Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तीन महिनादेखि नियन्त्रणबाहिर बर्ड फ्लु, जावलाखेल चिडियाखाना ‘हटस्पट’ बन्दै

काठमाडौं । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिएको बर्ड फ्लु नियन्त्रणबाहिर जान थालेपछि सरोकारवाला निकायहरू चिन्तित बनेका छन्। पछिल्लो पटक ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु पुष्टि भएपछि चिडियाखाना प्रमुखमाथि छानबिनसमेत सुरु गरिएको छ।

चिडियाखानामा बर्ड फ्लु पुष्टि, प्रमुखमाथि छानबिन

सदर चिडियाखानामा रहेका केही जीवजन्तुमा बर्ड फ्लुजस्तै लक्षण देखिएपछि असार २ गते नमुना परीक्षणका लागि पशु सेवा विभाग पठाइएको थियो। विभागले असार ३ गते बर्ड फ्लु पुष्टि गरे पनि चिडियाखाना तीन दिनपछि मात्रै बन्द गरिएको भन्दै विवाद उत्पन्न भएको हो।

बर्ड फ्लु संक्रमणको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई समयमै नदिएको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साहमाथि छानबिन थालिएको छ। कृषि, वन तथा वातावरण मन्त्री तथा कोषकी अध्यक्ष गीता चौधरीको निर्देशनमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

तीन महिनादेखि नियन्त्रणमा आउन सकेन संक्रमण

गत चैत ६ गते कोशी प्रदेशको मोरङमा पहिलोपटक पुष्टि भएको बर्ड फ्लु तीन महिनादेखि नियन्त्रणमा आउन सकेको छैन। हाल कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा संक्रमण फैलिएको छ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार काठमाडौं उपत्यका अहिले बर्ड फ्लुको ‘हटस्पट’ बनेको छ। संक्रमण नियन्त्रणका लागि हालसम्म पाँच लाखभन्दा बढी कुखुरा, १० लाख ५० हजार अण्डा तथा दुई लाख ५० हजार किलोभन्दा बढी दाना नष्ट गरिएको छ।

के हो बर्ड फ्लु ?

विश्व पशु स्वास्थ्य संगठन (ओआईई) का अनुसार इन्फ्लुएन्जा ‘ए’ समूहअन्तर्गत पर्ने भाइरसबाट चराचुरुङ्गीमा फैलिने संक्रामक रोगलाई बर्ड फ्लु भनिन्छ। विशेषगरी ‘एचफाइभ एनवान (H5N1)’ भाइरसले चराहरूमा संक्रमण फैलाउने गर्छ।

जंगली चराचुरुङ्गी, विशेषगरी सीमसार क्षेत्रमा बस्ने पन्छीहरूलाई यो भाइरसको मुख्य स्रोत मानिन्छ। चराको बिस्टा, र्‍याल, प्वाँख, मासु, अण्डा, दाना तथा संक्रमित सामग्रीको सम्पर्कबाट संक्रमण फैलिन सक्छ।

मानिसमा पनि जोखिम

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार बर्ड फ्लुले मुख्य रूपमा श्वासप्रश्वास प्रणालीमा असर गर्छ। उनले जनावर र मानिसमा समेत संक्रमण देखिनु चिन्ताजनक विषय भएको बताए।

विशेषज्ञहरूका अनुसार मानिसमा संक्रमण भए मृत्युको जोखिम ५० प्रतिशतसम्म हुन सक्छ। नेपालमा सन् २०१९ मा बर्ड फ्लुका कारण एक व्यक्तिको मृत्यु पुष्टि भएको थियो।

खोप र उपचार छैन

पशु सेवा विभागका अनुसार हालसम्म बर्ड फ्लुको प्रभावकारी खोप वा उपचार उपलब्ध छैन। संक्रमण देखिएपछि संक्रमित कुखुरा तथा पन्छी नष्ट गरेर भाइरस फैलिन नदिनु नै प्रमुख नियन्त्रण उपाय हो।

विज्ञहरूले किसानलाई जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न, फार्ममा सरसफाइ कायम गर्न तथा कुखुरा वा चरामा शंकास्पद लक्षण देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेका छन्।