Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वैकल्पिक राजनीति जोड्ने रविको प्रयास

काठमाडौं । वैकल्पिक भनिएका दलहरु एकै ठाउँमा उभिएको हेर्ने चाहना नेपाली जनतालाई छ । धरौटी रकम बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भइसकेका छन्। पार्टी सभापतिको जिम्मेवारीमा फर्किएसँगै अब उनले कुलमान घिसिङको अगुवाइमा खुलेको उज्यालो नेपाल पार्टीसँग सहकार्यको प्रयास फेरि अगाडि बढाउने नेताहरूले बताएका छन्। पुराना दललाई धक्का दिने हो भने नयाँहरू मिल्नैपर्ने लामिछानेको विश्लेषण छ। त्यही भएर नख्खु कारागारमा रहँदा पनि घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र उनको टिमसँग संवाद गर्न उनले कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति स्वर्णिम वाग्ले र शिशिर खनाल लगायत नेतालाई जिम्मा दिएका थिए। असोजदेखि मंसिरसम्म यी उनीहरूबीच पटकपटक छलफल चले पनि पदमा कुरा मिल्न सकेको थिएन। नेताहरूका अनुसार घिसिङले सुरुमा रास्वपा सभापति मागेका थिए। यो प्रस्ताव बालेनका निकट सहयोगी कुमार बेनले नख्खु पुगेर लामिछानेलाई सुनाएका थिए। तर, त्यसलाई लामिछानेले अस्वीकार गरे। रवि लामिछाने थुनामा रहेकोले रास्वपा कार्यवाहक सभापति दिनुपर्ने अर्को प्रस्ताव घिसिङ पक्षले राख्यो। त्यसबाहेक ४० प्रतिशत केन्द्रीय सदस्य आफूहरूले पाउनुपर्ने घिसिङ पक्षको माग थियो। यसमा पनि रास्वपाको वार्ता टोली तयार भएन। त्यसपछि उज्यालो नेपाल पार्टीका नेताहरू बिच्किए र उनीहरूले एकताको प्रक्रिया रोके। रास्वपासँग मिलेर जाने सम्भावना नदेखेपछि घिसिङ र उज्यालो नेपाल पार्टीले देशव्यापी अभियान थालेको छ। यद्यपि, लामिछाने थुनामा भएकैले मिलेर जाने योजना सफल नभएको उनीहरूको भनाइ छ। उच्च अदालतको आदेशमा लामिछाने शुक्रबार थुनामुक्त भएका छन्। अब उनेपासँग मिल्ने विषयलाई फेरि अगाडि बढाउने र लामिछानेले नै त्यसको अगुवाइ गर्ने रास्वपाका सचिवालय सदस्य विराजभक्त श्रेष्ठले बताए। रोकिएको संवाद अब नयाँ शिराबाट अघि बढ्ने उनको भनाइ छ।
‘यसका लागि सभापति बाहिर आएपछि हामीलाई सहज भयो। अब कुलमान र बालेन्द्रसँग भेटघाट गर्न पनि सहज भयो,’ उनले भने, ‘अहिले भएको प्रगतिमा आधारित भएर सभापतिलाई ब्रिफिङ भएपछि यो प्रक्रियालाई उहाँले नै अगाडि बढाउनुहुन्छ। रूपन्देहीबाट शुक्रबार थुनामुक्त भएर लामिछाने चितवन पुगिसकेका छन्। उनी आइतबार काठमाडौँ आउनेछन्। त्यसपछि उनले केही जेनजीसँग भेट्नेछन्। अनि, कुलमान र बालेन्द्र मिलाउन लाग्ने रास्वपाका नेता शिशिर खनालले बताए। लामिछाने नभएकैले कतिपय निर्णय गर्न नसकिएको उनको भनाइ छ। घिसिङ र बालेन्द्र शाहसँग केही दिनमै कुरा मिल्ने सम्भावना देखिएको खनालको भनाइ छ। उनेपाका नेता एवं कुलमानका विश्वासपात्र गणेश घिसिङले पनि रास्वपा र नयाँ दलहरूसँग चलिरहेको छलफल अब निर्णायक मोडतिर जानसक्ने बताए। रविजीसँग जेलमै हुँदा पनि विभिन्न माध्यममार्फत् कुरा भएकै हो, उनले भने, उहाँ बाहिर आएपछि सिधै छलफल हुन्छ। मुलुकको चाहना त्यही हो। जनताको चाहनाअनुसार चल्नुपर्ने हुन्छ। लामिछाने थुनामा रहेकोले कुलमान घिसिङलाई सभापति वा कार्यवाहक बनाएर जान बालेन्द्र शाहले सन्देश पठाएका पनि हुन्। तर, त्यसलाई रविले पार्टी कब्जा गर्न खोजेको अर्थमा लिए। बरु सरकारमा रहेका कुलमान आफूलाई रिहा गराउन लाग्नुपर्ने उनको तर्क थियो। तर, रास्वपाले घिसिङको हैसियत पनि नियालिरहेको नेताहरू बताउँछन्। लामिछानेका विश्वासपात्र ती नेताका अनुसार पार्टी एकता नभए पनि चुनावी तालमेल हुनसक्छ। उनेपाका नेता जीतराम वाइबा पनि लामिछानेसँग अब कुलमान घिसिङको सिधै कुरा हुने बताउँछन्। निकै जोडबल गर्दा पनि एकपटक कुरा नमिलेकोले अब फेरि त्यसमै नअल्झने उनी बताउँछन्।


सम्बन्धित समाचार