Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टिकटकर तुलसा काण्ड के हो ?

काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारी ठगी प्रकरणमा मुछिएकी छन् । ब्ल्याकमेलिङ गरेर करोडौँ ठगेको भन्दै जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको छ । सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले तुलसामाथि सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दिएका हुन् । साउन २४ गते परेको जाहेरीमाथिको अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ । पक्राउ पुर्जी जारी भएपछि तुलसा भागेर चीन पुगेको सातदोबाटो प्रहरीको भनाइ छ । प्रहरी स्रोतका अनुसार तुलसाले आफूलाई ब्ल्याकमेलिङ गरेर साढे ४ करोड रुपैयाँ र ठूलो परिमाणमा ज्वैलरीसमेत लिएको चिमोरियाले आरोप लगाएका छन् । आपसी सम्बन्ध बिग्रिएपछि जबरजस्ती करणीमा फसाइदिने भनेर धम्क्याउँदै पटक पटक पैसा र गरगहना लिएको अनुसन्धानबाट देखिन्छ, प्रहरी स्रोतले भन्यो । तुलसामाथि सम्पत्ति शुद्धीकरण विभागमा पनि उजुरी परेको थियो । विभागले उक्त उजुरी पनि सातदोबाटो प्रहरीलाई फरवार्ड गरेपछि यसमा पनि अनुसन्धान सुरु भएको छ । अनुसन्धानबाट तुलसासँग अवैध सम्पत्ति रहेको आधारहरू देखिएको प्रहरीको दाबी छ । स्रोतले भन्यो, हाम्रो अनुसन्धानमा उहाँले अस्वाभाविक सम्पत्ति आर्जन गरेको देखिन्छ । २० करोडभन्दा बढीको ट्रान्जेक्सन र एक करोडभन्दा बढी बैंक ब्यालेन्स पाइएको छ । उहाँको कुल सम्पत्तिको हिसाब १६–१७ करोड हुन आउँछ । तुलसामाथि ठगी र अनुचित लेनदेनसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा अदालत लैजाने तयारी प्रहरीले गरेको छ । अदालतमा मुद्दा दायर भएपश्चात् उनलाई इन्टरपोलमार्फत नेपाल झिकाउने प्रक्रिया प्रहरीले सुरु गर्ने छ । यता, तुलसाले भने चीनबाटै भिडिओहरू बनाएर आफूमाथि प्रहरीले बदनियत राखेको भन्दै न्यायको याचना गरेकी छन् । आफू नेपालमा छँदा प्रहरीले छलफलका लागि समेत नबोलाएको र चीन आएपछि मात्रै पक्राउ पुर्जीको बारेमा थाहा पाएको उनको दाबी छ । तुलसाले भनेकी छन्, म भदौ १९ गतेसम्म नेपालमै थिएँ । मलाई कुनै खोजखबर गरिएन । चीन आएपछि अन्य स्रोतबाट पक्राउ पुर्जी जारी भएको थाहा पाएँ । मेरो मान्छेहरू प्रहरीमा बुझ्न जाँदा उहाँहरूले जाहेरी नै देखाउन मान्नुभएन । पछि एक जना वकिल हायर गरेर मुद्दाको सामना गरिरहेको छु । तुलसाले अदालतमा मुद्दा दायर भएर छिटो किनारा लाग्ने अवस्था देखिएमा नेपाल फर्किन तयार रहेको बताएकी छन् । तर, प्रहरीले आफूलाई दुख दिने मात्रै नियत राखेको उनको गुनासो छ । आफ्नो सबै सम्पत्ति रोक्का गरिएको, तलासीका नाममा आफ्नो शोरुमबाट बहुमूल्य सामानहरू प्रहरीले जफत गरेर लगेको, आफू नजिकका मान्छेहरूलाई अनाहकमा दुःख दिइएको उनले बताएकी छन् । केही समयअघि छानबिन प्रयोजनका लागि कुमारीपाटीस्थित तुलसा कलेक्सनबाट सामानहरू बरामद गरेर लगिएको थियो । ती सामानहरू अहिले प्रहरीसँगै छन् । अदालतको आदेशअनुसार ती सामानको विषयमा निर्णय हुने प्रहरीको भनाइ छ । तुलसाले सातदोबाटो प्रहरी वृत्तकी प्रमुख डीएसपी पूर्णिमा चन्दलाई आरोपित गर्ने प्रयास गरेकी छन् । पूर्णिमाले आफ्नो पसलबाट विगतमा पटक–पटक गहनाहरू किनेर पैसा चुक्ता नगरेको उनको दाबी छ । आफूले पूरा पैसा नतिरीकन बिल दिन इन्कार गरेपश्चात् पूर्णिमा रुष्ट बनेको र अहिले आएर प्रतिशोध साँध्न खोजेको आरोप उनले लगाएकी छन् । यो मुद्दालाई नजिकबाट नियालेका प्रहरीका एक उच्च अधिकारीले भने यसलाई खण्डन गरे । तुलसासँग ३–४ वर्ष पहिले पूर्णिमाको सम्बन्ध रहेको र तीनपटक गरगहना खरिद गरेको भए पनि पैसा तिर्न बाँकी नरहेको ती अधिकारी बताउँछन् ।
‘पूर्णिमाले ३–४ वर्षअघि उहाँको पसलबाट सामानहरू अर्डर गर्ने र क्यूआरबाट भुक्तानी गर्ने गर्नुभएको देखिन्छ । अहिलेसम्म खरिद गर्नुभएको सामानको भुक्तानी भइसकेको छ । बिलमा अलिकति छुट माग्नु स्वाभाविकै हो, अन्यथा पैसा नतिर्ने नियत देखिएको छैन, उनले भने । पूर्णिमा करिब पाँच महिना अगाडि सातदोबाटो वृत्तमा सरुवा भएर आएकी हुन् । उनी आउँदा तुलसामाथि अनुसन्धान सुरु भइसकेको थियो । पूर्णिमाले अनुसन्धानलाई सही रूपमा निरन्तरता दिइरहेको दाबी प्रहरी स्रोतको छ । स्रोत भन्छ, तुलसाले टिकटकमा भिडिओहरू हालेर प्रहरीलाई बदनाम गर्ने प्रयास गरिरहनु भएको छ । यदि प्रहरीको काम(कारबाहीमा कुनै गुनासो भएमा विभिन्न निकायमा उजुरी दिन सक्नुहुन्थ्यो । तर, भिडिओ हालेर उहाँले पब्लिक सेन्टिमेन्ट बटुल्ने र प्रहरी अनुसन्धान प्रभावित पार्ने प्रयास गर्नुभएको छ । यसलाई हामीले गम्भीर रूपमा लिएका छौँ । तुलसा आफ्नो व्यवसायको सिलसिलामा चीन–नेपाल ओहोरदोहोर गरिराख्थिन् । आफू सुरुमा टुरिस्ट भिसामा चीन आएको र पछि त्यहाँ पनि व्यवसाय सुरु गरेको उनले बताएकी छन् । चीनमा २ लाख तिरेर कम्पनी दर्ता गरेको उनको भनाइ छ । एक छोरीकी आमा तुलसा हुन् । ललितपुरको भैंसेपाटीमा उनको घर छ । उनकी एक छोरी छन् । छोरीलाई अहिले आफूसँग चीनमा राखेर पढाइराखेकी छन् । नेपालमा आफूलाई बदनाम गर्न थालिएपछि छोरीलाई पनि चीन ल्याएर राख्नुपरेको उनको भनाइ छ । टिकटकमा विभिन्न विषयमा भिडिओहरू बनाएर तुलसा चर्चामा आएकी हुन् । सेलिब्रिटीका आपसी वादविवाद र सामाजिक इस्यूहरुमा उनी बोल्ने गर्छिन् । टिकटकमा उनका करिब तीन लाख फलोअर्स छन् ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल