Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमाले ओखलढुंगाको सिङ्गो नेतृत्वले पार्टी नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेको छ। जिल्ला कमिटी अध्यक्ष ज्ञानबहादुर खड्का जीबीको नेतृत्वमा पदाधिकारी र सदस्यहरू गरी ३८ जना नेता–कार्यकर्ताले शुक्रबारको मितिदेखि लागू हुनेगरी पार्टीका सम्पूर्ण जिम्मेवारीबाट सामूहिक राजीनामा दिएका हुन्। केन्द्रीय कार्यालय च्यासललाई सम्बोधन गरिएको राजीनामा पत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी र अहङ्कारी नेतृत्व शैलीका कारण पार्टीभित्र बस्न नसकिने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ। विशेष गरी आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने क्रममा जिल्ला कमिटीको निर्णय र कार्यकर्ताको भावनालाई पूर्ण रूपमा उपेक्षा गरिएको उनीहरूको आरोप छ। जिल्लाबाट सर्वसम्मत रूपमा सिफारिस भएका नामहरूलाई लत्याउँदै केन्द्रले व्यक्तिगत निकटताका आधारमा अस्मिता थापालाई उम्मेदवार बनाएपछि विवाद उत्कर्षमा पुगेको हो। अध्यक्ष खड्काले जिल्लाको सिफारिसभन्दा बाहिरबाट उम्मेदवार लाद्ने कार्यले स्थानीय मतदाता र कार्यकर्ताको अपमान भएको छ भने यसले पार्टीभित्र लोकतन्त्रको सट्टा निरंकुशता हाबी भएको पत्रकार सम्मेलनमा जानकारी गराए। राजीनामा दिनेहरूमा उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा र उपसचिव राजिव कटवालसहित प्रदेश कमिटीका सदस्यहरू उमेश कार्की, इच्छाकुमारी गुरुङ र सुरेश थापा समेत रहेका छन्। यसैगरी लेखा कमिटीका अध्यक्ष मोहन ढकाल, युवा संघका जिल्ला अध्यक्ष सुदिप कार्की, अनेरास्ववियुका जिल्ला अध्यक्ष विवेक तामाङ र खेलकुद महासंघका जिल्ला अध्यक्ष राजकुमार राईले पनि पदबाट राजीनामा दिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। उनीहरूले नेतृत्वले संवाद र सहमतिको सट्टा निषेधको राजनीति गरेको र पार्टीलाई ‘बा’ को साँघुरो घेराभित्र कैद गरेको गम्भीर आरोप लगाएका छन्। पार्टीभित्र पटक–पटक सुधार र वैचारिक बहसको माग गर्दा पनि नेतृत्वले बेवास्ता गरेको र उल्टै विधि विपरीत जिल्ला इन्चार्ज यज्ञराज सुनुवारको नेतृत्वमा समानान्तर गतिविधि सञ्चालन गरेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। यस्तो विचलित र संगठन विरोधी निर्णयको हिस्सेदार बनेर राजनीतिक पतनको जिम्मेवारी वहन गर्न नसकिने भन्दै उनीहरूले सामूहिक राजीनामा दिएको स्पष्ट पारेका छन्। निर्वाचनको मुखमा ओखलढुंगामा भएको यो विद्रोहले नेकपा एमालेलाई जिल्लामा ठूलो सांगठनिक क्षति पुग्ने देखिएको छ। सिफारिस गरिएको नाममा बेवास्ता गर्दै एमालेले ओखलढुंगामा अस्मिता थापालाई उम्मेदवार बनाएको छ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल