Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । एमालेभित्र महाधविशेन प्रतिनिधिको जोड घटा शुरु भएको छ । अध्यक्ष ओलीको प्यानलै सुरक्षित राख्ने गरी हिसाव किताव भइरहेका बेला नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल यतिबेला एघारौँ महाधिवेशनका लागि चुनिएर आएका प्रतिनिधि मन जित्ने प्रयासमा लागेका छन् । एमालेको महाधिवेशनमा नेतृत्व चयनका लागि मतदानमा सहभागी हुने करिब २३ सय प्रतिनिधिमध्ये ७० प्रतिशत बढी ओली पक्षमा र ३० प्रतिशतसम्म पोखरेल पक्षमा रहेको प्रारम्भिक आकलन छ। तर पोखरेल पक्षले धेरै प्रतिनिधि कुनै पक्षमा नखुलेको अवस्था रहेकाले नेतृत्व चयनको परिणाम फरक आउन सक्ने दाबी गरेको छ। प्रतिनिधि चयनको विषयले कतिपय जिल्लामा खिचोला पनि उत्पन्न गरेको छ। पोखरेल पक्षले ओखलढुंगाबाट एकलौटी प्रतिनिधि ल्याएको भन्दै त्यसलाई उल्ट्याएर चुनाव गर्न ओलीले ठाडो निर्देशन दिए। संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले पाँच दिनको समय दिएर पत्र नै पठाए। यसप्रति असन्तुष्ट पोखरेलले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराईलाई साथै लगेर ओलीसँग बिहीबार भेट गरे। उनले ओलीसँग सबैलाई समान व्यवहार गर्न आग्रह गरे। जबकि, ओली पक्षले २३ सय प्रतिनिधिमध्ये ७० प्रतिशत आफ्नो पक्षको आएको दाबी गर्न थालेको छ। जम्मा ३० प्रतिशत मात्र पोखरेल पक्षका प्रतिनिधि चुनिएको ओली पक्षका नेताहरू बताउँछन्। महाधिवेशनका लागि निर्णायकमध्येका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ आफ्नो पक्षमा खुलेपछि ओली समूह केही हौसिए पनि ओलीको पक्षमा पहिले नै नखुलेको र अहिले पनि बलियो रुपमा प्रस्तुत नभएको भन्दै अझै असन्तुष्ट छ। पौडेलले ओलीलाई अध्यक्ष बनाउन कुनै समस्या नरहेको भन्दै आफ्नो धार खुलाए पनि उनी पहिले पहिले जस्तो ओलीको पक्षमा माहोल बनाउन खुलेर हिँडेका छैनन्। यसले ओलीलाई अझै सशंकित बनाइरहेको छ। त्यसैले पनि महाधिवेशनमा चुनाव नै हुने र लामो समयसम्म आफ्नै समूहमा साथ दिएका पोखरेलको चुनौतीलाई ओलीले सामान्य लिएका छैनन्। मंसिर ४ गतेको सचिवालय बैठकमा पोखरेलले ओलीसँग प्रतिस्पर्धा गर्ने घोषणा गरे। पोखरेलले मंसिर ९ गते एमालेको अध्यक्षमा उम्मेदवारी दिने सार्वजनिक घोषणा गरे। ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोकेसँगै उनले एमालेमा फेरि राजनीति गर्ने अवसर नपाएपछि पोखरेल अघि सरेका हुन्। महाधिवेशन प्रतिनिधिको मन जित्न यो समूहले जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी र एमालेमा लामो समय राजनीति गरेर उपाध्यक्ष भइसकेकी विद्या भण्डारीको विरासतलाई अघि सारेको छ। जबज भर्खरैसम्म एमालेको मार्गनिर्देशक सिद्धान्तका रुपमा कायम थियो। विद्या भण्डारीसँग दूरी बढेपछि ओलीले यसलाई किनारा लगाएका छन्। जबजका अलावा २०५१ सालमा प्रधानमन्त्री हुँदा मनमोहन अधिकारीले ल्याएका जनमुखी कार्यक्रमले एमालेलाई देशव्यापी रुपमा स्थापित गरेको थियो। पोखरेलले प्रचार सामग्रीमा नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र अधिकारीको पनि तस्बिर राखेका छन्। नेकपा संस्थापकदेखि मदन भण्डारीसम्मको विरासत आफूहरूसँग रहेको दाबी विद्या–ईश्वर समूहले गरेको छ। यो रणनीतिले एमालेका खास नेता र कार्यकर्ताको मन जित्न सकिने र महाधिवेशनमा आफ्नो पल्ला भारी गर्न सकिने उनीहरूको बुझाइ छ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल