Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यो एकतामा किन अटेनन् कुलमान

काठमाडौं । लामो छलफलपछि भौतिक पूर्वाधार, ऊर्जा तथा सहरी विकास मन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई बाहिरै राखेर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले आइतबार बिहानै एकता सहमति गरेका छन्। सातबुँदे सहमतिअनुसार दुई पक्षबीच एकतापछि दल तथा सभापति उही रहनेछन् भने भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने छन्। ‍ यो सहमतिपत्रमा हस्ताक्षर हुनुअघि मध्यरातसम्म उनीहरूसँगको छलफलमा कुलमान पनि थिए। तर यो एकतामा किन अटाएनन् कुलमान जबकि नक्खु कारागारबाट थुनामुक्त भएपछि घिसिङलाई रास्वपामा ल्याउन सभापति लामिछानेसहित यस पार्टीकै नेताहरूले जोड गरेका थिए। कुलमानलाई रास्वपाको कार्यकारी सभापति बनाएर चुनावमा जाने बालेनको चाहना थियो। किनकि सहकारी ठगी, सम्पत्ति शुुद्धीकरण र संगठित अपराधमा रास्वपा सभापति लामिछाने २०८१ कात्तिक २ गतेदेखि नक्खु कारागारमा थिए। जेनजी आन्दोलनपछि कांग्रेस एमाले सत्ता ढलेको थियो। जेनजीको चाहनाबमोजिम गठन भएको सुुशीला कार्की नेतृत्वको सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्दै फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गर्ने घोषणा गरे। रवि जेलमा रहेकाले रास्वपाको नेतृत्व कुलमानलाई दिएर चुनावमा होमिने योजना बालेनको थियो। त्यही योजनाअनुसार बालेनका विश्वासपात्र कुमार बने नक्खु कारागार गएर रविसमक्ष कुलमानलाई रास्वपाको सभापति बनाउन प्रस्ताव लगेका थिए। तर, त्यसलाई रविले अस्वीकार गरे। यसपछि कार्यवाहक सभापति मात्र बनाए पनि मिल्न सकिने प्रस्ताव लगियो। यसमा पनि रवि सकारात्मक भएनन्। बरु उनले पार्टी कब्जा गर्न खोजेको रूपमा लिएपछि कुलमानले अन्ततः अनुप उपाध्यायको अध्यक्षतामा उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता गराए। अहिले यो पार्टीले देशभर संगठन विस्तार गरिरहेको छ। पार्टी प्रचारमा कुलमान आफैँ कुदिरहेका छन्। तर, यहीबीच रवि जेलमुक्त भए। अनि थाले, राजनीतिक दौडधुप। नक्खु कारागारबाट निस्किएपछि रविले कुलमानसँग भेट गरेनन्। बरु उनी काठमाडौँ महानगरपालिकाका मेयर बालेनसँग भेटवार्ता गर्न गाए। गत सोमबारदेखि निरन्तर छलफल गरिरहेका उनीहरूले एकता सहमतिका लागि कार्यदल नै बनाए। कार्यदलमा रास्वपाबाट शिशिर खनाल र असिम साह तथा बालेनका तर्फबाट स्वकीय सचिव भुपदेव यादव र निकट सहयोगी कुमार व्यञ्जनकार राखिए। अर्थात् कुलमान पक्षलाई पूरै बेवास्ता गरियो। यही कुराले कुलमानलाई बिच्क्याएको उनीनिकट नेताहरू बताउँछन्। शनिबार आफूलाई भेट्न आएका बालेनसँग कुराकानीपछि कुलमानले त्यसलाई पुष्टि हुने गरी पहिलोपटक सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका थिए। उनले एकताको अर्थ अरूलाई समाप्त गर्नु नभएको टिप्पणी गरेका थिए। त्यति मात्र होइन, अप्रत्यक्ष रूपमा उनले रास्वपा र बालेन एक हुन भइरहेको प्रयासमा उज्यालो नेपाल पार्टीलाई समावेश नगरेकामा पनि असन्तुष्टि जनाए। यस क्रममा कुनलमानले आफूसँग रविको भन्दा बढी जनविश्वास रहेको दाबी पनि गरे। सबैको अस्तित्वलाई बुझेर गरिएको एकता मात्रै लामो समय जाने टिप्पणी उनले गरे बताए। रवि र बालेनले मिलेर जानको लागि गरेको प्रयासले रुष्ट देखिएका कुलमानले पार्टीको केन्द्रीय समितिको बैठक राखेर अस्तित्व नै समाप्त हुनेगरि अरु पार्टीमा बिलय नहुने निर्णय गराए। सोही कारण अब कुलमानको पार्टी उनेपाले आफ्नै नेतृत्वमा समेत नयाँ र वैकल्पिक शक्तिलाई एकै ठाउँमा ल्याउन पहल गर्ने भएको छ। कुलमान अब पार्टीलाई मजबुत तरिकाले अघि बढाउने सोचमा देखिएका छन्।


सम्बन्धित समाचार