Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई बुढानीलकण्ठस्थित निवासमा बोलाएर मार्गप्रशस्त गर्न निर्देशन दिएका छन्। बिहीबार साँझ बुढानीलकण्ठ पुगेका मुख्यमन्त्री लामालाई देउवाले राजीनामा दिएर मार्गप्रशस्त गर्न निर्देशन दिएका हुन्। पार्टीभित्रको विवाद चुलिँदै जाँदा देउवाले लामासँगको प्रत्यक्ष भेटमा लोकतान्त्रिक विधिबाट आएको परिणाम स्वीकार गर्न निर्देशन दिएका हुन्।
पार्टीभित्रको विवादले कसैलाई फाइदा नपुग्ने भन्दै सभापति देउवाले दुवै पक्ष मिलेर जान भनेका छन्। लामालाई लोकतान्त्रिक निर्णय स्वीकार गरेर अघि बढ्न मार्गप्रशस्त गर्न सभापति देउवाले निर्देशन दिएको बताइएको छ। सभापतिसँगको संवादमा मुख्यमन्त्री लामाले आफ्ना साथीहरूसँग छलफल गरेर निर्णय गर्ने जवाफ दिएका छन्। मुख्यमन्त्री लामानिकट स्रोतका अनुसार उनले आफ्नो समूहमा रहेका प्रदेश सांसद र केही पार्टीका शीर्ष नेतासँग छलफल गर्ने बताएका छन्। लामालाई हराउँदै कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी भएसँगै बागमती सरकार संकटमा परेको छ। देउवासँगको छलफलपछि लामा निर्णयको मुखमा पुगेको संकेत देखिएको छ। प्रदेश सांसद रामकृष्ण चित्रकारका अनुसार आज दिउँसो मुख्यमन्त्रीले छलफलका लागि सांसदहरूलाई बोलाएका छन्। आजको छलफलबाट राजीनामाका विषयमा के गर्ने भन्ने निर्णय हुने चित्रकारको भनाइ छ। निर्णय लिनुअघि मुख्यमन्त्री लामाले पार्टीका केही शीर्ष नेताहरूलाई भेट्ने र यसपछि आजै भैँसेपाटीस्थित सरकारी निवासमा आफू निकटका सांसदहरूसँग छलफल गर्ने तयारी छ। स्रोतका अनुसार आज साँझसम्म मुख्यमन्त्री लामाले आफ्नो निर्णय गर्नेछन्। उनले मुख्यमन्त्रीबाट राजीनामा नदिएको खण्डमा आफ्ना मन्त्रीहरूलाई विश्वासको मत फिर्ता लिएर सरकार छाड्न एमालले निर्देशन दिएको छ। उता मुख्यमन्त्री लामा भने संसद्मा विश्वासको मत लिनुपर्ने स्थिति आए पद जोगिने दाउ पनि हेरिरहेका छन्। उनी निकटका १५ सांसदले उनलाई नै मत दिए भने माओावदी केन्द्रका २१, राप्रपाका १२, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरी लामाका पक्षमा ५६ जना हुन्छन्। ११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक हुन्छ। ७ राजनीतिक दलको प्रतिनिधित्व रहेको प्रदेशसभामा बानियाँका पक्षमा उनीनिकटका २२, एमालेका २७ र नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० का ३ सांसद हुने अनुमान छ।तर नेमकिपाले जस्तोसुकै परिस्थितिमा पनि सरकारका पक्षमा उत्रेको विगत छैन। तसर्थ एमालेका २७ र आफूनिकट कांग्रेसका २२ गरी बानियाँका पक्षमा ४९ पक्का देखिन्छ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल