Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । करिब सात वर्षअघि निर्माण सुरु गरिएको नेपालको पहिलो सुरुङमार्ग नागढुङ्गा सुरुङमार्ग सञ्चालनका लागि तयार भएको छ। जापानी प्रविधिमा निर्माण भएको यो बहुप्रतीक्षित आयोजना सोमबार औपचारिक रूपमा उद्घाटन गरिने भएको छ।
उद्घाटनपछि प्रारम्भिक चरणमा भने एम्बुलेन्ससहित आपत्कालीन सेवाका सवारी साधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइनेछ। नियमित सवारी सञ्चालनबारे सम्बन्धित निकायले पछि निर्णय गर्ने जनाइएको छ।
कुल ५.६७ किलोमिटर लामो सडकमार्गअन्तर्गत २ हजार ६८८ मिटर लामो मुख्य सुरुङ निर्माण गरिएको छ, जसले गुर्जुधारा फ्लाइओभरलाई सिस्नेखोलासँग जोड्छ। सुरुङमार्ग सञ्चालनमा आएपछि धादिङको नौबिसेदेखि काठमाडौं प्रवेश गर्ने दूरी करिब चार किलोमिटरले छोटिनेछ। साथै, नागढुङ्गा सडकखण्डमा हुने लामो ट्राफिक जाम, धुलो, पहिरो तथा दुर्घटनाको जोखिमसमेत उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ।
नागढुङ्गा टनेल अपरेसन एन्ड मेन्टिनेन्सकी प्रवक्ता जिज्ञासा अधिकारीका अनुसार सुरुङमार्ग निर्माणमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार उच्चस्तरीय सुरक्षा प्रणाली जडान गरिएको छ। सुरुङमार्गमा कार, जिप, माइक्रोबस, मिनिबस, ट्रक तथा ४.७५ मिटरभन्दा कम उचाइका सवारी साधनलाई मात्र प्रवेश दिइनेछ। तर, डिजेल, पेट्रोल र ग्यास बुलेट बोकेका ट्यांकर तथा पशुपक्षी ओसारपसार गर्ने सवारी साधनलाई प्रवेश निषेध गरिएको छ।
आयोजनाअन्तर्गत मुख्य सुरुङसँगै २ हजार ६८८ मिटर लामो छुट्टै उद्धार (इभ्याकुएसन) सुरुङ पनि निर्माण गरिएको छ। मुख्य सुरुङमा आगलागी, दुर्घटना वा अन्य आपत्कालीन अवस्था आएमा यात्रु र चालकलाई सुरक्षित रूपमा बाहिर निकाल्न मुख्य सुरुङ र उद्धार मार्ग जोड्ने सात वटा आपत्कालीन निकास ढोका निर्माण गरिएका छन्। यी ढोका हरेक ३७५ मिटरको दूरीमा राखिएका छन्।
सुरुङमार्गमा आगलागी नियन्त्रणका लागि ५५ वटा फायर हाइड्रेन्ट, ६६ वटा फायर डिटेक्टर तथा प्रत्येक ५० मिटरको दूरीमा आगो नियन्त्रण प्रणाली जडान गरिएको छ। आगलागी भएमा डिटेक्टरले स्वतः ट्राफिक नियन्त्रण कक्षमा सूचना पठाउने र अलार्म बज्ने व्यवस्था गरिएको छ। धुवाँ वा प्रदूषणको मात्रा बढेमा जेट फ्यान स्वतः सञ्चालन भएर सुरुङभित्रको वातावरण सुरक्षित राख्ने प्रणालीसमेत जडान गरिएको छ।
भूकम्पीय जोखिमलाई ध्यानमा राख्दै सुरुङभित्र विशेष प्रविधिका लचिलो ड्रेनेज पाइप प्रयोग गरिएको छ। दबाबका कारण पाइप खुम्चिए पनि पुनः आफ्नै अवस्थामा फर्किने प्रविधि अपनाइएको प्रवक्ता अधिकारीले जानकारी दिइन्।
सुरुङमार्ग प्रयोग गर्नुअघि चालकले टोल प्लाजामा अनिवार्य रूपमा शुल्क तिर्नुपर्नेछ। शुल्क संकलनका लागि इलेक्ट्रोनिक टोल कलेक्सन (ईटीसी) र रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) प्रणाली जडान गरिएको छ। यस प्रणालीले सवारी साधनको प्रकार स्वतः पहिचान गरी सोहीअनुसार शुल्क निर्धारण गर्नेछ।
टोल प्लाजा पार गरेपछि सुरुङमार्गमा प्रवेश गर्दा सवारी चालकले अनिवार्य रूपमा हेडलाइट बाल्नुपर्ने व्यवस्था गरिएको छ। सुरुङभित्रको प्रकाश बाहिरको उज्यालोअनुसार स्वतः समायोजन हुने भएकाले चालकले प्रकाशको अचानक परिवर्तन महसुस गर्नुपर्ने अवस्था रहने छैन। विद्युत् आपूर्ति अवरुद्ध भए पनि आकस्मिक बत्ती तत्काल सञ्चालनमा रहने र केही समयमै जेनेरेटरमार्फत विद्युत् आपूर्ति पुनः सुरु हुने व्यवस्था मिलाइएको छ।
यसअघि नागढुङ्गादेखि सिस्नेखोला पुग्न ट्राफिक जाम नभएको अवस्थामा पनि करिब ४५ मिनेट लाग्ने गरेको थियो। सुरुङमार्ग सञ्चालनमा आएपछि गुर्जुधारा फ्लाइओभर हुँदै सिस्नेखोला पुग्न करिब २० मिनेट मात्र लाग्ने जनाइएको छ।
नागढुङ्गा सुरुङमार्ग सञ्चालनसँगै राजधानी काठमाडौं भित्रिने तथा बाहिरिने यात्रुका लागि यात्रा थप सुरक्षित, सहज र समय बचत हुने अपेक्षा गरिएको छ।
२०८३ श्रावण ११
ताजा नेपाल
२०८३ श्रावण ११
ताजा नेपाल
२०८३ श्रावण ११
ताजा नेपाल