचानवादीको दाबी छ ।
दुवै पक्षले एक अर्काप्रति लक्षित गर्दै अभियान चलाएपछि झडप हुने आशङ्का बढेको छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी राजेशनाथ बाँस्तोलाले आफूहरुले जुनसुकै शान्तिपूर्ण कार्यक्रमलाई पूर्ण सुरक्षा दिने बताए ।
लोकतन्त्र, गणतन्त्र, संविधानले दिएको अधिकारलाई कसैले थुनछेक गर्न सक्ने अवस्था छैन । कसैले आउँछु भन्छन्, कोही जान्न भन्लान् । कसैले अउनै दिन्न भन्लान् । तर, हाम्रो सरोकार सुरक्षाको हो । सुरक्षा व्यवस्था हामीले मिलाएका छौँ, बाँस्तोलाले भने, कुरा के हो भने कसैले कसैलाई पनि निषेध गर्न मिल्दैन । कसैले कसैलाई पनि हस्तक्षेप गर्न नमिल्ने भएकाले स्वतन्त्रतापूर्वक आफ्नो कार्यक्रम गर्न पाउँछन् ।
उनले एउटै ठाउँमा कार्यक्रम गर्ने कुरामा भने पहिला जसले कार्यक्रम तय गरेको हो, उसैलाई छाडिदिने नेपाली संस्कृति भएका कारण सोही अनुसार हुनसक्ने बताए । ‘नेपालीको संस्कृति पनि मिलेर गर्ने नै हो, उनले भने ।
प्रहरीले व्यापक रुपमा पहाडतिर फोर्स पठाएको छ । एकीकृत सुरक्षा योजना अनुसार त्यहाँ सुरक्षा व्यवस्था लागु हुन्छ । नेपाल प्रहरी तैनाथ छ । जसको कार्यक्रममा पनि हामी सुरक्षा दिन्छौँ । तर, एक आपसमा झगडा हुन नदिने कुरामा भने राजनीतिक कार्यक्रम भएका कारण राजनीतिक शक्तिहरुले नै बसेर छलफल गरेर मिलाएर जानुपर्छ, उनले भने ।
पूर्णरुपमा शान्ति सुरक्षा प्रदान गर्न प्रहरीले प्रयास गर्ने डीआइजी बाँस्तोलाले बताए । उनले भने, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन हुन्छन् । बाँकी कुरा राजनीतिक पार्टी र राजनीतिक शक्तिहरुबिच सहमति हुने कुरा हो ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल