Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१० दिने चीन भ्रमणमा रास्वपाका सांसद

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय सांसद टोली चीन भ्रमणमा जाने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका सांसदहरू कात्तिक २९ गते चीन प्रस्थान गर्ने तयारीमा छन् ।

पार्टीका नेताहरूका अनुसार टोलीले चीनका विभिन्न सहरको १० दिनसम्म स्थलगत अवलोकन गर्नेछ । भ्रमणका क्रममा केही कार्यक्रममा समेत सहभागी हुने तयारी छ । यद्यपि, भ्रमणमा जाने सबै सांसदको नाम भने टुंगो लागिसकेको छैन ।

हालसम्म महामन्त्री आचार्यसहित सांसदहरू लिमा अधिकारी, समीक्षा बास्तोला, हरि ढकाल र सागर ढकालको नाम निश्चित भएको बताइएको छ । आचार्यले भ्रमणमा सहभागी हुन इच्छुक सांसदहरूको सूची तयार गरिरहेका छन् ।

उनले रास्वपाका सांसदहरू रहेको ह्वाट्सएप समूहमा चीन भ्रमणमा जान इच्छुक सांसदलाई नाम टिपाउन आग्रह गरेका छन् ।

‘चीन भ्रमणमा जान चाहने इच्छुक साथीहरूले नाम टिपाउनुहोला,’ एक सांसदले आचार्यको सन्देश उद्धृत गर्दै भने ।

भ्रमण टोलीमा रास्वपाका सांसदहरू मात्रै सहभागी हुनेछन् । पार्टीका एक सांसदका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा १८ देखि २० जनाको टोली १० दिने भ्रमणमा जान लागेको हो ।

भ्रमणमा सहभागी हुन चाहने सांसदको संख्या भने बढिरहेको छ । अर्का एक सांसदका अनुसार भ्रमणमा जान इच्छुक सांसदको संख्या ३० भन्दा बढी पुगिसकेको छ । टोलीमा कसलाई समावेश गर्ने भन्ने निर्णय महामन्त्री आचार्यले गर्नेछन् । भ्रमणमा जाने सबैको नाम प्रस्थान गर्नुभन्दा करिब तीन दिनअघि मात्रै अन्तिम रूप दिइने ती सांसदले बताए ।

रास्वपाको टोली यसअघि पनि चिनियाँ कम्युनिस्ट पार्टीकै निमन्त्रणामा चीन भ्रमणमा गएको थियो । २०८१ असोज ५ गते तत्कालीन उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा सात सांसद र सात गैरसांसदसहित १४ सदस्यीय टोली चीन गएको थियो ।

तर, भ्रमण बीचमै छोट्याएर उक्त टोली असोज १० गते नेपाल फर्किएको थियो । पार्टी सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा प्रहरीले पक्राउ गर्न लागेको खबरपछि टोलीलाई भ्रमण छोट्याएर फर्काइएको थियो ।

यसपटकको भ्रमणबारे रास्वपाका प्रवक्तासमेत रहेका सांसद जगदीश खरेलले चीन भ्रमणको निमन्त्रणा आएको पुष्टि गरे पनि जाने टोलीको अन्तिम टुंगो नलागेको बताएका छन् ।

पार्टीका एक पदाधिकारीका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणापछि महामन्त्री आचार्यले टोलीको नेतृत्व गर्न लागेका हुन् । तर, भ्रमणको विस्तृत कार्यतालिका र कार्यक्रमबारे अझै स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन ।

भ्रमणका क्रममा महामन्त्री आचार्यले गर्ने राजनीतिक भेटवार्ताबारे पनि केही खुलाइएको छैन । यसअघि भदौको पहिलो साता रास्वपा सभापति रवि लामिछाने चीन भ्रमणमा जाने तयारी भए पनि उक्त भ्रमण रोकिएको थियो ।

यसपटकको भ्रमणलाई रास्वपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्पर्क तथा अन्तरपार्टी संवादका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ । यद्यपि, भ्रमणको औपचारिक कार्यसूची सार्वजनिक भएपछि मात्रै यसको उद्देश्य र उपलब्धिबारे थप स्पष्ट हुनेछ ।