Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गगनको राजनीतिक प्रतिवेदन : ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को खाका

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोणसहित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन्।

प्रतिवेदनमार्फत थापाले कांग्रेसको आगामी वैचारिक, राजनीतिक तथा संगठनात्मक दिशा निर्धारणसँगै देशको समग्र विकासका लागि पार्टीले लिनुपर्ने राष्ट्रिय कार्यदिशा अघि सार्ने तयारी गरेका छन्।

प्रतिवेदनमा कांग्रेसको ऐतिहासिक यात्रा, राजनीतिक संघर्षबाट प्राप्त उपलब्धि र अझै पूरा हुन बाँकी दायित्वको समीक्षा गरिएको छ। विगतका अनुभवबाट पाठ सिक्दै १५औँ महाधिवेशनले आगामी चार वर्षको नेतृत्व र त्यसपछिको राजनीतिक यात्राका लागि स्पष्ट जिम्मेवारी तय गर्नुपर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ।

थापाले कांग्रेसमा देखिएको सत्ता–केन्द्रित राजनीति, संगठनात्मक कमजोरी र युवा पुस्तासँग बढेको दूरीलाई आत्मसमीक्षाको विषय बनाएका छन्। निर्वाचनमा भएको पराजय तथा पछिल्ला दुई दशकको राजनीतिक अभ्यासको समीक्षा गर्दै राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि र जनतासमक्ष गरिएका प्रतिबद्धताबीचको अन्तर पहिचान गर्नुपर्ने आवश्यकता प्रतिवेदनमा औँल्याइएको छ।

भदौमा भएको जनउभारदेखि १५औँ महाधिवेशनसम्मका राजनीतिक घटनाक्रमलाई समेत प्रतिवेदनमा विश्लेषण गरिएको छ। बदलिँदो सामाजिक मनोविज्ञान, पुस्ताबीचको दूरी, अर्थतन्त्रको अवस्था, बसाइँसराइ र विश्वव्यापी परिवर्तनलाई नेपालको वर्तमान चुनौतीका रूपमा प्रस्तुत गरिएको छ।

प्रतिवेदनले लोकतन्त्रप्रतिको असन्तुष्टि विस्तारै लोकतन्त्रकै अस्वीकारमा परिणत हुन सक्ने जोखिमतर्फ पनि ध्यानाकर्षण गराएको छ। लोकरिझ्याइँले वास्तविक जनअसन्तोषलाई गलत राजनीतिक निष्कर्षतर्फ लैजान सक्ने भन्दै कांग्रेसले लोकतन्त्रको पक्षमा आफ्नो ऐतिहासिक तथा समकालीन भूमिका स्पष्ट रूपमा निर्वाह गर्नुपर्ने थापाको धारणा छ।

जिम्मेवार प्रतिपक्षदेखि राष्ट्रिय शक्तिसम्म

थापाले कांग्रेसलाई निर्वाचनका बेला मात्र सक्रिय हुने दल नभई निर्वाचनबीच पनि समाजमा निरन्तर उपस्थित रहने राष्ट्रिय शक्तिका रूपमा विकास गर्नुपर्ने प्रस्ताव गरेका छन्।

जिम्मेवार र स्पष्ट प्रतिपक्षको भूमिका निर्वाहसँगै नागरिकका गुनासा सुन्ने, तथ्यमा आधारित निष्कर्ष निकाल्ने र समाधान प्रस्तुत गर्ने राजनीतिक पद्धति विकास गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

कांग्रेसको भूमिका प्रतिपक्षमा सीमित नभई लोकतान्त्रिक सन्तुलनको आधार र राष्ट्रिय शक्तिका रूपमा स्थापित हुनुपर्नेमा जोड दिइएको छ। सामाजिक आन्दोलन, पार्टी संगठन र लोकतान्त्रिक मध्यस्थताबीचको सम्बन्ध बलियो बनाउने तथा सार्वजनिक विश्वास पुनर्निर्माण गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ।

राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादको पुनर्व्याख्या

प्रतिवेदनमा कांग्रेसको वैचारिक आधारलाई २१औँ शताब्दीको बदलिँदो परिवेशअनुकूल पुनर्व्याख्या गर्ने प्रयास गरिएको छ।

राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई कांग्रेसका स्थायी राजनीतिक आदर्शका रूपमा प्रस्तुत गर्दै तिनलाई समुन्नत नेपालको लक्ष्यसँग जोडिएको छ। राष्ट्रियतालाई राष्ट्रिय स्वाधीनता र जनताको सामूहिक स्वशासनसँग, लोकतन्त्रलाई सार्वजनिक शक्तिमाथि नागरिकको स्वामित्वसँग तथा लोकतान्त्रिक समाजवादलाई राजनीतिक स्वतन्त्रतासँगै सामाजिक–आर्थिक स्वतन्त्रतासँग जोडेर व्याख्या गरिएको छ।

यी आदर्शलाई स्वतन्त्र राष्ट्र, सार्वभौम नागरिक र न्यायपूर्ण समाज निर्माणको आधारका रूपमा प्रस्तुत गर्दै राष्ट्रिय मेलमिलापलाई असहमतिबीच साझा राष्ट्रिय समुदाय निर्माण गर्ने माध्यमका रूपमा अघि सारिएको छ।

‘समुन्नत नेपाल’को अवधारणा

प्रतिवेदनको अर्को प्रमुख विषय ‘समुन्नत नेपाल’को अवधारणा हो। थापाले समुन्नतिलाई आर्थिक वृद्धिमा मात्र सीमित नगरी नागरिकको सामथ्र्य, अवसर, सहनिर्माण र राज्यको जवाफदेहितासँग जोड्न खोजेका छन्।

राज्य, नागरिक र संस्थाबीचको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्ने अवधारणाका रूपमा ‘सिटिजनसिप अपरेटिङ सिस्टम’लाई अघि सारिएको छ।

यसले नागरिकलाई राज्यका सेवाका प्राप्तकर्ता मात्र नभई नीति निर्माण र सार्वजनिक शासन प्रक्रियाका सक्रिय साझेदारका रूपमा स्थापित गर्ने दृष्टिकोण प्रस्तुत गर्छ।

‘कस्तो कांग्रेस ?’ भन्ने प्रश्नको जवाफ

प्रतिवेदनले आगामी कांग्रेसलाई ‘विचारमा स्पष्ट, संगठनमा जीवन्त र जनताप्रति जवाफदेही’ बनाउने खाका अघि सारेको छ।

यसका लागि सदस्यता प्रणाली सुधार, नागरिक सहभागिता विस्तार, पार्टीभित्र स्वामित्वको भावना विकास, तहगत समन्वय र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने प्रस्ताव गरिएको छ।

अर्थपूर्ण समावेशिता, पाँच पुस्ताबीचको सहकार्य, सामाजिक आन्दोलनसँगको सम्बन्ध तथा विचार र नेतृत्व निर्माणको केन्द्रका रूपमा कांग्रेसलाई विकास गर्ने विषय पनि प्रतिवेदनमा समेटिएका छन्।

त्यस्तै, जनप्रतिनिधिका लागि उच्च नैतिक मापदण्ड, स्पष्ट कार्यप्रतिबद्धता, पार्टीको स्वच्छ वित्तीय आधार र सार्वजनिक लेखापरीक्षणलाई संगठनात्मक सुधारको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिएको छ।

थापाले आगामी चार वर्षको नेतृत्वकाललाई स्पष्ट कार्यभार र कार्यान्वयनसँग जोड्दै त्यसपछिको दशकमा निरन्तर सुधारमार्फत परिणाम हासिल गर्ने राजनीतिक योजना अघि सारेका छन्।

प्रतिवेदनको मूल सन्देश नागरिकका आकांक्षा पूरा गर्ने, लोकतन्त्रका उपलब्धिलाई जनजीवनसँग जोड्ने र कांग्रेसले आफ्ना मूल राजनीतिक मूल्यप्रति अडान कायम राख्ने रहेको छ।

१५औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत हुने यो प्रतिवेदनले कांग्रेसको विगतको आत्मसमीक्षादेखि आगामी दशकको राष्ट्रिय पुनर्जागरण, समुन्नत नेपाल निर्माण तथा पार्टीको वैचारिक र संगठनात्मक रूपान्तरणसम्मको खाका अघि सार्ने भएको छ।