Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सामाजिक सञ्जालमा आलोचना खेपिरहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले खसी ढुवानीसम्बन्धी भिडियो विवादमा सार्वजनिक स्पष्टीकरण दिएकी छन् । आफूले चर्चा कमाउन वा व्यक्तिगत लाभ लिन नभई पशुमाथि हुने क्रूरता रोक्न र आवाजविहीनको आवाज बन्न खोजेको उनको भनाइ छ ।
दसैँका बेला तामाङले गाडीको छतमा डोरीले बाँधेर राखिएको खसीलाई ओराल्न लगाएको भिडियो सार्वजनिक भएको थियो । छतमा बाँधेर खसीलाई यातनापूर्वक ढुवानी गरिएको देखेपछि आफूले हस्तक्षेप गरेको उनले बताएकी छन् । तर, उक्त भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा उनीमाथि नै आलोचना भएको थियो । केहीले भिडियो बनाएर सामाजिक सञ्जालबाट आम्दानी गर्न खोजेको भन्दै स्टन्ट गरेको आरोप लगाएका थिए ।
तामाङले आज भिडियो सन्देश जारी गर्दै आफूले कुनै व्यक्तिगत लाभका लागि उक्त काम नगरेको स्पष्ट पारेकी हुन् । उनले आफ्नो फेसबुकको मोनिटाइजेसन सुविधा धेरै पहिलेदेखि बन्द रहेको दाबी गर्दै आफूले सधैँ अन्याय र बेथितिविरुद्ध आवाज उठाउँदै आएको बताएकी छन् ।
‘तपाईंहरू मासु खानुस्, तर मापदण्डमा बसेर खानुस् । जाडोमा छतमा हालेर वा डिकीभित्र कोचेर यातना नदिनुस्,’ उनले भनेकी छन् ।
कुनै पनि ठाउँमा गलत काम भइरहेको देखेपछि आफू चुप लागेर बस्न नसक्ने तामाङको भनाइ छ । आफूले कसैको धर्म र संस्कारमाथि हस्तक्षेप गर्न नखोजेको स्पष्ट पार्दै उनले पशुमाथि हुने क्रूरता रोक्न आवाज उठाएको बताएकी छन् ।
सांसद तामाङले आफू कानुन निर्माण गर्ने ठाउँमा रहेको उल्लेख गर्दै ‘पशु कल्याण ऐन, २०७९’ लाई अघि बढाउन सक्रिय रहेको बताएकी छन् । पशु ढुवानीका क्रममा क्रूर र निर्दयी व्यवहार गर्नेहरूलाई कानुनी दायरामा ल्याएर कडा जरिवानाको व्यवस्था गर्नुपर्ने उनको माग छ ।
उनले बलि प्रथालाई क्रमशः निरुत्साहित गर्नुपर्ने धारणा राख्दै पशु ढुवानी र खरिद प्रक्रियालाई वैज्ञानिक तथा व्यवस्थित बनाउनुपर्नेमा जोड दिएकी छन् ।
आफ्नो कार्यशैली र बोल्ने शैलीलाई लिएर भइरहेको आलोचनाबारे टिप्पणी गर्दै तामाङले गलत काम देख्दा आफू आक्रोशित हुने गरेको स्वीकार गरेकी छन् ।
‘गलत भइरहेको देख्दा म एग्रेसन (आक्रोश) मा आउँछु, मेरो बोली छुच्चो सुनिन्छ होला । म धेरै ध्यान (मेडिटेसन) पनि गर्छु, तर रिस नियन्त्रण गर्न सकिरहेकी छैन,’ उनले भावुक हुँदै भनिन्, ‘आफूभित्रको यो कमजोरी सुधार्ने प्रयास म गरिरहेकी छु ।’
पशु ढुवानीमा निर्दयी व्यवहार रोक्नुपर्ने विषय उठाउँदै आएकी तामाङले आफ्नो अभिव्यक्ति र कार्यशैली सुधार्ने प्रयास गरिरहेको बताएकी छन् ।
२०८३ कार्तिक १३
ताजा नेपाल
२०८३ कार्तिक १३
ताजा नेपाल
२०८३ कार्तिक १२
ताजा नेपाल