Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेयरसाब भ्रष्टाचारका दुई मुद्दामा दोषी ठहर

काठमाडौं । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा एकै दिन दुई फरक भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार भरतताल बनाउदा सरकारी सम्पत्ति हानीनोक्सानी गरेको आरोपमा दोषी ठहर गरेको हो । विशेषले नै उनलाई गैरकानूनी सम्पत्ति आर्जन गरेको अर्को भ्रष्टाचारको आरोपमा समेत दोषी ठहर गरेको हो । बुधबार राति विशेष अदालतले सार्वजनिक गरेको संक्षिप्त आदेश अनुसार, भरतताल भ्रष्टाचारमुद्दामा मेयर थापा सहित विमलकुमार पोखरेल र सागर पौडेल पनि दोषी ठहर भएका छन् । विशेष अदालतले उनीहरुमाथि ३० करोड २९ लाख रुपैयाँ नदीजन्य पदार्थ हानीनोक्सानी गरेको ठहर गरेको हो । दोषी ठहर भएकाहरुलाई सजाय निर्धारणका लागि विशेष अदालतले अर्को २९ साउनमा पेशी तोकेको छ । ३ वर्षभन्दा बढी सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ । विशेष अदालतले त्यो भ्रष्टाचारमा मुछिएका अरु आरोपितलाई सफाई दिएको छ । लिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीले आरोपबाट सफाइ पाएका छन् । विशेष अदालतले गैरकानूनी सम्पत्तिआर्जनको अर्को भ्रष्टाचार मुद्दामा पनि मेयर थापालाई दोषी ठहर गरेको छ । विशेष अदालतले उनलाई ३ करोड ४५ लाख रुपैयाँ गैरकानूनी आर्जन गरेकोमा दोषी ठहर्‍याएको हो । ९ करोड १४ लाख रुपैयाँ बैध रुपमा कमाएका उनले १२ करोड ५९ लाख रुपैयाँको सम्पत्ति जोडेको भेटिएको विशेष अदालतको ठहर छ । अख्तियारले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गरेको थियो । उनलाई विशेष अदालतले गैरकानूनी सम्पत्तिआर्जनको भ्रष्टाचार मुद्दामा एक वर्ष कैद, विगो र त्यही बराबरको जरिवाना तिर्नुपर्ने फैसला गरेको हो । विशेष अदालतले उनले ३ करोड ४५ लाख बिगो बुझाउनुपर्ने ठहर गरेको हो । भ्रष्टाचार मुद्दा लागेपछि मेयर थापा २७ चैत, २०८० देखि निलम्बनमा छन् । दोषी ठहर भएकाले उनको निलम्बन यथावत रहनेछ ।

थापाले सर्लाहीको बागमती नगरपालिका वडा नं ४ र १२ मा रहेको भरत ताल निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँ अनियमितता गरेको अख्तियारले दाबी थियो । ताल निर्माणमा अनियमितताको आरोपसहित अख्तियारले बागमती नगरपालिकाकी उपमेयर लीलाकुमार मोक्तानविरुद्ध पनि मुद्दा दायर गरेको थियो । अख्तियारले नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेललाई पनि ३० करोड २९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ । जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीलाई भने कैद र जरिवानाको मात्रै मागदाबी गरिएको थियो । उनीहरुमाथि भरत ताल निर्माण गर्दा उत्खनन भएको ढुंगा, गिटी, बालुवालगायत नदीजन्य पदार्थको विक्रीवितरणमा अनियमितता भएको उजुरी परेको थियो । सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा स्वीकृती नलिई माछा पोखरी निर्माण गरेको आरोप थियो । भरतताल भनी नाम राखिएको उक्त माछापोखरीको प्रारम्भिक परीक्षण प्रतिवेदन स्वीकृत नभएको भेटिएको थियो । नगरपालिकाले सागरनाथ वन परियोजना र नेपाल सरकारको स्वीकृतिविना वाग्मती नदीको बहाव प्रयोग गरेर ताल निर्माण गरेको थियो । पहिलो पोखरीबाट १७ लाख ८८ हजार र दोस्रो पोखरीबाट २१ लाख ८४ हजार गरी कुल ३९ लाख ७३ हजार नदीजन्य पदार्थ उत्खनन गरेको भन्दै अख्तियारले त्यसमा अरु गणना गर्दा थप ७ लाख घनमिटर नदीजन्य पदार्थ नगरपालिकाले बिक्री गरेको आरोप लगाएको थियो । नगरपालिकाले ३३ लाख ५९ हजार घनमिटर रोडाढुंगाको मात्रै हिसाब देखाएको भन्दै अरु आम्दानी हिनामिना गरेको आरोप उनीहरुमाथि थियो । १३ लाख ४० हजार घनमिटर रोडाढुंगाको हिसाव नदेखिएको र त्यसले नगरपालिकामा हानिनोक्सानी पुगेको भन्दै अख्तियारले भ्रष्टाचारमुद्दा दायर गरेको थियो । २६ करोड ८० लाख नोक्सान भएको र भ्याट समेत जोड्दा त्यो रकम ३० करोड २९ लाख पुग्ने अख्तियारको दाबी थियो ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल