Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आईजीपी कार्कीको आज आयोगमा बयान

काठमाडौं । भदौ २३ र २४ गतेको घटना जाँचबुझ गर्न गठित आयोगले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पत्र काटेको छ। शुक्रबार आईजीपी कार्कीसँग बयान लिनका लागि बोलाएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताए। जेनजी आन्दोलनको पहिलो दिन प्रहरी प्रधान कार्यालयकै मानव स्रोत विभागमा कार्यरत तत्कालीन एआईजी कार्कीलाई २४ गते बिहान काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको थियो। जेनजी आन्दोलनका घटनाबारे सोधपुछ गर्न आयोगले आईजीपी कार्कीलाई पनि बोलाएको हो। घटना हुँदा एआईजी रहेका कार्की कात्तिक २७ गते प्रहरी महानिरीक्षक छन्। कार्कीलाई पनि शुक्रबार उपस्थित हुन भनेसँगै शुक्रबार आयोगमा एकसाथ तीन जनासँग सोधपुछ हुने भएको छ। बिहीबारदेखि नै बयान दिन पुगेका तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्व गृहसचिव गोकर्णमणी दुवाडीको बयान सकिएकै छैन। उनीहरूसँग शुक्रबार पनि बयान जारी रहने प्रवक्ता शर्माले नेपालखबरलाई जानकारी दिए। दुवै जना बिहीबार ढिलो गरी उपस्थित भएका थिए। झण्डै चार बजे बयानका लागि आयोगको कार्यालय सिंहदरबार पुगेका उनीहरूसँग साँझ ६ बजेसम्म सोधपुछ गरेको थियो। यी तीन जनाको बयान सकिएपछि पूर्वगृहमन्त्री रमेश लेखक र त्यसपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिने आयोगको तयारी छ। उनीहरूको बयान अर्को साता गर्ने तयारी रहे पनि आयोगले अहिलेसम्म दुवै जनालाई पत्र भने पठाइसकेको छैन। यससँगै आयोग प्रतिवेदनलाई अन्तिम रुप दिनतर्फ लाग्नेछ। असोज ९ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित ३ सदस्यीय आयोगलाई तीन महिनाको समयसीमा तोकिएको छ। जेनजी आन्दोलनमा भदौ २३ गते भएको राज्यको दमन र २४ गतेको विध्वंशका घटना छानबिन गरी दोषीलाई कारबाही सिफारिस गर्न सक्ने अधिकार आयोगलाई छ।


सम्बन्धित समाचार