Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेमा पुनर्गठनको कुरा उठेपछि ओली तर्कीदै हिड्छन

काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि आत्मालोचनासहित पार्टी नेतृत्व पुनर्गठनको आवाज बढ्दै गएपनि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी नेता कार्यकर्ताबाट उठेका यस्ता आवाज सम्बोधन गर्न तयार देखिएका छैनन् ।

सुशासन कायम र सामाजिक सञ्जाल नियन्त्रणविरुद्ध जेनजीहरुले गरेको आन्दोलनको पहिलो दिन १९ जना युवाको मृत्यु भएपछि दोस्रो दिन भएको हिंसात्मक आन्दोलनले प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य ओली घुसपैठ भएको भनेर एकोहोरो रटान लगाउँदै आफ्नो कमजोरी ढाकछोप गर्न पछि परेका छैनन्

यतिसम्मकि युवाहरूको आन्दोलन र सत्ता परिवर्तन भएको तीन साता पुग्न लाग्दा पनि ओलीले औपचारिक पार्टी बैठक समेत बोलाएका छैनन् । पार्टी बैठक बोलाउँदा बहुमत सदस्यहरु आफ्नो विपक्षमा उभिने बुझेर ओलीले बैठक बोलाउन नखोजेको असन्तुष्ट पक्षका नेताहरूको भनाइ छ ।

अहिले पार्टी पुनर्गठनको आवाज अन्य दलसँगै एमालेभित्र पनि चर्को रूपमा उठेको छ , एमालेका एक पदाधिकारी भन्छन्, तर अध्यक्ष पार्टी पुनर्गठनको मागलाई बेवास्ता गरिरहनुभएको छ यसले पार्टीमै पनि थप क्षति हुने खतरा छ ।

प्रदर्शनकारीले आन्दोलनका क्रममा ओलीको निजी निवास बालकोटमा समेत आगजनी गरेपछि उनी भक्तपुरकै गुण्डुमा डेरा सरेका छन् । गुण्डु पुगेपछि दिनहुँजसो नेता कार्यकर्ता भेला गरेर जेनजी आन्दोलनमा घुसपैठ भएको तथा आफूमाथि प्रहार केन्द्रित गरेको भनिरहेका ओली त्यो घुसपैठ कसले गर्‍यो किन गर्‍यो भनेर प्रस्ट भन्न सकिरहेका छैनन् । त्यतिमात्र होइन भेटघाटमा आउनेहरूसँग आफूमाथि प्रहारको निशाना केन्द्रित गरेको अरूलाई दोष दिएर पानीमाथिको ओभाने बन्ने प्रयास मात्र गरिरहेका छन् । आन्दोलनकारी जेनजी पुस्ताले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव र काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई नियन्त्रणमा लिएर कारबाही गर्न माग गरिरहेका छन् । यस्तो माग उठ्दै गर्दा आफ्नो तर्फबाट भएको गल्ती कमजोरीबारे ओलीले आत्मालोचना या कमजोरी भयो भनेर अहिलेसम्म मुख खोलेका छैनन् ।

केहीदिन अघि गुण्डु पुगेर ओलीलाई भेटेका एक एमाले कार्यकर्ताले भने, उहाँमा जानअन्जानमा मेरो कमजोरी भयो भन्ने कुनै पश्चात्ताप देखिँदैन । ती कार्यकर्ताले अगाडि भने,बरु म विकास र सम्मृद्धिको वाहक हुँ । मैले राम्रो काम गर्दा मलाई नै निशाना बनाइयो भन्ने तर्कमात्र गरिहन्छन् । यसले ओली न त गल्ती स्विकार्छन् भनेर मान्न सकिन्छ न नेतृत्व छाड्न वा पार्टी पुनर्गठनको आवाज नै सम्बोधन गर्न चाहन्छन् भनेर बुझ्न कठिन छैन ।

कतिपय एमाले नेताले पछिल्लो विकसित राजनीतिक घटनाक्रमपछि ओलीलाई मार्ग प्रशस्त गर्न वा पार्टी पुनर्गठनका लागि अग्रसर हुन सुझाव दिएपनि उनी ती नेताहरूको सुझाव मान्ने पक्षमा छैनन् ।

बिहीबार साँझ पार्टी निकटका केही पत्रकारहरू प्रचार विभाग प्रमुख राजेन्द्र गौतमसहित अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगेका थिए । त्यसक्रममा एकजना पत्रकारले पार्टी सचिव योगेश भट्टराईले समेत पार्टी पुनर्गठनको अपिल सार्वजनिक गरेको विषय उठाएको प्रसङ्ग निकाल्दै भट्टराईको पोस्ट समेत ओलीलाई देखाएका थिए । तर ओलीले भट्टराईको उक्त पोस्टबारे कुनै चासो नै दिएनन् । बरु हेरौला न १ के के नै गर्दा रहेछन् भन्ने टाइपले इग्नोर गर्नुभयो ,ओलीलाई भेट्न पुगेका एक पत्रकारले भने, उहाँमा कुनै आत्मालोचना गर्ने वा पार्टी पुनर्गठन गर्ने सोच नै देखिँदैन ।

जेनजी आन्दोलनपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट, केन्द्रीय सदस्य उषाकिरण तिम्सिना लगायतले पार्टी पुनर्गठन गर्न ढिला गर्नु नहुने बताइरहेका छन् । तर ओली भने सडकमा भनेर नेतृत्व परिवर्तन वा पार्टी पुनर्गठन नहुने जवाफ निकटस्थहरूमार्फत दिइरहेका छन् ।

शिवपुरीस्थित नेपाली सेनाको ब्यारेकबाट असोज २ गते भक्तपुरको गुन्डुमा सरेका ओलीले चाहेका भए निवासमै बैठक राख्न सक्थे । तर उनले त्यसो नगरी असोज ३ यता पदाधिकारी तहका नेताहरूलाई एकएक बोलाएर उनीहरूको मनस्थिति बुझ्ने काममै व्यस्त छन् । त्यसबाहेक उनले विभिन्न जिल्लाका कार्यकर्ताहरूलाई पनि सामूहिक भेट दिइरहेका छन् ।

एमालेमा रहेका १९ पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्ट नेतृत्व परिवर्तन गरेर भएपनि पार्टी पुनर्गठनको पक्षमा खुलेका छन् । आन्दोलनपछि उपाध्यक्ष विष्णु पौडेल, सचिव योगेश भट्टराई र गोकर्ण विष्टले व्यक्तिगत रूपमा आत्मालोचना पनि गरिसकेका छन् । उनीहरूले पार्टीले लिएको विगतका निर्णयप्रति क्षमा याचना गर्दै नयाँ पुस्ताको भावनाबमोजिम पार्टीको सङ्गठन, कार्यशैली र आचरणमा परिवर्तन गर्दै पुनर्गठन अनिवार्य भएको बताउँदै आएका छन् ।

विगतमा एमालेले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने नै छ । व्यक्तिगत रूपमा आफ्नो तर्फबाट भएका गल्ती, कमजोरी र भुलहरूप्रति क्षमा याचना गर्दछु, उपाध्यक्ष पौडेलले केही दिन पहिला वक्तव्य जारी गर्दै भनेका थिए ।

अब हाम्रोसामु जनतासँग विशेषगरी नयाँ पुस्तासँग एकाकार भएको नीति निर्माण र नेतृत्व निर्माणमा युवा शक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मेवारी आएको छ, पौडेलको भनाइ छ ।

सचिव योगेश भट्टराईले सार्वजनिक गरेको अपिलमा गल्ती र कमजोरीहरूबाट सिक्दै पार्टी र आन्दोलनलाई पुनर्गठन गर्ने बताएका छन् । मार्क्सको उदाहरण दिँदै उनले इतिहासमा कुनै पनि अवस्था स्थायी नहुने भट्टराईको भनाइ छ । निराशाको गर्भमै परिवर्तनको सम्भावना लुकेको हुन्छ, भट्टराईले भनेका छन्, यो निराशा र सङ्कटको अवस्था स्थायी होइन । इतिहासमा हामीले ठुलठुला संकट र आँधीबेहरी पार गरेरै यहाँसम्म आएका हौँ । इतिहासका हरेक संकटका हरेक घुम्ती र मोडहरूमा हामी पुनर्गठित भएको सत्यलाई पनि हामीले मनन गर्नु जरुरी छ । त्यही स्वीकारोक्ति सहितको अभियानको लागि अपिल समेत गर्दछु । आत्मभत्सर्ना बन्द गरौँ, आत्मसमीक्षा डटेर गरौँ ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल