Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको अवसरमा आज गाईपूजा गरिँदैछ। हिन्दू धर्मावलम्बीहरूले गाईलाई पवित्र जनावरका रूपमा सम्मान गर्दै विधिपूर्वक पूजा गरी मीठा परिकार खान दिएर यो पर्व मनाउने परम्परा छ।
गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने धार्मिक तथा सांस्कृतिक विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गर्ने चलन छ। दूध, गोबर र गहुँतबाट प्राप्त हुने धार्मिक तथा व्यावहारिक उपयोगिताका कारण पनि हिन्दू धर्ममा गाईको विशेष महत्त्व रहेको छ।
धार्मिक मान्यताअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास गरिन्छ। नेपालका केही स्थान तथा समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको प्रारम्भमा गाईपूजा गर्ने परम्परा रहेको छ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक तथा पितृकार्यमा गाईदान गर्ने परम्परासमेत पालना गर्दै आएका छन्। पछिल्लो समय गाईको अभावमा सङ्कल्प गरेर रकम राख्ने चलन बढ्दै गएको धर्मशास्त्रका जानकार प्रा. डा. रामचन्द्र गौतम बताउँछन्।
धार्मिक विश्वासअनुसार आज गाईको पूजा गरी साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपछि गाईले वैतरणी नदी पार गराएर स्वर्ग पुर्याउने मान्यता छ।
यसरी गाईपूजा तिहारको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्त्व बोकेको पर्वका रूपमा मनाइँदै आएको छ।
२०८३ कार्तिक २४
ताजा नेपाल
२०८३ कार्तिक २४
ताजा नेपाल
२०८३ कार्तिक २४
ताजा नेपाल