Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । तीन वर्षअघिको निर्वाचनमा कोसीबाट झण्डै ५० प्रतिशत सिट जितेको एमाले यसपटक अध्यक्ष केपी शर्मा ओलीकै क्षेत्रमा धरमरमा छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र बालेन शाह प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर काठमाडौँबाट झापा–५ पुगेका छन्। ओलीले कीर्तिमानी मतसहित चुनाव जितेको यो क्षेत्रमा यसपटक बालेनले चुनाव जित्ने रास्वपाको दाबी छ। २०७९ को निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनविरुद्ध झण्डै आधा हिस्सा ओगटेको एमाले अहिले पनि अध्यक्षको क्षेत्र सुरक्षित रहेको दाबी गर्छ। तर एक्लाएक्लै चुनाव लड्दा पनि पहिले जति सिट जित्न नसकिने निष्कर्ष एमालेले निकालिसकेको छ। कोसी प्रदेशका १४ जिल्लामा २८ वटा निर्वाचन क्षेत्र छन्। त्यसमध्ये तीन वटा जिल्लामा मात्रै आधाभन्दा बढी अर्थात् १५ सिट छन्। झापामा ५, मोरङमा ६ र सुनसरीमा ४ क्षेत्र छन्। उदयपुर र इलाममा दुईदुई निर्वाचन क्षेत्र रहँदा बाँकी ९ जिल्लामा एकएक क्षेत्र मात्र छन्। यी २८ क्षेत्रमध्ये सबैभन्दा धेरै सिट जित्ने दाबी एमालेको छ। एमालेले यसपटक कम्तीमा ९ सिटदेखि बढीमा १५ सिट जित्ने दाबी गरेको छ। एमालेले जित्ने दाबी गरेका क्षेत्रमा अध्यक्ष ओली उठेको झापा ५, झापा ४, इलाम २, मोरङ २, सुनसरी ३, ताप्लेजुङ, भोजपुर, संखुवासभा, धनकुटा, उदयपुर २ र खोटाङ छन्। झापा ५ को तुलनामा ४ सहज रहेको निष्कर्ष पार्टीको छ। कोसी प्रदेशमा एमालेले ओखलढुङ्गाबाहेकका सबै पहाडी जिल्ला जित्ने दाबी गरेको छ। एमाले कोसी प्रदेशका सचिव राजकुमार भण्डारीले प्रदेशका २८ वटा निर्वाचन क्षेत्रको सूक्ष्म विश्लेषण गर्दै एमालेले अप्रत्याशित नतिजा निकाल्ने दाबी गरे। विशेषगरी पहाडी भेगमा एमालेको स्थिति अत्यन्तै मजबुत रहेको भण्डारीको भनाइ छ। भण्डारीले झापाको क्षेत्र नं। १ र ३ बाहेक अन्य क्षेत्रमा जित सुनिश्चित रहेको बताए। मोरङमा १, ३ र ५, सुनसरीको १ र २ तथा उदयपुरको क्षेत्र नं। १ मा त्रिकोणात्मक प्रतिस्पर्धा देखिए पनि बाँकी सबै क्षेत्रमा एमालेले जित्ने दाबी गरे। यसअघिको निर्वाचनमा एमालेले ताप्लेजुङ, पाँचथर, इलाम १, इलाम २, झापा २, झापा ४, झापा ५, धनकुटा, मोरङ २, सुनसरी २, सुनसरी ३, सोलुखुम्बु र उदयपुर २ मा जितेको थियो। यी क्षेत्रमा फेरि जित्न सकिने दाबी गरेको एमालेले भोजपुर र खोटाङ यसपटक जित्ने सूचीमा थपेको छ। यसअघिको निर्वाचनमा यी दुवै क्षेत्रमा तत्कालीन माओवादीका उम्मेदवार विजयी भएका थिए। यस्तै कांग्रेसले ८ देखि १४ सिट जित्ने आकलन गरेको छ। कांग्रेसले सोलुखुम्बु, ओखलढुंगा, पाँचथर, इलाम १, झापा १, मोरङका २, ३ र ६ जित्ने सूचीमा राखेको छ। सुनसरी २, ३ र ४ तथा उदयपुरका दुवै क्षेत्रमा जित्न सकिने कांग्रेसको आकलन छ। मोरङका ६ सिटमध्ये कम्तीमा ३ सिट र बढीमा ५ सिट जित्न सकिने कांग्रेस नेता केदार कार्कीले दाबी गरे।
यस्तै खोटाङ, भोजपुर, धनकुटा र तेह्रथुममा पनि कडा प्रतिस्पर्धा हुने र जित्न सकिने आकलन कांग्रेसको छ। यसअघिको निर्वाचनमा कांग्रेस झापा १, संखुवासभा, तेह्रथुम, मोरङ १, मोरङ ३, मोरङ ६, सुनसरी ४, ओखलढुंगा र उदयपुर १ मा विजयी भएको थियो। तर कांग्रेसले अघिल्लो पटक जित्ने अधिकांश उम्मेदवारलाई यसपटक उठाएको छैन। गएको निर्वाचन जितेका शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की र सुनील शर्मा मात्रै पुनः उम्मेदवार बनेका छन्। बाँकी ६ क्षेत्रमा नयाँ उम्मेदवार छन्। यस्तै नेपाली कम्युनिस्ट पार्टीले मोरङ ४ र ५, इलाम १, ओखलढुंगा, भोजपुर र सोलुखुम्बुलाई जित्न सक्ने सम्भावित क्षेत्रमा लिएको छ। यसअघि गठबन्धन हुँदा तत्कालीन माओवादीले खोटाङ, भोजपुर, मोरङ ४ जितेको थियो। तर, यसअघि जितेकै केही क्षेत्र जोगाउन नेकपालाई कठिन छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ५ देखि ८ सिटसम्म जित्ने दाबी गरेको छ। पार्टीले हरेक निर्वाचन क्षेत्रलाई नजिकबाट निकालिरहेको र कुन क्षेत्रको अवस्था कस्तो छ भनेर हिसाब गरिरहेको रास्वपा रिसर्च कमिटीका एक सदस्य बताउँछन्। उनका अनुसार रास्वपाले जित्ने सम्भावित क्षेत्र, प्रतिस्पर्धा कडा हुने क्षेत्र र पराजित हुने सम्भावना रहेको क्षेत्रको वर्गीकरण गरेको छ। यो वर्गीकरण अनुसार कोसीमा सहजै जित्ने क्षेत्र छैनन्। कडा प्रतिस्पर्धाका बीच ५ वटा क्षेत्रमा जित हासिल गर्न सकिने आकलन उनीहरूको छ। तर चुनावसम्ममा यो अवस्थामा फेरबदल हुन सक्ने र पार्टीले थप योजना बनाइरहेको उनले बताए। राष्ट्रिय स्वतन्त्र पार्टीले जित्ने दाबी गरेको क्षेत्रमा झापाका ३ सिट छन्। झापा १, झापा २ र झापा ५ रास्वपाले जित्ने सो पार्टीको दाबी छ। मोरङका दुई सिट र सुनसरीका दुई सिट जित्न सकिने दाबी रास्वपा नेताले गरे। यस्तै इलाम १ मा र उदयपुरमा पनि राम्रो हुँदै आएको रास्वपाका कोसी प्रदेश सभापति गोमा तामाङले बताइन्। गएको निर्वाचनमा रास्वपाले कोसीमा एक सिट पनि जित्न सकेको थिएन। यसपटक बालेन कोसी प्रदेशबाटै चुनाव लड्ने भएपछि खासगरी तीन वटा जिल्ला झापा, मोरङ र सुनसरीमा प्रभाव बढेको रास्वपा नेताहरूको आकलन छ। कोसीका पहाडी जिल्लामा भने अहिलेसम्म जित्नेगरी माहोल देखिएको छैन। झापा ३ मा आफूले जित्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको दाबी छ। जहाँ पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन्। यो यसअघि एमालेको सहयोगमा उनले जित्दै आएको क्षेत्र हो। तर यसपटक एमालेले छुट्टै उम्मेदवारी दिँदा लिङ्देनलाई पनि कठिन बन्दै गएको छ। झापाका अरु क्षेत्रमा पनि कडा टक्कर दिने राप्रपाको दाबी छ। मोरङ ५ मा यसअघि स्वतन्त्र विजयी भएका योगेन्द्र मण्डल यसपटक राष्ट्रिय ऊर्जाशील पार्टीबाट उम्मेदवार छन्। उनको पनि त्यहाँ जित्ने सम्भावना छ। सुनसरी १ मा श्रम संस्कृति पार्टीले जित्ने दाबी गरेको छ। रास्वपा प्रदेश सभापति गोमा तामाङ प्रतिस्पर्धामा छिन्। यसअघि सुनसरी १ मा जनता समाजवादी पार्टीका अशोककुमार राई एमालेको सहयोगमा विजयी भएका थिए। धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्क साम्पाङ प्रतिस्पर्धामा आउँदा सुनसरी १ जित्ने सम्भावना बढी रहेको अन्य दलकै आकलन छ। श्रम संस्कृति पार्टीले भने भोजपुर र खोटाङमा पनि कडा टक्कर दिने दाबी छ। गएको निर्वाचनमा भन्दा यसपटक नयाँ दलको उदयले अवस्था बदलिँदो छ। गएको निर्वाचनमा कोसीमा प्रत्यक्षतर्फ पहिलो भएको एमालेले समानुपातिकमा पनि सबैभन्दा धेरै मत पाएको थियो। एमालेले ६ लाख ४२ हजार ३४ मत ल्याउँदा कांग्रेसले ५ लाख ५५ हजार २२७ मत पाएको थियो। रास्वपाले २ लाख १४ हजार ८१० मत र माओवादी केन्द्रले १ लाख ८८ हजार ६८२ मत पाएको थियो। राप्रपाले पनि कोसीबाट १ लाख ३० हजार ४०३ मत पाएको थियो। तर, त्यतिबेलै तेस्रो मत पाएको रास्वपाको प्रभाव तुलनात्मक रुपमा कोसीका पहाडी जिल्लामा विस्तार भइनसकेको देखिन्छ। जुन कुरा रास्वपा पनि स्वीकार गर्छ। राजनीतिक विश्लेषकको दृष्टिकोण भने फरक छ। गएको निर्वाचनमा झापा एमालेमय र मोरङ कांग्रेसमय थियो।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल