Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मध्य अमेरिकी देश पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। शुक्रबार स्थानीय समयअनुसार दिउँसो ३ बजे पितालोसा अरिबा क्षेत्रनजिक केन्द्रबिन्दु बनाएर गएको भूकम्पपछि ६.६ म्याग्निच्युडको अर्को धक्का पनि महसुस गरिएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ।
भूकम्पका कारण विभिन्न क्षेत्रमा भवन तथा ऐतिहासिक संरचनामा क्षति पुगेको छ। लोस सान्तोस प्रान्तमा रहेको ऐतिहासिक सान अतानासियो चर्च पूर्ण रूपमा भत्किएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। सन् १९३८ मा राष्ट्रिय ऐतिहासिक सम्पदा घोषित उक्त चर्च भूकम्पबाट प्रभावित प्रमुख संरचनामध्ये एक हो।
राष्ट्रिय नागरिक सुरक्षा सेवाका अधिकारीहरूका अनुसार भेराग्वास, हेरेरा र लोस सान्तोस प्रान्तमा बढी क्षति पुगेको छ। राजधानी पानामा सिटीमा मानिसहरू घर तथा कार्यालयबाट बाहिर निस्केर खुला ठाउँमा जम्मा भएका थिए। पेनोनोमे सहरमा आंशिक रूपमा भत्किएको संरचनाको भग्नावशेष लागेर एक जना घाइते भएका छन्। विभिन्न सडकमा चिरा परेको र अन्य भवनमा क्षति पुगेको विवरण पनि सार्वजनिक भएको छ।
पनामाका राष्ट्रपति होसे राउल मुलिनोले शुक्रबार साँझसम्म मानवीय क्षतिबारे आधिकारिक विवरण प्राप्त नभएको बताएका थिए। यद्यपि, आगामी घण्टा वा दिनमा क्षतिको विवरण परिवर्तन हुन सक्ने उनले बताएका छन्। भूकम्पपछि पानामा विश्वविद्यालयका भूकम्पविद्हरूले ४५ भन्दा बढी परकम्प अभिलेख गरेका छन्।
भूकम्पको धक्का छिमेकी देश कोलम्बियासम्म महसुस गरिएको थियो। सम्भावित सुनामीको जोखिमलाई ध्यानमा राख्दै पनामा, कोलम्बिया, इक्वेडर, निकारागुवा र ग्वाटेमालाका तटीय क्षेत्रमा जारी चेतावनी पछि हटाइएको छ। एल साल्भाडोर र चिलीले इस्टर आइल्यान्डका लागि जारी गरेका चेतावनी पनि हटाएका छन्।
भूकम्पपछि पानामाको तोकुमेन अन्तर्राष्ट्रिय विमानस्थलले केही समय उडान रोके पनि शुक्रबार दिउँसोदेखि पुनः सञ्चालनमा आएको जनाएको छ। विश्व व्यापारका लागि महत्त्वपूर्ण पानामा नहरको सञ्चालन भने सामान्य रहेको नहर प्राधिकरणले बताएको छ। सम्भावित क्षति पत्ता लगाउन संरचनाहरूको प्राविधिक निरीक्षण भइरहेको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनामाको अवस्थालाई नजिकबाट नियालिरहेको र त्यहाँको सरकारको अनुरोधमा सहयोगका लागि स्रोतसाधन तथा कर्मचारी परिचालन भइरहेको बताएका छन्। कोलम्बिया, चिली, उरुग्वे, ग्वाटेमाला, कोस्टारिका, इक्वेडर र पेरुले पनि सहयोगको प्रस्ताव गरेका छन्।
प्रशान्त महासागर वरिपरि फैलिएको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने पनामा भूकम्पीय जोखिमयुक्त देश हो। कोकोस, नाज्का र क्यारिबियन टेक्टोनिक प्लेटको अन्तरक्रियाका कारण विशेषगरी प्रशान्त तटीय क्षेत्रमा भूकम्प जाने गर्छ।
२०८३ आश्विन २४
ताजा नेपाल
२०८३ आश्विन २४
ताजा नेपाल
२०८३ आश्विन २४
ताजा नेपाल