Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । ठूलो सपना देखेर लाखौं खर्चिएर सात समुद्र पारी अमेरिका पुगेका ३२ जना नेपालीलाई नेपाल फिर्ता पठाएको छ । अमेरिकाको एरिजोना र हवाईबाट डिपोर्ट भएर काठमाडौँ आइपुगेका ३२ जनालाई प्रहरीले सामान्य सोधपुछ पछि घर पठाएको छ । आइतबार राति ३२ जना पुरुष र ५ जना महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । अमेरिकाले उनीहरूलाई ओम्नि एयर इन्टरनेशनलको विमान चार्टर गरेर नेपाल पठाएको थियो । उनीहरूमध्ये पाँच महिलासहित ३५ जना अवैध तरिकाले अमेरिका प्रवेश गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । दुई जनाचाहिँ वैधानिक बाटोबाट नै अमेरिका गएको भेटिएको मानव बेचबिखन ब्युरोका प्रवक्ता (एसपी) नरेन्द्र कुँवरले रातोपाटीलाई बताए । उनले भने– एक जना डीभी परेर र अर्का एक जना अध्ययन गर्न अमेरिका पुगेर निष्कासनमा परेको देखिन्छ । उनीहरू अमेरिका को एरिजोना र हवाई हुँदै बङ्गलादेशको ढाका ट्रान्जिट भएर नेपाल आइपुगेका हुन् । डिपोर्ट भएकामध्ये एक जनासँग मात्रै नेपाली राहदानी भेटिएको छ । अरु चाहिँ त्यहाँको अध्यागमनले जारी गरेको ‘ट्राभल डकुमेन्ट’ लिएर फर्केका हुन् । सन् २०२२ मा अमेरिका प्रवेश गर्नेहरू र २०२५ मार्चमा अमेरिका पुगेकाहरू पनि फर्केका छन् । आफ्ना सामान उनीहरूले बोरामा लिएर फर्केको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । एक जना अधिकृत भन्छन्, ‘फर्केकाहरू सबै सामान्य देखिन्छन् । विभिन्न बाटो हुँदै पनामा जङ्गल छिचोलेर मेक्सिकोको बोर्डरबाट उनीहरू अमेरिका प्रवेश गरे । त्यहाँ प्रवेश गरेपछि धेरै जना ‘शरणार्थी’ को मान्यता पाउने सङ्घर्षमा लागे । तर, शरणार्थीको मान्यता नपाउँदै निष्कासनमा परे । उनीहरूलाई लामो समयदेखि अमेरिकाको इमिग्रेसन कस्टम इन्फोर्समेन्टले थुनामा राखेर निष्कासन गरेको भेटिएको छ । बिचौलियामार्फत अमेरिका गएकाहरूले ८० लाखसम्म खर्च भएको बताएका छन् । तर, अमेरिका पठाउने गिरोहबारे उनीहरूले प्रहरीलाई जानकारी दिएनन् । ब्युरोका एसपी नरेन्द्र कुँवर भन्छन्, अमेरिका पठाउने गिरोहबारे उहाँहरूले हामीलाई कुनै पनि विवरण खुलाउनुभएन । फर्किनेहरूका धेरै जना दाङ, पूर्वी रुकुम र पश्चिम रुकुमका छन् । सिन्धुपाल्चोक, सिन्धुली, लमजुङ र म्याग्दीका पनि त्यहाँ पुगेर फर्केको भेटिएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि उनीहरूसहित १६३ जना डिपोर्ट भएका छन् ।
२०८२ जेष्ठ ३१
ताजा नेपाल
२०८२ जेष्ठ ३१
ताजा नेपाल
२०८२ जेष्ठ ३१
ताजा नेपाल