Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
रुपन्देही । सहकारीको करोडौं रुपैयाँ ठगी आरोपमा भैरहवा कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राष्ट्रिय मानवअधिकार आयोगको टोलीले सोमबार भेट गरेको छ। हालैका दिनमा लामिछानेको स्वास्थ्य र कारागारभित्रको अवस्थाबारे विवादित समाचारहरू बाहिरिएपछि आयोगकी सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेककी रिमा बिसी लगायतको टोली कारागार पुगेको हो। टोलीले लामिछानेलाई राखिएको ४ नम्बर ब्लकको अवस्था प्रत्यक्ष अवलोकन गरेको थियो। झ्याल बन्द गरिएको कोठामा दुईवटा पंखा राखिएको भेटिएको आयुक्त थापाले बताइन् । एउटा विवाह समारोहमा प्रयोग हुने ठूलो पंखा र अर्को स्ट्यान्ड पंखा राखिएको उनले बताइन् । टोलीका अनुसार भैरहवा कारागारमा २०० कैदी राख्ने क्षमता भए पनि हाल त्यहाँ करिब ६५० जना कोचाकोच गरेर राखिएका छन्। आयोग सदस्य थापाले यस्तो अवस्था आधारभूत मानवअधिकार हनन भएको बताइन्। एउटै कोठामा २ सयको सट्टा ६३० जना राख्नु मानवीय र कानूनी दुवै हिसाबले गलत हो, उनले भनिन्, सरकारले कैदीबन्दीको संख्याअनुसारको संरचना निर्माण नगरेको स्पष्ट देखिन्छ। टोलीले लामिछानेलाई हिँडडुल गर्ने, पत्रपत्रिका पढ्ने र भेटघाट गर्न पाउने अधिकार सुनिश्चित गर्न कारागार प्रशासनलाई निर्देशन दिएको छ। रविलाई राखिएको ब्लकको झ्याल खोल्ने, शौचालयको सुधार गर्ने र अदालतको आदेशअनुसार आवश्यक भए स्थानान्तरण गर्ने विषयमा पनि सरकार र गृह मन्त्रालयलाई व्यवस्थापन गर्न आग्रह गरिने उनले बताइन् । बन्दी आफैले स्थानान्तरणको आग्रह गर्दा पनि नगर्नु वा गर्न नसक्नुको कारण सरकारले स्पष्ट पार्नुपर्छ, थापाले भनिन्, कारागार व्यवस्थापन विभागले तुरुन्त सुधारका कदम चाल्नुपर्छ। आयोगले सीमाक्षेत्रमा रहेको कारागारको सुरक्षामा सरकारको ध्यानाकर्षण गराउँदै, भीडभाड कम गर्ने र मानवअधिकार अनुकूल सुविधा उपलब्ध गराउन जोड दिएको छ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल