Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पत्रकार पक्राउ प्रकरणपछि रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौं । समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनापछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ।

पार्टी सभापति रवि लामिछानेले शनिबार बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक आह्वान गरेका हुन्। समसामयिक राजनीतिक तथा अन्य विषयमा छलफल गर्ने भन्दै शुक्रबार राति नै पार्टीका नेताहरूलाई बैठकमा सहभागी हुन सन्देश पठाइएको रास्वपाका एक नेताले जानकारी दिए।

यसअघि शुक्रबार साँझ सभापति लामिछानेले कानुनमन्त्री सोबिता गौतमसहित कानुन व्यवसायी पृष्ठभूमिका पार्टी सांसदहरूसँग छलफल गरेका थिए।

शुक्रबार साँझ सादा पोसाकका प्रहरीले समाचार कक्षमै प्रवेश गरी नेपालप्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई नियन्त्रणमा लिएका थिए।

त्यस्तै, पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन प्रहरी नयाँ पत्रिकाको कार्यालयमै पुगेको थियो। मैनाली कार्यालयमा नभेटिएपछि प्रहरीले नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तसँग करिब अढाई घण्टा छलफल तथा विवाद गरेको थियो।

समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाको चौतर्फी आलोचना भएपछि सरकार र सरकारको नेतृत्व गरिरहेको रास्वपा दुवैले यसबारे आफूहरूलाई कुनै जानकारी नभएको भन्दै छुट्टाछुट्टै वक्तव्य जारी गरेका थिए।

घटनाको आलोचना बढ्दै गएपछि प्रहरीले नियन्त्रणमा लिएका सबै पत्रकारलाई पछि रिहा गरेको थियो। पत्रकार पक्राउ प्रकरणले सरकार र प्रेस स्वतन्त्रतासम्बन्धी बहस चर्किएका बेला रास्वपाले सचिवालय बैठक बोलाएको हो।