Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नै पार्टीका नेता तथा कार्यकर्ताको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै दम्भ र पदको घमण्ड त्याग्न चेतावनी दिएका छन् ।
शुक्रबार चितवनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले पार्टीले ठूलो जनमत प्राप्त गर्दैमा नेता–कार्यकर्ताले जनतालाई बेवास्ता गर्ने छुट नपाउने बताए । जनताले दिएको मतको सम्मान गर्नुपर्नेमा उल्टै जनतामाथि दम्भ देखाउने प्रवृत्ति पार्टीभित्र बढेको उनको टिप्पणी थियो ।
‘१८२ सिट छ भन्दैमा हाम्रो भुइँमा खुट्टा छैन । हामी तलदेखि माथिसम्म मातिएका छौँ । मान्छेलाई मान्छे गनेका छैनौँ,’ लामिछानेले भने ।
जनमतका आधारमा ठूलो पार्टी बनेको वा राज्यका प्रहरी तथा प्रशासनिक निकायको साथ रहेको भन्दै कसैले पनि घमण्ड गर्न नहुने उनले बताए । समाजले देखाएको कमजोरी स्वीकार गर्नुको सट्टा त्यही समाज र सञ्चारमाध्यममाथि आक्रमण गर्ने प्रवृत्ति राजनीतिक चरित्र हुन नसक्ने उनको भनाइ थियो ।
सरकारको आडमा मन्त्री र सांसद बनेका केही नेताले जमिनको वास्तविकता बिर्सिएको भन्दै उनले पार्टीभित्रैबाट आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए ।
‘हेर्दाहेर्दै माननीय भएका साथीहरूले तलका मान्छेलाई देख्दै नदेखेको जस्तो गरेर हिँडिरहनुभएको छ,’ उनले भने, ‘जनताले दिएको यो ऐतिहासिक अभिमत जनताकै हुर्मत लिनका लागि उपयोग नगर्नुहोला, जनताले सबै नियालिरहेका छन् ।’
लामिछानेको सम्बोधनलाई रास्वपाभित्र बढ्दै गएको शक्ति र पदको दम्भप्रति नेतृत्वको असन्तुष्टिका रूपमा हेरिएको छ । पार्टीका संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले समेत सभापतिको अभिव्यक्तिलाई ‘सिधाकुरा’ शैलीको संज्ञा दिँदै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।
यसअघि चितवन पुगेका लामिछानेले सरकारका पछिल्ला गतिविधिप्रति पनि असन्तुष्टि जनाएका थिए । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई अकस्मात् जिम्मेवारीबाट हटाइएको विषयमा सरकारले त्यसको औचित्य पुष्टि गर्नुपर्ने उनको भनाइ थियो ।
त्यस्तै, सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई पक्राउ गरिएको घटनाको विरोध गर्दै उनले त्यसलाई लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप बताएका थिए । स्वतन्त्र प्रेसको पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिने बताउँदै उनले सरकारको कार्यशैलीमा परिपक्वता आवश्यक रहेको धारणा राखेका थिए ।
लामिछानेले सरकारको व्यवहारमाथि प्रश्न उठाएको केही समयपछि प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’ भन्दै स्टाटस लेखेका थिए । उक्त अभिव्यक्तिलाई सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा लामिछानेको टिप्पणीसँग जोडेर समेत व्याख्या गरिएको छ ।
प्रतिनिधिसभा निर्वाचनपछि कार्यकर्ता भेटघाट, बाढी प्रभावित क्षेत्रको अनुगमन तथा स्थानीय व्यवसायीसँग अन्तरक्रियाका लागि चितवन पुगेका लामिछानेको पछिल्लो सम्बोधनले रास्वपाभित्रको संगठनात्मक अवस्था र नेतृत्वको कार्यशैलीबारे नयाँ बहस सिर्जना गरेको छ ।
२०८३ कार्तिक २२
ताजा नेपाल
२०८३ कार्तिक २२
ताजा नेपाल
२०८३ कार्तिक २२
ताजा नेपाल