Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । समाचार कक्षमै प्रवेश गरेर सञ्चारकर्मीलाई नियन्त्रणमा लिएको घटनाको चौतर्फी आलोचना भइरहेका बेला नेपाल प्रहरीले आफ्नो कदमको बचाउ गरेको छ। प्रहरीले केही सञ्चारकर्मीलाई साइबर ब्युरोमा बोलाउनु गलत नभएको जिकिर गर्दै मध्यराति विज्ञप्ति जारी गरेको हो।
प्रहरी प्रवक्ता अविनारायण काफ्लेले शुक्रबार राति १ः४० बजे ह्वाट्सएप ग्रुपमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा समाचारको सत्यता र तथ्यबारे सामान्य जानकारी लिने उद्देश्यले सञ्चारकर्मीलाई कार्यालयमा बोलाइएको दाबी गरिएको छ।
विज्ञप्तिमा पछिल्ला दिनहरूमा नेपाल प्रहरीविरुद्ध गलत समाचार तथा सन्देश सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट निरन्तर प्रचार भइरहेको उल्लेख छ। यस्ता सामग्रीले प्रहरीको व्यावसायिकता, सर्वसाधारणको विश्वास, सरकार र प्रहरी संगठनबीचको सम्बन्ध तथा अनुसन्धानलगायतका विषयमा जनमानसमा नकारात्मक धारणा सिर्जना गर्न सक्ने भन्दै प्रधानमन्त्री कार्यालयबाट व्यक्त चासोलाई समेत विज्ञप्तिमा जोडिएको छ।
प्रहरीले यस्ता प्रचारको सत्यता, तथ्यपरकता र कानुनी आधारबारे सामान्य जानकारी लिने उद्देश्यले साइबर ब्युरोले केही सञ्चारकर्मीलाई कार्यालयमा बोलाएको कार्यलाई आफ्नो कार्यसम्पादनअन्तर्गतको सही मनसाय भनेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यसलाई मनन गर्दा सुरक्षित समाजको निर्माण गर्न सबै जनमानसमा सहयोग पुग्ने अवस्थाको सिर्जना हुन्छ।’ साथै प्रहरीले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति सदैव प्रतिबद्ध रहेको दाबी पनि गरेको छ।
शुक्रबार साँझ सादा पोसाकका प्रहरीले समाचार कक्षमै प्रवेश गरेर नेपालप्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई नियन्त्रणमा लिएका थिए।
त्यस्तै, पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन प्रहरी नयाँ पत्रिकाको कार्यालयमै पुगेको थियो। मैनाली कार्यालयमा नभेटिएपछि प्रहरीले नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तसँग करिब अढाई घण्टा विवाद गरेको थियो।
पत्रकार पक्राउको घटनाले चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सचिवालयले यसमा प्रधानमन्त्री, उहाँको सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता नरहेको स्पष्ट पारेको थियो।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत पत्रकार पक्राउबारे प्रधानमन्त्रीलाई पूर्वजानकारीसमेत नभएको बताएकी थिइन्।
उनले नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरेर कुनै पनि प्रकारको धरपकड नगर्न प्रधानमन्त्रीले सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसकेको जानकारी गराएकी थिइन्।
प्रधानमन्त्री सचिवालयको उक्त स्पष्टीकरणपछि प्रहरीले नियन्त्रणमा लिएका सबै पत्रकारलाई रिहा गरेको थियो। तर, रिहाइपछि जारी विज्ञप्तिमा प्रहरीले सञ्चारकर्मीलाई कार्यालयमा बोलाउने आफ्नो कदमलाई सही ठहर्याउँदै बचाउ गरेको छ। यसले पत्रकारमाथिको प्रहरी कारबाही र प्रेस स्वतन्त्रताको विषयमा थप बहस सिर्जना गरेको छ।
२०८३ कार्तिक १५
ताजा नेपाल
२०८३ कार्तिक १५
ताजा नेपाल
२०८३ कार्तिक १४
ताजा नेपाल