Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेसमा संस्थापन र इतर पक्ष आ–आफ्नै बाटोमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन सहमतिमार्फत एउटै हुने सम्भावना कमजोर बन्दै गएको छ। पार्टीको संस्थापन र इतर पक्ष आ–आफ्नै महाधिवेशन प्रक्रियामा अघि बढेपछि कुनै अप्रत्याशित राजनीतिक सहमति नभए कांग्रेसको १५औँ महाधिवेशन दुई ठाउँबाट हुने अवस्था देखिएको छ।

गत पुसमा विशेष महाधिवेशनमार्फत गगन थापा नेतृत्वमा आएको संस्थापन पक्षले आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने तयारी तीव्र बनाएको छ। महाधिवेशनका लागि संस्थापन पक्षले असोज १६ देखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हल, बगैँचा तथा पार्किङ क्षेत्रसमेत बुक गरिसकेको छ।

संस्थापन पक्षले वडा, पालिका तथा प्रदेशसभा–प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गरेर सिधै केन्द्रीय महाधिवेशनमा जाने गरी कार्यतालिका संशोधन गरेको छ। जिल्ला र प्रदेश अधिवेशन भने महाधिवेशनपछि गर्ने तयारी गरिएको छ। निर्वाचन समितिले बिहीबार सातै प्रदेशमा अधिवेशनका लागि निर्वाचन संयोजकसमेत खटाइसकेको छ।

यता संस्थापन इतर पक्षले भने फरक कार्यतालिकासहित महाधिवेशनको तयारी अघि बढाएको छ। इतर पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरेर मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ। उसले केन्द्रदेखि वडासम्म महाधिवेशन तयारी समिति गठन गर्ने गरी संगठनात्मक तयारीसमेत अगाडि बढाएको छ।

देउवा पक्ष अन्तिम फैसलाको पर्खाइमा

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले दुईवटा महाधिवेशन हुने अवस्था बनिसकेको दाबी गरेका छन्। उनका अनुसार संस्थापन पक्षले असोजको सुरुवातबाट प्रक्रिया अघि बढाउने तयारी गरे पनि देउवा पक्षले असोज १५ गतेदेखि आफ्नो महाधिवेशन प्रक्रिया सुरु गर्नेछ।

देउवा पक्ष सर्वोच्च अदालतको अन्तिम फैसलापछि मात्रै पार्टीको आगामी बाटो तय हुने पक्षमा देखिएको छ। गत साउन २१ गते सर्वोच्च अदालतले वैशाख ४ गतेको फैसला पुनरावलोकनका लागि निस्सा प्रदान गरेपछि देउवा पक्ष सहमतिभन्दा अदालतको अन्तिम निर्णय पर्खिने रणनीतिमा पुगेको हो।

गगन थापा नेतृत्वको कार्यसमितिलाई कानुनी वैधता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतको संयुक्त इजलासले सदर गरेको फैसला पुनरावलोकन प्रक्रियामा गएपछि देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी थालेको हो।

यसबीच गगन थापाले देउवासँग भेटवार्ताका लागि समय मागे पनि भेट हुन सकेको छैन। भदौ १ गते थापाले भेटका लागि समय मागेको र पछि देउवा सचिवालयबाट समेत सम्पर्क भएको बताइएको छ। तर दुवै पक्षबीच औपचारिक छलफल अघि बढ्न सकेको छैन।

भानु देउवाका अनुसार थापाले यसअघि एकपटक फोन गरेर भेटको समय मागेका थिए। आफूले पनि भदौ २२ गतेका लागि समय मिलाउन खोजे पनि थापा काठमाडौं बाहिर रहेको जानकारी आएको उनले बताएका छन्। तर अहिलेसम्म पुनः सम्पर्क नभएको उनको भनाइ छ।

सोमबार शेखर कोइराला देउवालाई भेट्न चुनदेवी पुगेका थिए। भेटका क्रममा देउवाले पनि सर्वोच्च अदालतको फैसला पर्खिन उपयुक्त हुने धारणा राखेको बताइएको छ। देउवाले अहिलेको अवस्थामा छुट्टाछुट्टै महाधिवेशन गरेर अघि बढ्नुपर्नेमा जोड दिएको स्रोतहरूको भनाइ छ।

सहमतिको सम्भावना किन कमजोर भयो ?

सर्वोच्च अदालतबाट पुनरावलोकनको निस्सा प्राप्त हुनुअघि कांग्रेसभित्र सहमतिको प्रयास केही अघि बढेको थियो। इतर पक्षले राखेका कतिपय मागमा संस्थापन पक्षसमेत सकारात्मक देखिएको थियो। तर इतर पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नै निरन्तरता दिनुपर्ने अडान लिएपछि सहमतिको सम्भावना थप कमजोर बनेको हो।

यही पृष्ठभूमिमा अब कांग्रेसभित्र सबैभन्दा ठूलो प्रश्न शेखर कोइराला र पूर्णबहादुर खड्का कुन पक्षमा उभिन्छन् ? भन्ने बनेको छ।

शेखर र पूर्णबहादुर कता ?

दुई पक्षबीच छुट्टाछुट्टै महाधिवेशन हुने अवस्था आएमा यसअघि सहमतिको मध्यस्थकर्ताको भूमिकामा देखिएका शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको भूमिका निर्णायक हुन सक्ने कांग्रेस नेताहरूको आकलन छ।

संस्थापन पक्षले शेखर र पूर्णबहादुरलाई आफ्नो पक्षमा उभ्याउने प्रयास गरिरहेको छ। पछिल्लो समय सभापति गगन थापाले उनीहरूसँग औपचारिक तथा अनौपचारिक संवाद बढाएका छन्। यता देउवा पक्षले भने शेखर र पूर्णबहादुर आफूहरूसँग रहेको दाबी गरिरहेको छ।

देउवा पक्षका नेता मीन विश्वकर्माका अनुसार राष्ट्रिय भेला तथा महाधिवेशनको तयारीलगायतका विषयमा शेखर र पूर्णबहादुरसँग निरन्तर छलफल भइरहेको छ। यसैबीच शेखरले बुधबार आफ्ना निकट नेताहरूसँग विशालनगरस्थित सम्पर्क कार्यालयमा छलफल गरेका छन्।

शेखरनिकट नेता सञ्जय गौतमका अनुसार शेखरले तत्काल कुनै पक्षमा जाने निर्णय गरिसकेका छैनन्। उनका अनुसार असोज ३ गतेसम्म सहमतिको प्रयास गर्ने र सहमति नजुटे त्यसपछि आफ्नो राजनीतिक धार तय गर्ने शेखरको तयारी छ।

गौतमका अनुसार विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरू एकै ठाउँमा रहने सम्भावना बलियो छ। शेखर र शशांक कोइराला एउटै कित्तामा रहने विषयमा पनि आफूहरू स्पष्ट रहेको उनले बताएका छन्।

शेखर पक्षले देउवाबिनाको कांग्रेस एकताको अर्थ नहुने निष्कर्ष निकालेको उनको भनाइ छ। मुलुकको राजनीतिक परिस्थिति र पार्टीको बृहत्तर एकताका लागि सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने शेखरको धारणा रहेको बताइएको छ।

बुधबारको छलफलमा निवर्तमान उपसभापति धनराज गुरुङ, निवर्तमान सहमहामन्त्री बद्री पाण्डे, नेता बलबहादुर केसी, मिनेन्द्र रिजाललगायतका नेताहरूले शेखरको साथ नछाड्ने प्रतिबद्धता जनाएको बताइएको छ।

शशांक देउवा पक्षको तयारी समितिमा

पूर्वमहामन्त्री शशांक कोइराला देउवा पक्षको महाधिवेशन तयारी समितिको संयोजक बनेपछि शेखर पनि देउवा पक्षमै उभिन सक्ने सम्भावना रहेको उनीनिकट नेताहरू बताउँछन्।

विशेष महाधिवेशनमा सहभागी नभएका आफूहरूलाई अहिलेको परिस्थितिमा विशेष महाधिवेशन पक्षधरहरूसँग उभिन कठिन हुने उनीहरूको तर्क छ। १५औँ महाधिवेशनमा निर्वाचित नेतृत्वलाई विशेष महाधिवेशनका कारण बाहिर पारिएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

यता निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का भने दुवै पक्षका छुट्टाछुट्टै महाधिवेशनमा सहभागी नहुने सम्भावना देखिएको छ। उनीनिकट नेताहरूले खड्का पार्टीको सम्पूर्ण एकताको पक्षमा रहेको र विभाजित महाधिवेशनमा सहभागी हुन नचाहेको बताएका छन्।

निवर्तमान केन्द्रीय सदस्य रामहरि खतिवडाले भने आफू संस्थापन पक्षले अघि बढाउने महाधिवेशन प्रक्रियामा सहभागी हुने स्पष्ट पारेका छन्। उनले आफू कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा भएको ठाउँमा रहने बताएका छन्।

तर खड्काले अहिलेसम्म कुनै पक्षमा जाने औपचारिक निर्णय नगरेको उनीनिकट नेताहरूको भनाइ छ। निवर्तमान केन्द्रीय सदस्य श्याम घिमिरेका अनुसार सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गगन थापा पक्षले गर्ने महाधिवेशनमा सहभागी हुन नैतिक समस्या हुने खड्काको धारणा छ।

यसरी कांग्रेसभित्र संस्थापन र इतर पक्ष आ–आफ्नै महाधिवेशनको तयारीमा अघि बढिसकेका छन्। सर्वोच्च अदालतको फैसला, असोज ३ सम्म हुने भनिएको सहमतिको प्रयास र शेखर कोइराला तथा पूर्णबहादुर खड्काको अन्तिम राजनीतिक निर्णयले कांग्रेसको १५औँ महाधिवेशन एउटै हुन्छ कि दुईवटा भन्ने टुंगो लगाउने देखिएको छ।